काठमाडौं । झण्डै ६ महिनाअघि अभिनेता विजय बराललाई चलचित्रको प्रस्ताव बोकेको फोन आयो । एउटा कलाकारलाई अभिनय प्रस्तावको फोन आउनु सामान्य कुरा त हो तर, त्यो दिन आएको फोन अलि फरक थियो ।
चलचित्रका सहायक भूमिकाहरूमा भ्याईनभ्याई गरी व्यस्त विजयका लागि त्यो फोनमा आएको प्रस्ताव फरक थियो । उनलाई कुनै सहायक भूमिका लागि नभई शीर्षक भूमिकाको प्रस्ताव गरिएको थियो । चलचित्रको नाम थियो- पूर्ण बहादुरको सारङ्गी ।
सो प्रस्तावले विजय सुरुमा त अन्योलमा परे । केही दोधारको अवस्था भयो उनलाई । झण्डै दुई सातासम्म उनले प्रस्तावमा कुनै ठोस निर्णय गर्न सकेनन् । आफैँलाई विश्लेषण गरे, आफूभित्रको अभिनेतालाई प्रश्न गरे ।
‘चलचित्रको प्रस्ताव आएको दिन म ठ्याक्कै अन्योलमा परेँ । किनकि साइड रोलकै लागि मात्र रोजाइमा पर्ने मलाई यस्तो प्रस्ताव विरलै हुने गर्छ । दुई सातासम्म कुनै निर्णय गरिनँ’, उनले सम्झना गर्दै भने, ‘यो प्रस्तावले एक किसिमको ऊर्जा पनि दियो । एउटा समय पनि भयो, अनुभव पनि भयो । अब अनुभवले पनि यस्ता भूमिका गर्नसक्छु भन्ने आँट जुटाएँ । त्यो बेलाको अवस्था एकदम शून्य थियो के गर्ने भनेर । खुसीसहितको शून्यता ।’
यसो भनिरहँदा उनी आफ्नो कलाकार बन्ने सपना बुनिएका स्कुले जीवन र सोही सपना पछ्याउँदै काठमाडौं आएको समय स्मृतिमा पुगे । विजयका अनुसार काठमाडौं छिर्दा उनीसँग अभिनयबारे केही भ्रम-मिश्रित सपना थिए । काठमाडौं आउँदा उनलाई लाग्थ्यो- उनी त्यो बेलाका चर्चित हास्य कलाकारभन्दा उम्दा बनेर निस्किनेछन्, कडा बन्नेछन् ।
सर्लाहीको लालबन्दीका विजय आफ्नो स्कुले जीवनमा त्यो बेलाका चर्चित नेताका आवाज नक्कल गर्थे । कक्षा ८ मा उनले पहिलोपटक आफ्नो क्षमता सार्वजनिक गरेका थिए ।
त्यतिबेला उनले आवाजहरूको नक्कलसँगै आफ्नै गाउँठाउँका चर्चित हास्य कलाकार नारद खतिवडाको हास्यरस मिश्रित ‘ढोका खोल न पोस्टेकी आमा ढोका खोल न हो’ बोलको गीतमा हास्यप्रधान नृत्य गरे ।
चर्चित नेताको आवाजको नक्कल र साथमा हास्यप्रधान नृत्य हेरेपछि शिक्षक र साथीभाइले उनको धेरै प्रशंसा गरे ।
‘मेरो नाच र आवाजको नक्कल देखेर साथीहरूले ओहो! राम्रो गरिस् भनेर हौस्याए । त्यही चिजलाई मैले अभिनय ठानेँ किनकि गाउँतिर यसैलाई अभिनय मानिन्थ्यो । साथीहरूको तारिफले मलाई अभिनयतर्फ थप आकर्षित बनाइदियो । मलाई ती तारिफले मैले गर्न सक्नेरहेछु भन्ने आत्मविश्वास बढायो’, उनले पुराना दिन ताजा गर्दै सुनाए ।
जब उनी रङ्गमञ्चतर्फ मोडिए तब उनले आफ्नो पहिलोको सोचलाई निक्कै कमजोर भएको पाए । उनलाई अभिनय एउटा पोखरी होइन, महासागर रहेछ भन्ने लाग्यो ।
‘जब क्यारीकेचर गर्न छोडेर रङ्गमञ्चमा गएँ, अभिनयको चिन्तन र प्रक्रिया नै फरक देखेँ । त्यसपछि मैले राम्रो कलाकार बन्ने सोचेँ’, केही गम्भीर हुँदै उनले भने ।
उनी आफ्नो चेत खुलेको कुरालाई यसरी व्याख्या गर्छन्- ‘पहिले म हरेक चिजलाई सामान्य सोच्थेँ, मैले जत्तिको कसले गर्न सक्छ र ठान्थेँ । तर जब अभिनयको आयतनमा छिरेंँ तब अभिनय अर्कै चिन्तनको विषय रहेछ, आध्यात्मिक रहेछ भन्ने थाहा पाएँ । सोच र गहिराइमा पुगेर गर्दा फरक चिज निस्कने विषय भएको बुझेंँ ।’
भारतमा ४५ दिनको अभिनय कार्यशाला पुगेपछि आफ्नो कला चेत खुलेको उनी बताउँछन् । त्यो कार्यशाला उनका लागि जीवनको कोसेढुङ्गा हुन पुग्यो । त्यहाँ भारतको राम्रा नाटक निर्देशकमा पर्ने एमके रैनाबाट उनी प्रशिक्षित भए ।
‘ओहो म त अभिनयलाई सामान्य हिसाबले लिइराखेको थिएँ । यहाँ त हरेक दिन यो कुरा नि पढाइरहेको छ, सबै दृष्टिकोणबाट अभिनयलाई देखाइरहिएको छ, पढाइरहिएको छ । समाजको दृष्टिकोणबाट पनि हेरिरहिएको छ । सबै प्रकारबाट दृष्टिगोचर गर्दा त अर्कै चिज रहेछ अभिनय । त्यहाँबाट बल्ल मेरो चेत खुल्यो’, उनले भने ।
बीचमा उनको कलाकार हुने सपना हल्लिएजस्तो पनि भयो । उनको बुबा बैंकका जागिरे । कुनै दिन बैंकमा जागिर खानुपर्छ भनेर विजयले व्यवस्थापन पढिरहेका थिए । यद्यपि बुबाले भने उनलाई यही बन्नुपर्छ भनेनन् ।
बुबाले केही नभनेको भए पनि हजुरबुबाले भने सहज जीवनयापनका लागि घरको जेठो नातिले बाबुले झैँ बैंकको जागिर खानुपर्छ भनेर हौस्याइरहन्थे । हजुरबुबा विजयलाई भन्थे, ‘जागिर गर है जागिर गर, पछि गाहे हुन्छ । बाले यसरी पालेका छन् । तैले पनि पाल्नुपर्छ, जे भए पनि घरको जेठो नाति होस् ।’
उनले व्यवस्थापन सङ्कायको पढाइलाई निरन्तरता दिँदै आफ्नो अभिनयलाई रङ्गमञ्चमा सक्रिय भएर निरन्तरता दिइराखे । यो समयमा कैयौँ नाटक गरिसक्दा पनि विजयका बाबुले छोरा कलाकार बनेको थाहा पाएका थिएनन् । उनले पहिलो चलचित्रका रूपमा ‘छड्के’ गरे पनि बुबाले थाहा पाएनन् तर ‘कबड्डी’ चलचित्र गरेपछि भने थाहा पाए । उनी छोराको कामबाट खुसी भए ।
अभिनयमा लागेपछि विजयले घरबाट आफ्नो खर्च मगाउनु परेको छैन ।
‘बुबालाई लामो समयसँग म कलाकारितामा लागेको छु भन्ने थाहै थिएन । नाटक गरिरहँदा खास उहाँले थाहा पाउनुभएन । पहिलो चलचित्र छड्के मा अभिनय गर्दा पनि उहाँलाई म कलाकार बनेको पत्तो भएन । उहाँले कबड्डी गरेपछि मात्र म कलाकार बनेको थाहा पाउनुभयो’, बरालले भने ।
‘कबड्डी’पछि उनी त्यसका तीन श्रृङ्खलासहित दर्जनौँ चलचित्रमा अभिनेता बनिसकेका छन् भने आजका मितिमा उनी नेपाली सिने जगत्को चिरपरिचित अनुहार बनिसकेका छन् । उनले अधिकांश सहायक भूमिका नै गरे ।
सबैभन्दा बढी चर्चा उनले ‘कबड्डी’ चलचित्रको श्रृङ्खलाबाट बटुलेका छन् । उनी सो चलचित्रको ‘बिके’ पात्रबाट नेपाली दर्शकमाझ परिचित छन् । ‘कबड्डी’ शृङ्खलाको जबरजस्त सफलताका कारण हास्यप्रधान भूमिकामा व्यस्त विजयलाई ‘पूर्ण बहादुरको सारंगी’ चलचित्रले गम्भीर भूमिकामा पनि उत्तिकै दक्ष अभिनेताको परिचय पाउने अवसर दिएको बताउँछन् ।
यो चलचित्रमा उनी एकल बाबुको भूमिकामा छन् । उनी पुनः ‘पूर्ण बहादुरको सारङ्गी’कै प्रसङ्गमा फर्किए । सहायक भूमिका उनलाई सजिलो लाग्छ । तर यो चलचित्रको भूमिका फरक र गम्भीर छ । शीर्ष भूमिका नै भएकाले चलचित्रको सम्पूर्ण भार उनमै छ । यसका लागि धेरै मिहेनत परेको उनी सुनाउँछन् ।
चलचित्रको ‘पूर्ण बहादुर गन्धर्व’ पात्र बन्न झण्डै १० दिन तयारीगरे । यो १० दिनमा उनले गन्धर्वका हाउभाउ, अनुहारको भाव र बोल्ने शैली अध्ययन गरे । उनले सारङ्गी बजाउन, हातको हर्कत र सारङ्गी बजाउने शैली पनि सिके । पर्दामा ‘पूर्ण बहादुर गन्धर्व’ नै हो भन्नाका लागि आफूले यस्तो गरेको उनको भनाइ छ ।
‘हामीजस्ता दोस्रो रोजाइका कलाकारकाका लागि यो आयतनको भूमिका विरलै प्राप्त हुन्छ । यसलाई म जतिसक्दो उत्कृष्ट बनाउन चाहन्थेँ । त्यसैले मैले यसका लागि पर्दामा जत्तिसक्दो आफूलाई गन्धर्वका रूपमा स्वीकार्य गराउने गरी मिहेनत गरेको छु । पोस्टर, ट्रेलरबाट मैले राम्रो प्रतिक्रिया पाएको छु’, उनले भने ।
आज उनी स्वयं कसैका छोरा त हुन् नै, सँगसँगै आफू पनि एक सन्तानको बाबु बनिसकेका छन् । यो अनुभव पनि उनले पर्दामा प्रयोग गरे । अनुभव पनि अभिनयका लागि एकदमै महत्त्वपूर्ण हुने उनी बताउँछन् । ‘यसले पात्रको मनोदशा, अवस्था बुझ्न धेरै सजिलो पर्छ’, उनले भने ।
उनी आफू बाबु हुनु वा छोरा हुनुको वर्तमान अनुभवलाई यसरी व्यक्त गर्छन्- ‘अहिले म बुबाको भाव बुझ्छु । एक समय मेरो बुबा मेरा लागि हिरो हुनुहुन्थ्यो । अहिले पनि हिरो नै हो । कहिले कहिले कुनै परिस्थितिमा केही भन्दा तनाव दिनुभयो कि जस्तो नि लाग्थ्यो । अहिले मेरो छोरो भयो । उसले मेरो छात्तीमा ढुक्ढुकाउँदै बाबा बाबा भन्छ र आफ्नी आमालाई देखाउँछ । उसका लागि म आज हिरोजस्तै भएको छु । म पुग्नेबित्तिकै मेरो बाबा आयो भनेर पुलकित हुने गर्छ । मेरो बुबाको सवालमा पनि त्यही नै थियो’, उनले भने ।
आज बुबाको सबै भावना उनलाई महसुस हुन्छ । उनी भन्छन्, ‘बाबु बाबु नै हुनेरहेछन्, जसले आफ्ना भावनाहरू व्यक्त गर्दैन तर उसको भित्र केही न केही हुन्छ हुन्छ । छोराको लागि बाबुले सपना देखेको हुन्छन् र छोराले पनि बाबुका लागि सपना देख्नुपर्छ ।’
उनी बुबा घुमघाममा रूचि राख्छन् । त्यसैले विजय धेरै कुरा पूरा गर्न नसके पनि घुम्ने कुरालाई आफैँ बुझ्दै पूरा गर्ने प्रयास गर्न लागिरहेका छन् । बुबालाई आजकल गहिरिएर बुझ्न थालेदेखि विजयले बाबुहरूले सन्तानसँग आफ्ना व्यक्तिगत रहरहरू मुख खोलेर भनिनहाल्ने गरेको थाहा पाएका छन् ।
‘मैले केही समय उहाँका रहरहरू सोध्दा उहाँले यस्तो जवाफ दिनुभयो, तँलाई हामीले बच्चामा सोध्यौँ र’, विजयले आफ्ना बाबुले भनेको कुरा सम्झिए ।
‘उहाँको जवाफले बाबुहरू चाहिँ आफ्नो सन्तानले नसोधी केही दिओस् भन्ने चाहाना राख्नुहुँदो रहेछ, भलै उहाँहरू त्यसका लागि आफैँ सक्षम हुनुहोस् । बाबुहरूले कहिले पनि म दुःखी छु भन्नु हुँदैन तर अपेक्षाचाहिँ भइराख्ने रहेछ’, विजयले भने, ‘यो कुरा हामीले बुझ्ने हो भने बडा गज्जब हुने रहेछ । नबुझ्दा दुःख मान्नुहुँदो रहेछ । तर दुःख लागेको कुरा पनि व्यक्त नगर्ने बानी हुँदोरहेछ । अबचाहिँ बुबाका इच्छालाई सोचेर सम्झेर पूरा गर्ने बाटोमा लागेको छु । बाबुको भावनाहरू कस्तो हुन्छ मैले बुझ्न थालिसकेको छु ।’
आफ्नो चलचित्रले छोराहरूमा यही भावना जागृत गराउन उनको विश्वास छ । ‘बाबुहरू आफ्नो पूरानो सम्झनामा पुग्नुहुनेछ भने छोराहरूले भने एकचोटि बाबुसँग कुरा गर्नुपर्छ भनेर सोच्नुहुनेछ । बाबु बितिसकेकाहरूका लागि यो चलचित्र हेरेपछि दुःख पनि लाग्नेछ’, उनले भने, ‘बाबुहरूलाई पाँच मिनेट भने पनि समय दिनुपर्नेछ भन्ने लाग्नेछ । बाबुसँग सम्बन्ध खुलेर जान्छ । हामीले थाहा पाएर पनि रोकेको भावनालाई प्रस्फुटन गराउनेछ ।’
चलचित्रलाई सरोज पौडेलले निर्देशन गरेका हुन् भने चलचित्र कात्तिक १५ गते लक्ष्मीपूजाका दिनदेखि हलमा प्रदर्शन भइरहेको छ । यो चलचित्रप्रति विजय एउटा कलाकारका रूपमा निक्कै आशावादी छन् । ‘पूर्ण बहादुरको सारङ्गी’बाट गम्भीर अभिनेताको नयाँ परिचय स्थापित हुने उनको आशा छ । रासस
Facebook Comment
Comment