जनकपुरधाम । महोत्तरीको बर्दिबास नगरपालिकास्थित एक पसलमा शुक्रबार राति आगलागी हुँदा लाखौँको मूल्य बराबरको क्षति भएको छ ।
बर्दिबास नगरपालिका–५ स्थित सुदूर–उत्तरी भेगमा पर्ने ढुङग्रे गढन्ताको एक पसलमा लक्ष्मीपूजाको राति आगलागी हुँदा लाखौँको मूल्य बराबरको मालसामान जलेर नष्ट भएको हो ।
इलाका प्रहरी कार्यालय बर्दिवासका अनुसार नीरबहादुर भनिने स्थानीय डम्बरबहादुर थापा मगरको एकतले घरमा सोही ठाउँका मोहन यादवले सञ्चालन गर्दैआएको पसलमा आगो लाग्दा १५ लाख रुपैयाँ बराबरको क्षति भएको छ ।
आगोले ७ लाख मूल्य बराबरको घरमा क्षति पुगेको छ । यस्तै सो घरको पसलमा रहेका किराना, कस्मेटिक, खाद्यान्न, जुत्ताचप्पल लगायत गरी करिब ८ लाख मूल्यका सामान जलेको इलाका प्रहरी बर्दीबासका प्रहरी नायव उपरीक्षक रेवतीरमण पोखरेलले बताए ।
आगलागीबाट सबै सामान जलेर नष्ट भएका छन् । खाने–बस्ने र लत्ताकपडा सबै जलेर नष्ट भएपछि परिवार बिच्चलीमा परेका छन् । पीडित पसले यादवकी श्रीमती रवितादेवीका अनुसार आगोले पसलमा रहेको फ्रिज, रेडिमेड र थानका कपडा, कस्मेटिक, खाद्यान्न लगायतका सामान जलेको छ ।
थापाको घरमा यादवले २ वर्षदेखि पसल गर्दै आएका थिए । पसलमा विद्युतको तार सर्ट भई आगो लागेको बताइएको छ । आगो लाग्न साँझ ७ बजेतिर सुरु भएको थियो ।
बर्दिबासबाट पुगेको वारुण यन्त्र, प्रहरी र गाउँलेको सहयोगबाट साँझ साढे ८ बजेतिर मात्र आगो नियन्त्रणमा आएको बर्दिबास प्रहरीले जनाएको छ । घटनास्थल बर्दिबासदेखि करिब १० किमी पश्चिम–उत्तरमा पर्छ ।
त्यसैगरी सर्लाहीको धनगढामा लक्ष्मीपूजाका लागि बालेको मैनबत्तीबाट आगलागी हुँदा २ लाखभन्दा बढी मूल्यको धनमाल जलेर नष्ट भएको छ ।
प्रहरीका अनुसार जिल्लाको दक्षिण–पश्चिमी क्षेत्रमा पर्ने धनकौल गाउँपालिका–४ धनगढामा स्थानीय जितु रायको काठले बनेको घरको पूजाकोठामा मैनबत्तीबाट आगो सल्किँदा २ लाख ५० हजार रुपैयाँ बराबरको क्षति भएको हो ।
आगलागीबाट कोठाभित्र रहेको काठको दराज, टीभी, लत्ताकपडा, सुनचाँदी लगायत सरसामान गरी २ लाख ५० हजार बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय मलंगवाले जनाएको छ ।
स्थानीयको सहयोगमा चाँडै आगो निभाइएकाले मानवीय क्षति भने हुन नपाएको सर्लाहीका प्रहरी प्रवक्ता डीएसपी दीपक श्रेष्ठले लबताए ।
Facebook Comment
Comment