काठमाडौं । नेपाली पर्यटन क्षेत्रका पायोनियर वसन्तराज मिश्र अब सम्झनामामात्रै सीमित छन् । मिश्रको यही कात्तिक ४ गते उपचारका क्रममा ७२ वर्षको उमेरमा निधन भएको थियो । उनको उ तेहौँ पून्यतिथी आज सम्पन्न भएको छ ।
टेम्पल टाइगर ग्रुप अफ कम्पनीका अध्यक्ष मिश्र सन् १९७० को दशकदेखि नै यो क्षेत्रमा सक्रिय थिए । नेपालको पर्यटनलाई अन्तर्राष्ट्रियस्तरमा पुर्याउन उनले महत्त्वपूर्ण भूमिका खेलेका छन् । विशेषगरी मिश्रले वाइल्ड लाइफ टुरिजम प्रवर्द्धन र गुणस्तरीय पर्यटक नेपालमा भित्र्याउन उल्लेखनीय योगदान गरेका थिए । पर्यटन क्षेत्रका सिद्धहस्त व्यक्तिको निधनबाट मुलुकको पर्यटन क्षेत्रमा अभाव खड्किएको यस क्षेत्रका विज्ञहरूले औँल्याएका छन् ।
पूर्व पर्यटन सचिव दीपेन्द्रपुरुष ढकालले नेपालमा गुणस्तरीय पर्यटक भित्र्याउन र नेपाल गन्तव्यबारे अन्तर्राष्ट्रिय जगतमा प्रवर्द्धन गर्न मिश्रको योगदान अतुलनीय रहेको बताए । “मिश्रको निधनबाट पर्यटन क्षेत्रमा अभाव महसुस भएको छ”, उनले भने, “अन्तर्राष्ट्रिय पर्यटन मेलामार्फत नेपाललाई विश्वभर पहिचान गराउन पनि उहाँको उत्तिकै योगदान छ । आत्मीय, समाजसेवी र भिजनरी व्यक्तित्व मिश्रले देखाएको बाटोमा अगाडि बढ्नसके मात्रै उहाँप्रति सच्चा श्रद्धाञ्जलि हुनेछ ।”
मुलुकको पर्यटन विकासका खातिर टेम्पल टाइगर ग्रुप अफ कम्पनीका अध्यक्ष मिश्रले झण्डै पाँच दशक लामो समय योगदान गरेका थिए । नेपाल पर्यटन बोर्डका संस्थापकमध्येका एक मिश्रले नेपालमा पर्यटन प्रवर्द्धनका लागि विभिन्न अन्तर्राष्ट्रिय तथा राष्ट्रिय कार्यक्रमहरूको नेतृत्व गरेका छन् । ‘नेपाल पर्यटन वर्ष’ लगायत प्रमुख कार्यक्रमको सफल नेतृत्व गर्नुभएका उहाँले हिमाली क्षेत्र, साहसिक पर्यटन, र सांस्कृतिक पर्यटनजस्ता विभिन्न प्रकारका पर्यटन गतिविधिहरूलाई प्रवर्द्धन गर्दै नेपाललाई पर्यटकहरूको आकर्षणको केन्द्रका रुपमा स्थापित गरेका छन् ।
मिश्रसँग बाल्यकालदेखि संगत गरेका सहपाटी एवं पाटा नेपालका पूर्व अध्यक्ष आर आर पाण्डेले दिगो पर्यटन विकास र वातावरण संरक्षणमा मिश्रले महत्वपूर्ण भूमिका खेलेको उल्लेख गरे । उनले भने, “पर्यटनमा केही गरौँ, हामीले नगरे कस्ले गर्ने भन्ने एकप्रकारको हुटहुटी थियो । मिश्रको मुख्य प्यासन वाइल्ड लाइफ टुरिजम थियो । त्यसपछि नेपालको समग्र पर्यटनको प्रवर्द्धन र बजारीकरणमा अतुलनीय योगदान रहेको छ ।”
हिप्पीपछि नेपालमा कमजोर बनिरहेको पर्यटनलाई उकास्न ‘क्वालिटी टुरिजमको प्रोजेक्ट’ बनाएर मिश्रले बजारीकरण गरेका थिए । पर्यटन व्यवसायी योगेन्द्र शाक्यले नेपाली पर्यटन क्षेत्रका पायोनियर मिश्रको निधनले पर्यटन क्षेत्रमा गहिरो क्षति पुगेको बताए । उनले भने, “मिश्र बाल्यकालदेखिनै फुर्तिलो र जोसिलो हुनुहुन्थ्यो, पर्यटनमा केही गर्नुपर्छ भनेर सधै घचघच्याइरहने व्यक्तिको निधनले पर्यटनमा एक प्रकासरको अभाव खड्किएको छ ।”
नेपाल पर्यटन बोर्डका निर्देशक मणिराज लामिछानेले बोर्डका संस्थापकमध्येका एक अग्रज अभिभावक गुमाउँदा पर्यटन क्षेत्रले अपुरणीय क्षति बेहोरेको बताए । सन् १९७० को दशकदेखि पर्यटन व्यवसायमा आवद्ध मिश्रले नेपाललाई विश्वको पर्यटकीय गन्तव्यको रुपमा स्थापित गर्न महत्त्वपूर्ण भूमिका खेलेको उल्लेख गरे ।
वसन्त मिश्र नेपालमा दिगो पर्यटनको पक्षपाती मानिन्छन् । उनले पर्यावरण संरक्षण र स्थानीय समुदायको उत्थानमा पर्यटनको माध्यमबाट जोड दिएका छन् । “अन्तर्राष्ट्रिय पर्यटन बजारमा नेपाली व्यवसायीको प्रतिनिधित्व समेत गर्दै आउनुभएका मिश्र नेपालमा खर्चालु तथा गुणस्तरीय पर्यटक भित्र्याउने कम व्यवसायीमध्ये पर्नुहुन्थ्यो । उहाँ नेपालमा दिगो पर्यटनको पक्षमती मानिनुहुन्छ”, निर्देशक लामिछानेले भने ।
मिश्र प्यासिफिक एसिया ट्राभल एशोसिएसन (पाटा) नेपाल च्याप्टरका पूर्वअध्यक्ष, पाटा अन्तर्राष्ट्रियका पूर्व सचिव र नेपाल एशोसिएसन अफ नेपाल टुर्स एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) का पूर्व अध्यक्ष समेत हुन् । मिश्रले नेपालको पर्यटन उद्योगको विकासका लागि विभिन्न पद र प्लेटफर्महरूमा उनको अटल समर्पण र जीवनभर संलग्नता अमूल्य र प्रसंशनीय छ । मिश्रको दिवंगत आत्माको चिरशान्तिको कामना गर्दै परिवारजनमा समवेदना प्रकट गर्न चाहन्छौँ । रासस
Facebook Comment
Comment