पटाका पड्काउन प्रतिबन्ध लगाइए पनि सुधार हुन सकेन नयाँ दिल्लीमा वायुको गुणस्तर

नेपालभ्युज

पटाका पड्काउन प्रतिबन्ध लगाइए पनि सुधार हुन सकेन नयाँ दिल्लीमा वायुको गुणस्तर

नयाँ दिल्ली– भारतको राजधानी नयाँ दिल्लीमा हिन्दूधर्मावलम्बीको महान् चाड दीपावलीका अवसरमा आतिशबाजीमा लगाइएको प्रतिबन्धको बाबजुद प्रदुषण नियन्त्रणभन्दा बाहिर रहेको अधिकारीहरूले बताएका छन् ।

भारतको सर्वोच्च अदालतले गत महिना स्वच्छ हावा एक मौलिक मानवअधिकार भएको फैसला गर्दै केन्द्र सरकार र राज्य स्तरका अधिकारीहरूलाई पटाका बनाउने र किनबेच गर्ने जोकोहीलाई कारबाही गर्न आदेश दिएको थियो।

तर भारतीय राजधानी नयाँ दिल्लीका बासिन्दाले आफ्नो पर्वलाई मनाउने क्रममा अदालतद्वारा जारी उक्त आदेशलाई व्यापक उल्लङ्घन गरिएपछि वायु प्रदूषण नियन्त्रणका लागि भनी लिइएको उक्त कदम प्रभावहीन बनेको हो । पटाकाबाहेक दिल्ली वरपरका खेतबारीमा हिउँदे खेती लगाउनुअघि सफा गर्न पराली जलाउनु, छापो पोल्नु र जाडोमा बिहान बेलुका बालिने आगोबाट निस्किने धुवाँका कारण पनि दिल्लीको वायु प्रदुषण बढ्ने गरेको छ ।

तीन करोडभन्दा बढी मानिसको बसोबास रहेको दिल्लीमा मानवीय गतिविधि र नयाँ दिल्लीका सडकहरूमा अत्यधिक ट्राफिकको समस्या पनि दिल्लीको प्रदूषणका लागि जिम्मेवार मानिन्छ ।

तर, गत महिना शहरका अधिकारीहरूले पटाकाको बिक्री र प्रयोगमा प्रतिबन्ध लगाए पनि दिपावली उत्सवको एक भागको रूपमा पटाकाको गडगडाहटपछि शुक्रबार वायु प्रदुषणको अवस्था थप बढेको थियो।

दिल्लीको नगर प्रहरीले दीपावलीअघि करिब दुई टन पटाका जफत गरेको थियो, तर छिमेकी राज्यहरूमा पटाका बिक्रीका लागि सहजै उपलब्ध थिए।

हिन्दू देवी लक्ष्मीको स्तुतिमा र अन्धकारमाथि प्रकाशको विजयको प्रतीकको रूपमा धेरै बासिन्दाले घरमा पारिवारिक भोजन र सानो मैनबत्ती बालेर पनि उत्सव मनाउने गर्छन्।

शुक्रबारदेखि नै दिल्लीबासीले आतिशबाजीको रकेट र पटाका पड्काएपछि त्यहाँको वातावरण उत्सवमय बनेको थियो । तर यसबाट निस्केको धुवाँ र आवाजको प्रदुषणले प्रत्यक्ष वाम परोक्षरूपमा दिल्लीको वातावरण प्रदुषित बन्न पुग्यो ।

हिन्दू धर्मावलम्बीको पटाकासँग जोडिएको धार्मिक भावनालाई ध्यानमा राख्दै प्रहरीले नियम उल्लङ्घन गर्नेलाई कारबाही गर्न आनाकानी गर्ने गरेको छ ।

आलोचकहरूले छिमेकी राज्यहरूको नेतृत्व गरिरहेका प्रतिद्वन्द्वी राजनीतिज्ञहरूका साथै केन्द्र र राज्यस्तरका अधिकारीहरूबीचको विवादले समस्यालाई जटिल बनाएको बताएका छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved