काठमाडौं । एघारौं पार्टी महाधिवेशन आउन २ वर्ष बाँकी हुँदै नेकपा (एमाले)भित्रको आन्तरिक शक्ति संरचना परिवर्तन गर्ने उद्देश्यले नयाँ गुट बनाउने गृहकार्य सुरु भएको एक विश्वस्त स्रोतले जनाएको छ । यद्यपि, यो प्रयास अहिले ‘प्रारम्भिक र गोप्य’ चरणमा छ ।
विधानअनुसार एमालेको आगामी महाधिवेशन २०८३ मंसिरमा हुनुपर्ने छ । तर, अहिलेदेखि नै तयारी नगरे छोटो समयमा महाधिवेशनको परिणाम ननिस्किने भन्दै यस्तो गृहकार्य प्रारम्भ गरिएको हो । २ वर्षको अवधिलाई योजनाबद्ध उपयोग गर्ने र पार्टी महाधिवेशनबाट अध्यक्ष केपी शर्मा ओलीको नेतृत्व परिवर्तन गर्न हरसम्भव सबै उपाय अवलम्बन गर्ने बताइएको छ ।
स्रोतका अनुसार नयाँ गुटको गृहकार्यमा लागेको समूहले आगामी महाधिवेशनमा अध्यक्ष पदको उम्मेदवार पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई नै बनाउनुपर्ने, अन्य विकल्प अघि सारेर केपी शर्मा ओलीसँग प्रतिस्पर्धा गर्न र विजय हासिल गर्न नसकिने निष्कर्षसमेत निकालेको छ ।
केही महिनाअघि पूर्वराष्ट्रपति भण्डारीले पार्टी सदस्यता नवीकरण गराएको र ‘आफू पार्टी अध्यक्ष हुने सम्भावना समाप्त नभएको’ अन्तर्वार्ता दिए पनि धेरैले महत्त्व दिएका थिएनन् । त्यसलाई भण्डारीले सक्रिय राजनीतिमा फर्किने र पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली गुटकै सहयोगीका रूपमा अघि बढ्ने सामान्य अभ्यास होला भन्ने ठानिएको थियो ।
तर, स्थिति त्यसभन्दा निकै अघि बढेको बताइन्छ । पूर्वराष्ट्रपति भण्डारीले आफ्ना निकटस्थहरूलाई आन्तरिक तयारी सुरु गर्नसमेत भनेको समाचार छ । स्रोत भन्छ, “ओलीजीको सामान्य कार्यकर्ता भएर बस्न मात्र त पूर्वराष्ट्रपति किन सक्रिय पार्टी राजनीतिमा फर्किनुपर्यो ?”
भण्डारी निकट अर्को एक स्रोतले भन्यो, “परिस्थितिको विश्लेषण लगभग सकियो । भण्डारीबाहेक अरु कसैले ओलीलाई हराउन सक्ने सम्भावना देखिएन । यदि उहाँले आँट नगर्ने हो भने ओलीले नै तेस्रो पटक एमालेको नेतृत्व लिने लगभग निश्चित छ । तसर्थ, स्थितिअनुकूल हुन सके भण्डारी आगामी महाधिवेशनमा अध्यक्षको उम्मेदवार हुन तयार हुनुहुन्छ । नेतृत्व परिवर्तन गर्न चाहने सबै पक्षले सहयोग गर्ने हो भने जित्ने सम्भावना पनि छ ।”
ओली तेस्रोपटक अध्यक्षको दाबेदार हुने पक्का
नयाँ गुटको गृहकार्य सुरु गरेको समूहले पार्टी विधान संशोधन गरी केपी शर्मा ओली अध्यक्ष पदका लागि तेस्रोपटक उम्मेदवार हुने निश्चित भएको निष्कर्ष निकालेको छ ।
एमालेको विधानमा दुई कार्यकाल मात्र अध्यक्ष हुन पाउने प्रावधान छ । तर, यो प्रावधान ओलीले पालना गर्ने सम्भावना क्षीण हुँदै गएको छ । एमाले विधानमा ७० वर्षको उमेर हदपछि सक्रिय साङ्गठनिक जिम्मेवारीबाट निवृत्त हुनुपर्ने प्रावधानसमेत थियो । तर, ओलीले आफ्नो अनुकूलतामा यो प्रावधान संशोधन गरेका थिए । ओली अहिले ७२ वर्षका छन् ।
एमालेको नवौं महाधिवेशन २०७१ साउनमा काठमाडौंमा भएको थियो । यसबाट ओली पहिलोपटक पार्टी अध्यक्ष निर्वाचित भएका थिए । एघारौं महाधिवेशनको सङ्घारमा पुग्दा ओली ७४ वर्षका हुनेछन् भने उनको दुईपटकको कार्यकाल १२ वर्ष भइसकेको हुनेछ । उमेर हदजस्तै दुई कार्यकाल अध्यक्षको प्रावधान पनि संशोधन हुन सक्नेछ ।
ओलीको उत्तराधिकारका लागि तीन दाबेदार
एकाथरिले पार्टी विधानको दुई कार्यकाल प्रावधान खारेज गर्न नहुने र ओलीलाई एघारौं महाधिवेशनमा अध्यक्ष पदमा उम्मेदवारी नदिन बाध्य पार्नुपर्ने राय दिएका छन् । तर, उत्तराधिकार दाबी गरिरहेका बीच स्वार्थ नमिल्ने सम्भावना बढेपछि ओली आफैँ तेस्रोपटक अध्यक्षको प्रत्याशी हुने निष्कर्षमा पुगिसकेको बताइन्छ ।
वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल ओलीपछि अध्यक्षका पहिलो दाबेदार हुन् । उनी अहिले ७० वर्षको उमेरमा छन् । २०३० को दशकबाट भूमिगतकालमै राजनीतिमा लागेका उनी लामो समय माधवकुमार नेपालका नजिकका सहयोगी थिए । तर, नवौं महाधिवेशनपछि गुट परिवर्तन गरी ओली खेमामा लागेका थिए ।
अर्का दाबेदार उपाध्यक्ष तथा अर्थमन्त्री विष्णु पौडेल हुन् । उमेरले उनी भर्खर ६५ वर्षमा छन् । उनी पनि भूमिगतकालदेखि नै राजनीतिमा छन् । पञ्चायतकालको उत्तरार्धमा ओली लुम्बिनी अञ्चलको इन्चार्ज हुँदादेखि पौडेल ओलीको नजिक रहेको ठानिन्छ ।
तेस्रो दाबेदार महासचिव शंकर पोखरेल भने ६० वर्षका छन् । पञ्चायतकालको उत्तरार्धतिर उनी अखिल भारतीय नेपाली स्वतन्त्र विद्यार्थी युनियनका अध्यक्ष थिए । उनी बनारसमा पढ्थे । देशभित्र अखिल नेतृत्वमा समस्या भएपछि मदन भण्डारीले नेपाल ल्याएर उनलाई अखिलको अध्यक्ष बनाएका थिए ।
यी तीन बीचको बेमेल र द्वन्द्वले ओलीलाई तेस्रोपटक अध्यक्षको दाबेदार हुन सहज भएको हो । ईश्वर पोख्रेल वा विष्णु पौडेलमा नेतृत्व जानुभन्दा बरु एकपटक फेरि ओली नै तेहेरिऊन्, त्यतिन्जेल ईश्वर र विष्णु असान्दर्भिक हुने र बाह्रौं महाधिवेशनमा आफ्नो सहज पालो आउने सोच महासचिव शंकर पोखरेलमा देखिन्छ ।
विद्याका तीन सबलता
पूर्वराष्ट्रपति भण्डारीलाई आगामी महाधिवेशनमा अध्यक्ष पदको उम्मेदवार हुन र जित्न तीनवटा सबलता भएको र त्यस्तो अनुकूलता अरु कोहीसँग नभएको समेत आन्तरिक समूहमा विश्लेषण भएको छ ।
ती हुन्, एक— विद्या विवादास्पद दासढुङ्गा दूर्घटनामा मारिएका एमालेका लोकप्रिय महासचिव मदन भण्डारीकी पत्नी हुन् । भण्डारीलाई एमालेको मार्गदर्शक सिद्धान्त जनताको बहुदलीय जनवादका प्रणेता पनि मानिन्छ ।
अहिलेसम्म ओली-विद्या गुट एउटै हुँदा मदन भण्डारीको लोकप्रियता र विरासतको फाइदा ओलीलाई नै हुँदै आएको छ । यदि विद्या भण्डारीले भिन्नै गुट बनाउने र अध्यक्ष पदको दाबेदार हुने हो भने मदन भण्डारीको विरासत विभाजित हुनेछ ।
यस्तो विरासतको ओलीभन्दा बलियो दाबेदार विद्या हुनेछिन् । एउटा उल्लेखनीय तप्का ओलीलाई छोडेर भण्डारीको वरिपरि गोलबन्द हुन सक्नेछ ।
दुई— दुई कार्यकाल राष्ट्रपति हुँदा भण्डारीले राज्य संयन्त्र, राष्ट्रिय जीवनको विभिन्न क्षेत्र तथा कूटनीतिक नियोगमा सम्पर्क बनाएकी छन् । ती सम्पर्क शुत्र काम लाग्न सक्नेछन् । साथै, आवश्यक व्यवस्थापन र आर्थिक जोहो पनि उनको नाम र बुताले सम्भव हुनेछ ।
तीन— भण्डारी महिला भएकाले महाधिवेशनका महिला प्रतिनिधिको सहानुभूति प्राप्त हुन सक्ने, अहिलेसम्म एमाले र ठूलो कम्युनिष्ट घटकमा महिला अध्यक्ष नभएको हुँदा उनका लागि त्यो सबल पक्ष हुनेछ ।
एमाले विभाजनको अवधिमा सहाना प्रधान माले समूहकी अध्यक्ष भएकी थिइन् । त्यसबाहेक कुनै पनि कम्युनिष्ट घटकमा अहिलेसम्म महिला पार्टी अध्यक्ष भएका छैनन् । विद्या भण्डारी पहिलो महिला राष्ट्रपति भइसकेकी छन् । यदि पार्टी अध्यक्ष जित्ने हो भने देशकै पहिलो महिला प्रधानमन्त्री हुने सम्भावना बढ्नेछ । यो लोभले पनि भण्डारीको महत्वाकाङ्क्षा बढेको बताइन्छ ।
दुई राष्ट्रपतीय कार्यकाल पूरा गरिसक्दा पनि भण्डारी अहिले ६३ वर्षकी मात्रै छन् ।
भण्डारीका तीन प्रतिकूलता
सबलताजस्तै भण्डारीका मुख्य प्रतिकूलता पनि तीनवटै देखिन्छन् ।
एक— दुई कार्यकाल संवैधानिक राष्ट्रपति भइसकेको व्यक्ति फेरि सक्रिय पार्टीगत राजनीतिमा फर्किनु राम्रो हो कि हैन भन्ने नैतिक प्रश्नले उनलाई लखेट्नेछ । यद्यपि, कानूनले उनलाई रोक्दैन । यो एक प्रचलन, संस्कृति र नैतिक विषय मात्र हो ।
संवैधानिक राष्ट्रपति भइसकेको व्यक्ति फेरि सक्रिय पार्टी राजनीतिमा आउँदा कार्यकर्ताले मन नपराउन सक्दछन् । पार्टीबाहिरको लोकतान्त्रिक जनमतले पनि खासै समर्थन नगर्न सक्दछ । पूर्वराष्ट्रपति डा. रामवरण यादव कार्यकाल पूरा गरेपछि सक्रिय पार्टी राजनीतिमा आएनन् ।
दुई— राष्ट्रपति हुँदा भण्डारी आफैँ विवादित र अलोकप्रिय भइन् । विशेषतः दोस्रो संसद् विघटनको अवधिमा अनैतिक, गैरकानुनी र गैरसंवैधानिक तवरले ओलीलाई सहयोग गरेको, नागरिकता विधेयक प्रमाणीकरणका बेला गैरजिम्मवार चरित्र देखाएको आरोप पनि उनीमाथि छ ।
उनले तत्कालीन जनता समाजवादी पार्टी (जसपा) को महन्थ ठाकुर-राजेन्द्र महतो समूहको किर्ते पत्रलाई सिरानी हालेर केपी शर्मा ओलीलाई संविधानविपरीत तेस्रोपटक प्रधानमन्त्री नियुक्त गरेकी थिइन् । जसविरुद्ध सर्वोच्च अदालतले परमादेश जारी गरेको थियो ।
नागरिकता विधेयक प्रमाणीकरण प्रकरणमा उनी जन्मसिद्धका सन्तानप्रति पूर्वाग्रही देखिएकी थिइन् र विशेषतः मधेसमा विरोधको तारो बनेकी थिइन् ।
तेस्रो— भण्डारीको छवि पनि ओलीको जस्तै एक अनुदारवादी, जातीय वर्चस्ववादी शास्त्रीय एमाले नेताको छ । उनले ओलीको भन्दा फरक भिन्नै वैचारिक छवि बनाएकी छैनन् । न त त्यस्ता कुनै ठोस नयाँ एजेन्डा छन्, जसले नयाँ पुस्ता र लोकतान्त्रिक प्रगतिशील तप्कालाई आकर्षित गरोस् ।
ओली फेर्न चाहनेहरूको बाध्यता
ओलीको दशक बढी लामो नेतृत्व र स्वेच्छाचारी कार्यशैलीबाट हैरान र अजित भएका इतर खेमाको भण्डारीले समर्थन पाउने सम्भावना बढ्नेछ । यो तप्काले खुसीले भन्दा पनि बाध्यताले भण्डारीलाई सहयोग गर्न सक्नेछ ।
जस्तो कि भण्डारी अध्यक्षको उम्मेदवार बन्ने ग्यारेन्टी भए भीम रावल खेमाले जे-जस्तो भए पनि सहेर एमालेमै बस्ने र महाधिवेशनमा भण्डारीलाई सहयोग गर्ने सम्भावना बढ्नेछ ।
त्यसो त एमालेका पदाधिकारी, स्थायी समिति, पोलिटब्यूरो र केन्द्रीय समितिमै ओलीसँग भित्रभित्रै असन्तुष्ट र आजित भएकाहरूको ठूलो पङ्क्ति रहेको बताइन्छ । ती तत्काल खुल्ले छैनन् । तर, महाधिवेशनको सङ्घारमा पुगेर खेमा परिवर्तन गर्न सक्नेछन् ।
स्रोतले भन्यो, “अहिले ओलीविरुद्ध खुलेर बोल्न सक्ने अवस्थामा कोही पनि छैनन् । तर, यसको अर्थ मौन जति सबै ओलीका समर्थक हुन् भन्ने हैन । ऐन मौकामा ती खुल्ने र खुल्न नसक्नेहरूले पनि भित्रभित्रै भण्डारीलाई सहयोग गर्ने सम्भावना बढेको छ ।”
चीनको सद्भाव प्राप्त हुने अपेक्षा
आगामी महाधिवेशनमा विद्या भण्डारी अध्यक्ष पदको प्रत्याशी भएमा छिमेकी मुलुक चीनको कम्युनिष्ट पार्टी र सरकारको सद्भाव प्राप्त हुने अपेक्षा नयाँ गुटले गरेको छ । भण्डारी राष्ट्रपति हुँदा चिनियाँ समकक्षी सी चिनफिङबीच नजिकको सम्बन्धमा रहेको र दुईबीच परस्पर बलियो विश्वास र सद्भावको भावना रहेको बताइन्छ ।
अर्काे कुरा, एमाले अध्यक्ष ओली र माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड दुबैसँग विश्वास टुटिसकेको हुँदा चीनले दीगो र विश्वासनीय सहकार्यका लागि नेपालमा नयाँ कम्युनिष्ट नेताको उदय होस् भन्ने चाहेको समेत विश्लेषण छ ।
स्रोत भन्छ, “ओली र प्रचण्डको ढुलमुले र अवसरवादी चरित्रबाट चीन हैरान छ । यी नेता भारतलाई देखाउन मात्र चाइना कार्ड खेल्छन् । भित्रभित्रै चीनलाई ढाँट्छन् र भारततिरै टाँसिन्छन् । एमसीसी प्रकरणमा पनि त्यही भयो ।”
चीन निकट ठानिएको माओवादीको एक खेमा (जसमा नारायणकाजी श्रेष्ठ, अग्निप्रसाद सापकोटा, वर्षामान पुनलगायत छन्) ले समेत परोक्षतः भण्डारीलाई सहयोग गर्न सक्ने विश्लेषण गरिएको छ ।
शङ्काको घेरामा विद्याको आँट
तर, नयाँ गुट निर्माणको गृहकार्य गर्नेहरू अझै विश्वस्त भने छैनन् । भण्डारीले सक्रिय राजनीतिमा आउने, एमाले अध्यक्ष हुँदै देशकै पहिलो महिला प्रधानमन्त्री हुने इच्छा मनमा पालेकी मात्र हैनन्, निकटस्थबीच व्यक्त पनि गरेकी छन् । तर, लामो समयदेखिका राजनीतिक संरक्षक वा गुट सहकर्मी केपी शर्मा ओलीकै विरुद्ध उभिन उनमा कुनै न कुनै प्रकारको मनोवैज्ञानिक हिच्किचाहट पनि उत्पन्न हुन सक्ने ठानिन्छ ।
स्रोतले भन्छ, “एकातिर उहाँमा चाहना र महत्वाकाङ्क्षा तीव्र हुँदैछ तर, कति दृढ र निर्मम बन्न सक्नुहुन्छ, त्यो भने हेर्न बाँकी छ । पार्टी र देशकै नेतृत्वका लागि ओलीसँगको निर्णायक सङ्घर्ष त्यति सजिलो भने हुने छैन ।”
अर्कोतिर अब भण्डारीले राजनीतिक रूपमा पाउनु गुमाउनु केही बाँकी नरहेको हुँदा उनले आँट गर्न सक्ने अपेक्षा गर्नेको सङ्ख्या पनि उल्लेख्य छ ।
स्रोत भन्छ, “ओलीसँगका हिजोका सहकार्यका दिन सम्झेर उहाँ डराउनुभयो र काँध छोडिदिनुभयो भने सबै योजना भताभुङ्ग हुन्छ । तर,सक्रिय राजनीतिमा फर्किसकेपछि डराउनुपर्ने केही छैन । राजनीति हो, निर्णायक बेलामा नेतृत्व लिने सङ्घर्षमा डराउने हो भने राजनीति गर्नुको अर्थ नै के रह्यो ?”
विष्णु पौडेल गुटलाई तान्ने प्रयास
भण्डारीको जित सुनिश्चित गर्न ओली गुटका विभिन्न खेमामध्ये कुनै एउटा गुटलाई आफूतिर तान्ने प्रयास भइरहेको बताइन्छ । त्यसका लागि सबैभन्दा सहज विष्णु पौडेल गुट हुने विश्लेषण गरिएको छ । पौडेल तुलनात्मक रूपमा चीनसँग निकट रहेको, महासचिव शंकर पोखरेलसँगको द्वन्द्व तिक्त हुँदै गएको हुँदा अन्तिम बेलामा पौडेल तानिन सक्नेछन् ।
पौडेल तानिए भण्डारी गुटबाट वरिष्ठ उपाध्यक्षको उम्मेदवार हुनेछन् । पृथ्वीसुब्बा गुरुङलाई महासचिवको उम्मेदवार बनाउन उचित हुने सोचसमेत बनेको छ । गुरुङको ओलीसँगको सम्बन्ध त्यति बलियो र विश्वासनीय मानिँदैन । त्यसो गर्दा महाधिवेशनका जनजाति प्रतिनिधिलाई प्रभावित गर्न सहज हुनेसमेत नयाँ गुटको विश्लेषण छ ।
पाइसके ओलीले छनक
पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले समानान्तर गतिविधि गर्न थालेको र त्यसको उद्देश्य आगामी महाधिवेशनमा अध्यक्ष पदमा उम्मेदवारी दिने रहेको छनक अध्यक्ष केपी शर्मा ओलीले पाइसकेका छन् । तसर्थ, पार्टीका औपचारिक कार्यक्रममा भण्डारीलाई बोलाउने गरिएको छैन ।
तर, मदन भण्डारी फाउन्डेसन र पुराना सम्पर्कमार्फत भण्डारीले आफ्ना गतिविधि अघि बढाउन थालेकी छन् ।
अध्यक्ष ओलीले भण्डारीको गृहकार्य र तयारीलाई अहिलेसम्म खासै गम्भीरतापूर्वक भने नलिइएको बताइन्छ । यदि साँच्चै अघि बढे भण्डारीलाई रोक्ने ओलीको रणनीति के हुन्छ ? अहिलेसम्म प्रष्ट छैन ।
ओली निकट एक एमाले केन्द्रीय सदस्य भन्छन्, “गाइँगुइँ हामीले पनि सुनेका छौँ तर, पत्याएका छैनौँ । एमालेमा अहिले ओलीको विकल्प छैन । विद्याजी त्यस्तो खेलमा नलाग्नु नै उचित हुन्छ । त्यो उहाँकै लागि प्रतिउत्पादक हुन सक्दछ ।”
रोचक हुनेछ भिडन्त
एमालेको एघारौं महाधिवेशनमा केपी शर्मा ओली र विद्यादेवी भण्डारीबीच अध्यक्ष पदका लागि प्रतिस्पर्धा भए त्यो धेरै अर्थमा ऐतिहासिक, महत्त्वपूर्ण र रोचक हुने ठानिएको छ । त्यसको मुख्य पाटो भने बाह्य शक्तिको रुचि र मदन भण्डारीको विरासत कतातिर ध्रुवीकरण होला भन्ने हो ।
स्रोत भन्छ, “भण्डारी पार्टी र देशका लागि धेरै राम्रो विकल्प भनेर दाबी गर्न सकिँदैन तर, ओलीलाई नेतृत्वबाट प्रतिस्थापन गर्ने अरु कुनै उपाय देखिएन । विद्या भण्डारी नै ओलीविरोधी सबै खेमाको हतियार हुन सक्दछिन् । जितिन् भने भण्डारीले नेपाली राजनीतिमा एक अर्को इतिहास र उचाइ बनाउनेछिन् । राजनीति हो, हारजित दुबै सम्भावना रहन्छ ।”
यो पनि पढ्नुहोस :
एमालेमा ‘मदननगर’ भर्सेस ‘मीनभवन’ : रावल, पाण्डे र तिम्सिनालाई तर्साएर भयको खेती गर्दै ओली
Facebook Comment
Comment