चलचित्र समीक्षा

इमान्दार मान्छेहरू ‘सोसाइटी’मै पर्दैनन् !

पृथ्वी, जो नेपाल सरकारका एक इमान्दार प्रशासकीय अधिकृत (अफिसर) हुन्, उनी घुस खानुहुन्न भन्नेमा दृढ छन्, खाँदैनन् पनि । तर, अर्कोतिर उनी धुमपान गर्छन्, कार्यालयभित्र कर्मचारी कुट्छन्, काम गर्दैनन् । यसबीचमा पृथ्वी पात्रको खास चरित्र के हो भन्नेमा दर्शकहरू अलमलिन्छन् ।

इमान्दार मान्छेहरू ‘सोसाइटी’मै पर्दैनन् !

काठमाडौं । ‘छक्का पञ्चा’ सिरिज नेपाली चलचित्र उद्योगमा एउटा ब्रान्ड बनिसक्यो, यो व्यावसायिक रूपमा पनि सफल छ । अहिले हलहरूमा यसकै पाँचौँ सिरिज ‘छक्का पञ्चा ५’ चलिरहेको छ ।

त्यसो त समाजका गम्भीर र अनदेखा गरिएका सन्दर्भलाई व्यङ्ग्य मिसाएर पस्किनु छक्का पञ्जा सिरिजको विशेषता हो भन्दा फरक नपर्ला । अहिले चलिरहेको पाँचौँ सिरिज पनि त्यही बाटो भएर हिँडेको छ ।

चलचित्रमा त्यस्ता धेरै विषयहरू छन्, जसमाथि घण्टौँ विचार, विमर्श र छलफल गर्न सकिन्छ । त्यसमध्ये घुस (भ्रष्टाचार) एक ‘मेजर फ्याक्टर्स’ हो । जसै यो समकालीन नेपालको सबैभन्दा ठूलो र चुनौतीपूर्ण विषय त हो नै ।

चलचित्रको केन्द्रीय भूमिकामा अरु केही सिरिजहरूमा जस्तै ‘राजा’ अर्थात् दीपकराज गिरी छन्, जसलाई ‘पृथ्वी’ नामले बोलाइन्छ । पृथ्वीजयन्तीका दिन जन्मेकाले उनलाई पृथ्वी भनिएको हो । यद्यपि, धेरैले उनलाई राजा नै भनेर चिन्छन्, उनी आफैँ पनि राजा नै दाबी गर्छन् ।

पृथ्वी पेशाले नेपाल सरकारका एक इमान्दार प्रशासकीय अधिकृत (अफिसर) हुन्छन्, जो घुस खानु जघन्य अपराध ठान्छन् र कहिल्यै खाँदैनन् पनि ।

तर, भइदिन्छ के भने घुस नखाएकै कारण उनलाई कहीँ टिक्न दिइँदैन । यतिसम्म कि उनको सरुवा हिमालदेखि तराईका कतिपय पालिकाहरूसम्म हुन्छ । तर, कहीँ टिक्न दिइँदैन ।

एक पालिकामा त यस्तो हुन्छ कि प्रशासकीय अधिकृतका रूपमा पुगेका पृथ्वीलाई स्वागत र बिदाइको माला एकसाथ लगाइदिइन्छ । कारण, उही घुस नखानू । त्यहाँ भनिन्छ, “तपाईं त खानुहुन्न रे, नखाने त भूत हुन्छ र भूतसँग मान्छे डराउँछन् ।”

सरुवाको ‘परेसानी’मा परेका पृथ्वी अन्तत: सुरुमा जुन मन्त्रालयमा थिए, त्यही मन्त्रालय आइपुग्छन्, त्यो पनि ‘जगेडा’का रूपमा । सोही मन्त्रालयका एक नायब सुब्बा व्यङ्ग्य छाँट्छन्, “जमिनमा टेकाएर बस्ने हुनाले हामीलाई जगेडा भनिएको हो ।”

छक्का पञ्जा सिरिज हास्यरसबाट सामाजिक मुद्दातिर लाग्यो भनेर भन्न सकिन्छ ।

व्यक्तिगत रूपमा यहाँसम्म पृथ्वीलाई ठीकै छ, जीवन चलेकै छ । सिर्फ आफूले चाहेअनुरूप सरकारी संयन्त्र र प्रणाली मात्रै चलेको थिएन तर, अब भने उनले गम्भीर सामाजिक बहिष्करण बेहोर्नुपर्छ । कारण के ? त्यही घुस नखाएको विषय ।

उनले एक पैसा पनि घुस नखाएको विषयलाई यति कुरूप ‘मार्केटिङ’ गरिन्छ कि अन्तत: उनलाई घुस खान बाध्य पारिन्छ ।

पृथ्वीपत्नी रोशनी (वर्षा शिवाकोटी)लाई गाउँका दिदीबहिनीहरूले ‘एक पैसा पनि घुस नखानेकी श्रीमती’ भनेर खिज्याउँछन्, आफ्ना मोटा-ठूला गहना देखाउँदै हियाउँछन् । घुस नखाने भनेर पृथ्वीलाई समाजमा मूल्य नभएको मान्छे भनिन्छ ।

आफूले घुस नखाएकै कारणले ससुराले छोरी (श्रीमती) फिर्ता लान्छन् । ससुराको गुनासो छ, “ज्वाइँ एक पैसा पनि घुस नखाने पर्नुभएछ, गाईले घाँस खाएझैँ घुस खानु नि ! इमान्दारिताको भुत चढेको थाहा भएको भए छोरी नदिनुपर्थ्यो ।”

त्यहाँ मन्त्री, कर्मचारी, कर्मचारी युनियन, ठेगदार, जनप्रतिनिधि, ससुराली, श्रीमतीदेखि सिङ्गो समाज मिलेर अन्तत: पृथ्वीलाई घुस मात्रै खुवाउँदैन, सामाजिक बहिष्करण र बेवास्तापनसमेत भोगाउँछन् ।

पृथ्वी कार्यरत नगरपालिकाका मेयर, जो उनकै पुरानो साथी हुन्छन् । उनी पृथ्वीलाई घुस खान ‘मोटिभेट’ गर्दै भन्छन्, “तँजस्तो इमान्दार कर्मचारी चाहिन्छ तर, कुन देशलाई चाहिन्छ मलाई नि थाहा छैन ! म पनि ठूलै परिवर्तन गर्छु भनेर राजनीतिमा आएँ, यहाँ आएपछि म आफैँ परिवर्तन भएँ ।”

अर्थात् यहाँ यस्तो भ्रष्ट संरचना बनिसक्यो, जसले इमान्दारहरूलाई आफ्नै स्वरूपमा ढाल्छ; ठ्याक्कै समकालीन हाम्रो नेपालकै जस्तै !

हामीकहाँ वास्तविकता छ नै यस्तै; यहाँ इमान्दारहरू पछाडि छन्, जबकि बिचौलिया, फटाहा र घुसखोर-कमिसनखोरहरू अगाडि-अगाडि छन् । यो अवस्थासँग तुलना गर्दा ‘छक्का पञ्जा ५’ चलचित्रलाई ‘रिफ्लेक्सन अफ रियालिटी’ भन्न सकिन्छ । बाहिरी समाजमा जे-जे घटित छन्, त्यसलाई चलचित्रले पटकथा र चोटिलो संवादमार्फत समेटेको छ ।

कहिलेकाहीँ साथीहरूसँग ‘ग्यादरिङ’ गरिन्छ, यी र यस्तै विषयहरूमा गफगाफ छाँटिन्छ । प्राय: साथीहरूले अधिकांश ठाउँमा निष्कर्ष निकाल्थे— ‘यो देशमा इमान्दार भएर जिउन सकिँदैन । सिस्टम नै त्यस्तै भइसक्यो ।’ छक्का पञ्चा ५ हेरिरहँदा ती निष्कर्षहरू बलिया रहेछन् भन्ने भान भयो ।

त्यसो त अन्तिममा पृथ्वीको निष्कर्ष पनि त धेरै फरक छैन । उनी भन्छन्— ‘अरिङ्गाल धेरै आएपछि जति नै राम्रो भएपनि मौरीले फूलबारी छाड्नैपर्छ ।’

वास्तविकतामा हाम्रो दु:ख पनि यही त हो नि, यहाँ धेरै अरिङ्गाल छन्, थोरै मौरी छन् । धेरै अरिङ्गालहरूको बीचमा केही मौरीहरूको कुनै अस्तित्व छैन । अन्तत: उनीहरू अरिङ्गालजस्तै बन्न बाध्य छन् कि त त्यहाँबाट हिँड्नु बाध्य छन् ।

थप कुरा

माथि भनिसकेँ, समग्रतामा चलचित्र हेर्नलायक नै छ । तर, पृथ्वी पात्रको निश्चित चरित्र के हो भन्ने प्रश्नको जवाफ चलचित्रले दिन सक्दैन ।

पृथ्वी, जो नेपाल सरकारका एक इमान्दार प्रशासकीय अधिकृत (अफिसर) हुन्, उनी घुस खानुहुन्न भन्नेमा दृढ छन्, खाँदैनन् पनि । तर, अर्कोतिर उनी धुमपान गर्छन्, कार्यालयभित्र कर्मचारी कुट्छन्, काम गर्दैनन् । यसबीचमा पृथ्वी पात्रको खास चरित्र के हो भन्नेमा दर्शकहरू अलमलिन्छन् ।

यद्यपि, छक्का पञ्जा सिरिज हास्यरसबाट सामाजिक मुद्दातिर लाग्यो भन्न भने सकिन्छ । अब सिरिज ६ पनि आउला नै, कस्तो मुद्दाका बोकेर आउँछ देखिएला । तर, अहिलेलाई यो सिरिज हाँस्यरसबाट सामाजिक मुद्दातिर आएको छ ।

चलचित्रको कला पक्ष त्यति धेरै जान्दिनँ म । तर, कहीँ कतै चलचित्र बढी हतार गरेर तयार पारिएको हो कि भन्ने लाग्छ । कतिपय ठाउँमा अनावश्यक दृश्य लम्ब्याइएको भान हुन्छ भने कहीँ कतै नपुगेको !

जे होस्, मुद्दाका हिसाबे छक्का पञ्जा ५ अब्बल छ । गम्भीर सामाजिक मुद्दालाई सहज रूपमा उतार्न खोजेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved