सुनको मूल्य प्रति आउन्स दुई हजार ७०० डलरभन्दा माथि

नेपालभ्युज

सुनको मूल्य प्रति आउन्स दुई हजार ७०० डलरभन्दा माथि

काठमाडौं । व्यापारीहरूले सुनलाई सुरक्षित सम्पत्तिको स्रोतको रूपमा लिएपछि एसियाली बजारमा शुक्रबार सुनको मूल्य प्रति आउन्स दुई हजार ७०० अमेरिकी डलरभन्दा माथि पुगेको छ ।

इजरायलले हमासका प्रमुख याह्या सिनवारको हत्या गरेको बताएपछि मध्यपूर्वलगायत क्षेत्रमा बढ्दो भूराजनीतिक अनिश्चितताका बीच व्यापारीहरूले सुनलाई सुरक्षित सम्पत्तिको रूपमा कारोबार गर्दा यसको मागमा आएको वृद्धिले सुनको भाउ ह्वात्तै बढेको हो ।

एसियाली बजारमा शुक्रबार सुनको प्रारम्भिक मूल्य दुई हजार ७०४.८९ अमेरिकी डलरको सर्वकालीन उच्च बिन्दुमा पुगेको थियो । बिहीबार सुनको मूल्य प्रति आउन्स दुई हजार ६८८.८३ डलर कायम भएको थियो ।

इजरायलले गाजामा हमास र हालै दक्षिणी लेबनानमा हिजबुल्लाहसँग लडिरहेको बेला मध्यपूर्वको सङ्कटलाई लिएर सुन बजार प्रभावित भएको हो ।

केन्द्रीय बैङ्कहरूले ब्याजदर घटाउने उपाय अपनाउँदा यस वर्षको सुरूदेखि नै सुनको मूल्यमा ३० प्रतिशतको हाराहारीमा वृद्धि हुनपुगेको थियो । मूल्यमा देखिएको निरन्तरको वृद्धिले गर्दा सुन लगानीकर्ताका लागि थप आकर्षक सम्पत्ति बनेको छ ।

युक्रेनमा लामो समयदेखि चलिरहेको युद्धका बारेमा चिन्ताले व्यापारीहरूमा सुरक्षित लगानीको चाहना बढ्नुलाई स्वभाविक मानिएको छ । एएफपी


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved