काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ ।
एमालेलाई पार्टी कार्यालय बनाउन भाटभटेनीका सञ्चालक मिनबहादुर गुरुङले जग्गा दान दिएको विषयमा उजुरी परेको हो । युवराज पौडेलले उजुरी दर्ता गरेका हुन् ।
उजुरीमा गुरुङलाई पनि विपक्षी बनाइएको छ ।
पार्टीले दान, चन्दा लिनु भ्रष्टाचार भएको पौडेलको जिकिर छ । त्यसमाथि प्रधानमन्त्रीकै पार्टीले विवादास्पद व्यक्तिले दिएको दान लिनु घुससरह भएको उजुरीमा उल्लेख छ ।
साथै, उजुरी पत्रमा गुरुङलाई पक्राउ गरेर अनुसन्धान गर्नसमेत माग गरिएको छ ।
पत्रमा भनिएको छ, ‘सो कार्यमा संलग्न वा विवादास्पद व्यक्तिबाट करोडौँ रुपैयाँको जग्गा घुस बापत लिने र करोडौँ खर्च गरी पार्टी कार्यालयसमेत बनाउन लगाउने प्रधानमन्त्री केपी शर्मा ओली र त्यसरी आफ्नो व्यवसायगत एवम् व्यक्तिगत फाइदा एवम् लाभ लिने, आफ्ना मुद्दाहरू खारेज गर्ने नियतका साथ करोडौँ रुपैयाँ बराबरको जग्गा घुस दिने भाटभटेनी सुपर मार्केट प्रा.लि.का संचालक मीनबहादुर गुरुङलाई भ्रष्टाचार निवारण ऐन २०५९ (संशोधन सहित) बमोजिम तत्काल पक्राउ गरी हदैसम्मको कारबाही गर्नुपर्ने।’


Facebook Comment
Comment