काठमाडौं । भारतीय विदेशमन्त्री जयशंकर पाकिस्तान भ्रणममा निस्किएका छन् । यो भ्रमण ९ वर्षमा पहिलो हो । यसअघि सन् २०१५ मा प्रधानमन्त्री मोदीले पाकिस्तानको भ्रमण गरेका थिए ।
त्यसबेला मोदी आकस्मिक भ्रमणमा लाहोर पुगेका थिए । उनले पाकिस्तानी प्रधानमन्त्री नवाज सरिफलाई भेटेका थिए । उनको भ्रमणपछि भारतका कुनै पनि प्रधानमन्त्री वा मन्त्रीले पाकिस्तान भ्रमण गरेका छैनन् ।
सन् २०१९ मा जम्मू कश्मीरबाट धारा ३७० हटाएपछि भारत र पाकिस्तानबीच तनाव बढेको छ । त्यसयता दुई देशबीच उच्चस्तरीय बैठक हुन सकेको छैन । तर, गत वर्ष पाकिस्तानका तत्कालीन विदेशमन्त्री बिलावल भुट्टो गोवामा भएको एससीओ देशका विदेशमन्त्रीहरूको बैठकमा सहभागी हुन भारत आएका थिए ।
भारतीय विदेशमन्त्री एस जयशंकरले राजधानी इस्लामावादमा हुने सांघाई सहयोग संगठन (एससीओ) राष्ट्रहरुको शिखर सम्मेलनमा भाग लिनेछन् ।
शिखर सम्मेलनको आयोजना गरिरहेको पाकिस्तानले अगस्टमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई निमन्त्रणा पठाएको थियो । तर, भारतीय पक्षबाट प्रधानमन्त्रीको सट्टा परराष्ट्रमन्त्रीले शिखर सम्मेलनमा भाग लिनेछन् । जयशंकर त्यहाँ २४ घण्टाभन्दा कम समय बिताउनेछन् ।
यसअघि जयशंकरले आफ्नो पाकिस्तान भ्रमणको उद्देश्य एससीओ बैठकका लागि मात्र भएको र दुई देशबीचको सम्बन्धमा कुनै छलफल नहुने बताएका थिए ।
यो शिखर सम्मेलनमा भारतबाहेक रुस र चीनसहित ८ देशका प्रतिनिधि सहभागी हुनेछन् ।
Facebook Comment
Comment