चाडपर्वमा पोखराका होटेलमा ३० प्रतिशतसम्म छुट

नेपालभ्युज

चाडपर्वमा पोखराका होटेलमा ३० प्रतिशतसम्म छुट

पोखरा । पर्यटन राजधानी पोखराका होटेलमा विजयादशमी, दिपावली, छठलगायत चाडपर्वका अवसरमा ३० प्रतिशत छुट दिइने भएको छ ।

होटेल सङ्घ नेपाल पोखराद्वारा आज आयोजित पत्रकार सम्मेलनमा सङ्घका अध्यक्ष लक्ष्मण सुुवेदीले चाडपर्वलाई लक्षितगरी सङ्घ सदस्यअन्तर्गतका होटल प्रतिष्ठानमा बडादसैँदेखि तिहारसम्म प्रकाशित दररेट (आवासमा) मा पाहुनालाई ३० प्रतिशतसम्म छुटको घोषणा गरिएको जानकारी दिए । यस प्रकारको छुटबाट लाभान्वित हुन आन्तरिक पर्यटकलाई उनले अनुरोध गरे ।

भ्रमण र पदयात्राका लागि पोखरा र सिङ्गो गण्डकी प्रदेश सबै मौसमका लागि उपयुक्त छ भन्ने मान्यताअनुरूप विगत केही वर्षदेखि विभिन्न प्रवर्द्धनात्मक कार्यक्रम सञ्चालन गर्दै आइएको उनले बताए । ‘पर्यटन क्षेत्रले भोग्दै आएका समस्या र चुनौतीहरूको सामाना गर्दै यस क्षेत्रको विकास, विस्तार र प्रवर्द्धनमा सङ्घको सत्प्रयास निरन्तर अगाडि बढिरहेको छ । यस छुट अभियानले आन्तरिक पर्यटनकहरूलाई आकर्षित गरी सो प्रयासमा उल्लेख्य टेवा पुग्ने अपेक्षा गरेका छौँ’, अध्यक्ष सुवेदीले भने ।

सङ्घका महासचिव राजेन्द्र ढकालले भूकम्प, नाकाबन्दी, कोभिड–१९ महामारी, हवाई दुर्घटनालगायत कारणले सिथिल भएको पर्यटन क्षेत्र हालैको वर्षापछिको बाढीपहिरो तथा डुबानले थप प्रभावित भएको धारणा राखे । उनले केही दिनअघिको विपत्तिका कारण परेको असर हाल सामान्य बन्दै गएकामा ३० प्रतिशतसम्म छुटको कार्यान्वयनले त्यसलाई थप सहज बनाउँदै लग्ने अपेक्षा व्यक्त गरे ।

सङ्घका द्वितीय उपाध्यक्ष गणेशराज पहारीले पृथ्वीराजमार्गको पोखरा–मुग्लिन खण्डको स्तरोन्नति काम पनि धेरै हदसम्म अगाडि बढेको, राजमार्ग खुला अवस्थामा नै रहेको तथा पोखरा जोड्ने अन्य राजमार्गको अवस्थासमेत सुरक्षित नै रहेकाले पोखरा भ्रमणक लागि सबैलाई आह्वान गरे ।

पोखरामा रहेका होटेल क्षेत्रले १५ हजार जनाभन्दा बढीलाई रोजगारी दिइएको पत्रकार सम्मेलनमा जानकारी दिइयो । रासस


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved