१४ वटा राजमार्ग अझै अवरुद्ध, ४०८ सडकमा एकतर्फी यातायात सञ्चालन

नेपालभ्युज

१४ वटा राजमार्ग अझै अवरुद्ध, ४०८ सडकमा एकतर्फी यातायात सञ्चालन

काठमाडौं । अविरल वर्षापछिको बाढी-पहिरोका कारण ४३ वटा राजमार्ग तथा सडक अवरुद्ध थिए । त्यसमध्ये अब १४ वटा मात्रै सञ्चालन हुन बाँकी छन् । अरु राजमार्ग तथा सडक सञ्चालनमा आइसकेको सडक विभागले जनाएको छ ।

विभागका अनुसार ७९२ स्थानमा सडक अवरुद्ध भएको थियो । तिमध्ये अहिलेसम्म ४०८ स्थानमा एकतर्फी र ३४५ स्थानमा दुईतर्फी यातायात सञ्चालनमा आइसकेको छ । हाल १४ राजमार्गका ४० स्थानमा पहिरोले अवरोध पुर्‍याएको छ ।

हाल सुनसरीको चतरा पुलदेखि बराह क्षेत्र मन्दिरसम्म जाने सडक पहिरोको कारण अवरुद्ध छ । मकवानपुर आँपचौरको कान्ती राजपथको सडक पनि अवरुद्ध छ ।

त्यस्तै, बीपी राजमार्ग-काभ्रेपलान्चोक भ्याकुरे खोला, चर्सया बेसी, अरनिको राजमार्ग-सिन्धुपाल्चोक कोदारी, ललितपुरको ग्वार्को, लुभु हुँदै पनौतीसम्म जाने सडक पनि अवरुद्ध छ ।

यसैगरी, पुष्पलाल मध्य पहाडी राजमार्ग-सिन्धुली अक्करे भीर, अरनिको राजमार्ग-सिन्धुपाल्चोक सिरेस, ललितपुरको एकान्तकुनादेखि हेटौँडासम्मको कान्ती राजपथमा पनि सवारी साधन सञ्चालनमा छैनन् ।

पुष्पलाल मध्य पहाडी राजमार्ग-सिन्धुलीको हर्जेनी, बलेनी, सालघारी भन्ने स्थानमा पहिरो हट्न सकेको छैन । बीपी राजमार्गको बर्दिबास-धुलिखेल खण्ड विभिन्न स्थानमा पहिरो झरेका कारण बन्द छ ।

पुष्पलाल मध्य पहाडी राजमार्गको सिन्धुलीमा कुखुरेटार, ल्याउ खोला, फिक्कल, रिठ्ठा बोटमा पहिरो छ । त्यस्तै, मेची राजमार्गको पाँचथर फिदिमछेउ अरनिको राजमार्ग-सिन्धुपाल्चोक लार्चा, पश्चिम रुकुमको भेरी करिडोर त्रिवेणी, धनकुटाको ओर्खे, धादिङको बुलटार, पाँचथरको माइदाने, सिन्धुपाल्चोकको लिपीङ पुल, सिन्धुलीको बोरुङ्गे सडक पनि पहिरोले अवरुद्ध छ ।

विभागका अनुसार रामेछापको सुनकोशी पुल, काभ्रेपलान्चोकको माम्ती खोला, काल ढुंगा, बोक्सी कुना, नार्के पुल आसपास, काभ्रे भन्ज्याङ, पिनथली बेसी, डाला बेसी, चौकी डाँडा, अवरुद्ध छन् ।

नवलपुरको तरङ्ग खोला, रामेछापको खैरेनी घाट, खानी खोला, गुल्मीको लत्रे भीर, उदयपुरको फोक्सिन्टार, मुस्ताङको राजकुद देविस्थान र बागलुङको कुचुरे भीरमा सडक पूर्ण रूपमा अवरुद्ध रहेको सडक विभागले जनाएको छ ।

काठमाडौंदेखि नौबिसे तथा मुग्लिङ हुँदै नारायणगढ पुग्ने मुख्य राजमार्ग संचालनमा आएको छ । मुग्लिङ पोखरा सडक पनि संचालनमा रहेको विभागले जनाएको छ । पुर्वपश्चिम राजमार्ग पनि पूर्ण रुपमा संचालनमा छ ।

ठूला र चल्तिकामध्ये बीपी राजमार्ग खुल्न भने समय लाग्ने जनाइएको छ । यो राजमार्गका धेरै स्थानमा पहिरोले सडक बगाएको छ ।

खुलेका राजमार्ग

पृथ्वी राजमार्गका अधिकांश अवरुद्ध स्थान अहिले दुईतर्फी सञ्चालनमा आइसकेका छन् । यद्यपि, तनहुँ घाँसी कुवा र दमौलीमा एकतर्फी सडक सञ्चालनमा छ भने चितवनको मावा खोला र धादिङको सीतल बजारमा पनि सडक एकतर्फी मात्र सञ्चालनमा रहेको छ । जुन चाँडै दुवैतर्फ सञ्चालनमा ल्याउने गरी काम भइरहेको सडक विभागले जनाएको छ ।

पूर्वपश्चिम (महेन्द्र) राजमार्ग प्राय सबै ठाउँमा खुलिसकेको छ । खाँदबारी राजासा भन्ने स्थानमा एकतर्फी सडक सञ्चालनमा रहेको छ । त्यस्तै, बेलहिया, भैरहवा, बुटवल हुँदै स्याङ्जा, पोखरा जोड्ने सिद्धार्थ राजमार्ग पनि पूर्ण रूपमा सञ्चालनमा आइसकेको विभागले जनाएको छ ।

यहाँ क्लिक गरेर हेर्नुहोस् देशभरका राजमार्गको अवस्था


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved