नेपालको शान्ति प्रक्रिया विश्वका लागि नमुना : प्रधानमन्त्री

नेपाल–भूटानबीच जनस्तर र व्यापारिकस्तर सम्बन्ध विकासबारे दुई प्रधानमन्त्रीबीच छलफल

नेपालभ्युज

नेपालको शान्ति प्रक्रिया विश्वका लागि नमुना : प्रधानमन्त्री

काठमाडौं । नेपाल र भूटानबीच जनस्तर र व्यापारिकस्तरमा सम्बन्ध विकासका लागि दुई प्रधानमन्त्रीबीच छलफल भएको छ ।

संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभामा भाग लिन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै संयुक्त राज्य अमेरिकाको न्युयोर्कमा रहेका  प्रधानमन्त्री  केपी शर्मा ओली र मित्रराष्ट्र भूटानका प्रधानमन्त्री दासो छिरिङ तोग्बेबीच आज भेटवार्ता भएको हो । सो राष्ट्रसङ्घका लागि नेपालको स्थायी नियोगको कार्यालय, न्युयोर्कमा भएको थियो ।

भेटमा सहभागी प्रधानमन्त्री ओलीका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमालका अनुसार दुई देशबीच दुईपक्षीय र बहुपक्षीय मञ्चहरुमा सहकार्यका साथ अघि बढ्ने विषयमा कुराकानी भएको थियो । नेपाल हाल अल्पविकसित मुलुकको अध्यक्षसमेत रहेको अवस्थामा भूटानका प्रधानमन्त्री तोग्बेले गौतम बुद्ध र बुद्धको जन्मस्थल लुम्बिनीका कारण नेपालसँगको आत्मीय सम्बन्ध रहेको उल्लेख गरे ।

उनले नेपालले भूटानका लागि देखाएको सद्भावप्रति आभार व्यक्त गर्नुभएको थियो । प्रधानमन्त्री ओलीले दुई देशबीच जनस्तर र व्यापारिकस्तरमा सम्बन्ध विकासका लागि नेपालबाट आवश्यक सहजीकरण हुने बताएका थिए ।

नेपालको शान्ति प्रक्रिया विश्वका लागि नमुना हुन सक्छ : प्रधानमन्त्री 

त्यसैगरी प्रधानमन्त्री ओलीसँग शिष्टाचार भेट गरेका राष्ट्रसङ्घका मानव अधिकार उच्चायुक्त भोल्कर टर्कले नेपालले शान्ति प्रक्रियालाई अन्तिम रुप दिने विषयसँग सम्बन्धित सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिहरुको आयोगसम्बन्धी कानुन पारित भएकामा खुसी व्यक्त गरेका थिए ।

भेटमा सहभागी प्रधानमन्त्री ओलीका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमालका अनुसार उच्चायुक्त भोल्कले नेपालको राजनीतिक सहमतिको यो विषय विश्वका लागि नमुना बन्न सक्ने उल्लेख गरेका थिए ।

यस्तै भोल्कले विश्व तापक्रम वृद्धिका कारण नेपालका हिमालमा हिउँ पग्लने स्थिति हुनुले विश्वलाई असर पार्ने भएकाले नेपालका लागि जलवायु न्याय आवश्यक भएकोमा समर्थन गरे ।

प्रधानमन्त्री ओलीले विश्वमा मानव जातिको रक्षाका लागि जलवायु न्यायका मामिलालाई उत्तिकै र सामरिक महत्त्व दिनुपर्नेमा जोड दिए ।  रासस


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved