काठमाडौं । मध्य–पूर्वमा तनाव झनै बढेको छ। शनिबार इजरायली सेनाले लेबनानमाथि ४०० पटक आक्रमण गरेको छ भने हिजबुल्लाहले हाइफा नजिकैको रामत डेभिड सैन्य अड्डामा रकेट प्रहार गरेको छ ।
गाजा युद्ध सुरु भएयता यो सबैभन्दा ठूलो आक्रमण मानिएको छ। इजरायल–लेबनान सीमामा भीषण लडाईं चलिरहँदा गाजामा मानवीय संकट गहिरिँदै गएको छ ।
यसैबीच, गाजामा इजरायली सेनाले कम्तीमा ३० प्यालेस्टाइनीहरूको ज्यान लिएको छ । गाजा सहरको जैतुन स्कूलमा भएको आक्रमणमा २२ जना प्यालेस्टाइनी मारिएका छन् ।
इजरायलको तेल अभिभमा हजारौं मानिसहरूले प्रधानमन्त्री बेन्जामिन नेतन्याहूको सरकारलाई गाजामा हमासद्वारा बन्धक बनाइएकाहरूलाई मुक्त गर्न थप प्रयास गर्न आग्रह गर्दै प्रदर्शन गरेका छन् ।
गाजामा इजरायलको युद्धमा हालसम्म कम्तीमा ४१ हजार ३९१ मानिसहरू मारिएका छन् र ९५ हजार ७६० घाइते भएका छन् ।
इजरायलमा अक्टोबर ७ मा हमासले गरेको आक्रमणमा कम्तीमा १ हजार १३९ जनाको मृत्यु भएको थियो र २०० भन्दा बढी मानिसहरूलाई बन्धक बनाइएको थियो। यो संकट समाधानको लागि अन्तर्राष्ट्रिय समुदायले तत्काल कूटनीतिक पहल गर्नुपर्ने आवाज उठेको अलजजीराले जनाएको छ ।
Facebook Comment
Comment