काठमडौं । इजरायलका युद्धक विमानहरूले दक्षिणी लेबनानमा १०० भन्दा बढी रकेट लन्चर प्रहार गरेका छन् । इजरायलले भनेको छ – हिज्बुल्लाह र अन्य आतंकवादी स्थलका साथै हतियार भण्डारणमा प्रहार गरिएको छ ।
इजरायली रक्षा बल (आईडीएफ) ले भनेको छ – उनीहरु इजरायलमाथि प्रहार गर्न तयार थिए । तत्काल कुनै हताहती भए नभएको स्पष्ट भएको छैन ।
लेबनानको राज्य सञ्चालित राष्ट्रिय समाचार एजेन्सीले बिहीबार साँझ इजरायलले देशको दक्षिणमा कम्तीमा ५२ वटा आक्रमण गरेको र लेबनानले पनि उत्तरी इजरायलमा आक्रमण गरेको बताएको छ।
यसअघि, हिज्बुल्लाहका नेता हसन नसरुल्लाहले यस हप्ताको सुरुमा भएका घातक विस्फोटहरूले ‘सबै खतराका रेखाहरू पार’गरेको बताएका थिए । उनले इजरायललाई युद्धको घोषणा गरेको आरोप लगाए ।
इजरायलले मंगलबार र बुधबार देशभर एकैसाथ पेजर र वाकी–टकीहरू विस्फोट भएको आक्रमणमा आफ्नो संलग्नता स्वीकार गरेको छैन । त्यस्तो आक्रमणमा परी ३७ जनाको मृत्यु र ३ हजारभन्दा धेरै घाइते भएको बताएका छन् ।
तर रक्षामन्त्री योआव गल्लान्टले इजरायल युद्धको नयाँ चरणमा प्रवेश गरिरहेको र उत्तरतर्फ बढी ध्यान केन्द्रित गरिरहेको बताएका छन् ।
पहिले छिटफुट सीमापार लडाइँ ८ अक्टोबर २०२३ मा बढेको थियो । गाजाबाट हमासका बन्दुकधारीले इजरायलमाथि गरेको अभूतपूर्व आक्रमणको एक दिनपछि हिज्बुल्लाहले प्यालेस्टानी एकता जनाउँदै इजरायली अवस्थितिहरूमाथि गोली चलायो।
त्यसयता सीमापार लडाइँमा सयौं मानिस, धेरैजसो हिज्बुल्लाह लडाकू मारिएका छन् र सीमाका दुवैतर्फ दशौं हजार विस्थापित भएका छन् ।
बिहीबार राति एक वक्तव्यमा, आईडीएफले भनेको छ उसका युद्धक विमानले लगभग १०० रकेट लन्चर र थप आतंकवादी पूर्वाधार स्थलमा प्रहार गरेका छन् । जसमा लगभग १,००० ब्यारेल समावेश छन् । जुन निकट भविष्यमा इजरायली क्षेत्रतर्फ प्रहार गर्न तयार थिए ।
आईडीएफले इजरायल राज्यको रक्षा गर्न हिज्बुल्लाह आतंकवादी संगठनको पूर्वाधार र क्षमताहरूलाई कमजोर पार्न जारी राख्ने समेत बताएको छ।
रोयटर्स समाचार एजेन्सी र न्यूयोर्क टाइम्सद्वारा उद्धृत लेबनानी सुरक्षा स्रोतले भनेको छ – इजरायली आक्रमणहरू गत अक्टोबरमा गाजामा युद्ध सुरु भएयताका सबैभन्दा तीव्र थिए ।
आईडीएफले उत्तरी इजरायलमा लेबनानी सीमा नजिकका बासिन्दालाई ठूला भेला नगर्न, आफ्नो छिमेकको रक्षा गर्न र बम आश्रयस्थल नजिक रहन आग्रह गरेको छ ।
बिहीबार बिहान, दक्षिणी लेबनानमा हिज्बुल्लाह लडाकूहरूले सीमापार दुईवटा एन्टी–ट्यांक मिसाइल प्रक्षेपण गरे । आईडीएफले दुई इजरायली सैनिक मारिएको र तेस्रो गम्भीर रूपमा घाइते भएको बताएको छ ।
Facebook Comment
Comment