काठमाडौं । आईसीसी विश्वकप लिग–२ अन्तर्गत नेपालले आज ओमानसँग खेल्दैछ । सिरिजमा नेपालको यो दोस्रो खेल हो । पहिलो खेलमा नेपाल क्यानडासँग पराजित भएको थियो ।
क्यानडाको ओन्टेरियोमा नेपाली समयअनुसार आज बेलुकी ८ः४५ बजे खेल सुरु हुनेछ । पहिलो खेलमा नेपाल घरेलु टोलीसँग १०३ रनको फराकिलो रनले पराजित भएको थियो ।
विश्वकप लिग–२ मा नेपालले कुल पाँच खेल खेलिसकेको छ । त्यसमध्ये नेपालले एउटा मात्रै जित हासिल गरेको छ । गत फेब्रुअरीमा घरेलु मैदानमा नामबिया र नेदरल्यान्ड्सबिरुद्धको चार खेलमध्ये नेपाल तीन खेलमा पराजित भएको थियो ।
ओमानसँग पछिल्लो पाँच भेटमा नेपालले तीन खेल जित्दा २ खेल गुमाएको छ । गत वर्षको अप्रिलमा भएको एसीसी मेन्स प्रिमियर कपमा नेपालले ओमानलाई ८४ रनले पराजित गरेको थियो ।
नेपालले सिरिजको तेस्रो खेल असोज ६ गते पुनः क्यानडासँग र असोज ८ गते पुनः ओमानसँग खेल्नेछ । एकदिवसीय सिरिजपछि यही असोज १२ गते क्यानडामै नेपालले त्रिकोणात्मक टी–२० सिरिज खेल्नेछ ।
त्रिकोणात्मक टी–२० सिरिज खेलेपछि नेपाली टोली अमेरिका भ्रमणमा जानेछ । त्यहाँ नेपाल, अमेरिका र स्कटल्यान्डबीच खेल हुनेछ । अमेरिका भ्रमणमा पनि नेपालले लिग–२ को त्रिकोणात्मक सिरिज र टी–२० त्रिकोणात्मक सिरिज गरी दुई सिरिज खेल्नेछ ।
Facebook Comment
Comment