अन्तर्राष्ट्रिय नेपाली रक्तदाता संघको अध्यक्षमा रेग्मी

नेपालभ्युज

अन्तर्राष्ट्रिय नेपाली रक्तदाता संघको अध्यक्षमा रेग्मी

काठमाडौं । अन्तर्राष्ट्रिय नेपाली रक्तदाता संघको अध्यक्षमा राहुल रेग्मी निर्विरोध निर्वाचित भएका छन् । उनलाई शनिबार काठमाडौंमा गरिएको संघको छैटौं महाधिवेशनले अध्यक्षमा निर्वाचित गराएको हो ।

यसै गरी, उपाध्यक्षमा निरञ्जन पौडेल (क्यानडा) र डा. मनिता राजकर्णिकार (नेपाल), महासचिवमा उत्तम अधिकारी (नेपाल), सचिवमा तेज कटुवाल (कतार) र कोषाध्यक्षमा सुनिल राज श्रेष्ठ (युएई), मिडिया संयोजकमा रामराज ओली (न्यूजिल्याण्ड) चयन भएका छन् । २९ सदस्यीय नयाँ कार्यसमितिको कार्यकाल २ वर्षको हुनेछ ।

कार्यक्रममा नवनिर्वाचित अध्यक्ष राहुल रेग्मीले संघ रक्तदान सम्बन्धी जनचेतना जगाई यसमा सरिक हुन प्रेरित गर्ने अन्तर्राष्ट्रिय संस्था रहेको र यसले अहिलेसम्म २१ देशमा आफ्नो भगिनी संस्थाहरू विस्तार गर्न सफल भएको बताए ।

उनले जहाँ जहाँ जुन जुन देशमा नेपालीहरू पुगेका छन् त्यहाँ रक्तदानसम्बन्धी जनचेतना जगाई सोही स्थानमा रक्तदानमा सरिक गराउने काममा संघले काम गरिरहेको जनाए । उनले आफ्नो आगामी कार्ययोजनाहरुका बारेमा समेत जानकारी गराएका थिए ।

स्टार अस्पताल लिमिटेडका अध्यक्ष किशोर कुमार महर्जनको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा पूर्व अर्थ सचिव सुमन शर्मा, पूर्व सचिव धरा सापकोटा, केन्द्रीय रक्तसञ्चार सेवा का निर्देशक पवन कुमार गुप्ता, ब्लोदान का अध्यक्ष राजेश श्रेष्ठ, नेपाल स्वयंसेवी रक्तदाता समाज का अध्यक्ष तथा नेपालका सर्वाधिक स्वयंसेवी रक्तदाता प्रेम सागर कर्माचार्य, टीयू लायन्स ब्लड ट्रान्स फ्युजन एन रिसर्च सेन्टर का अध्यक्ष रुद्रहरि ज्ञवाली, वरिष्ठ अधिवक्ता एवं संविधानबिद दिनेश त्रिपाठी, सर्वाधिक स्वयंसेवी महिला रक्तदाता निता घिरैया, गोयलापानी समाज का उपाध्यक्ष प्रेमभक्त रेग्मी, गैर आवासीय नेपाली संघ का प्रतिनिधि कुनाल मिश्र लगायत रहेका थिए ।

प्रमुख अतिथि महर्जनले कार्यक्रमको उद्घाटन गर्दै रक्तदान महादान भएको भन्दै नेपालमा अझै यसको जनचेतना जगाउन जरुरी भएको जिकिर गरे ।

रक्तदानको जनमानसमा स्वतःस्फूर्त रूपमा भावना आउनुपर्ने भन्दै उनले स्टार अस्पतालले आफ्नै ब्लड बैंक संचालन गरी दिनहुँ बिरामीलाई रगत उपलब्ध गराउँदै आइरहेको र अन्तर्राष्ट्रिय नेपाली रक्तदाता संघ सँग आफूले र स्टार अस्पतालले सहकार्य गर्न पाउँदा ज्यादै खुसी भएको व्यक्त गरे ।

उनले रक्तदान जस्तो महादानमा लागेको सम्पूर्ण रक्तदाताहरू धन्यवादको पात्र रहेको समेत जनाए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved