काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (माओवादी केन्द्र) ले उपसभामुख इन्दिरा रानालाई हटाउन नहुने निष्कर्ष निकालेको छ ।
शुक्रबार बसेको संसदीय दलको बैठकले यस्तो निष्कर्ष निकालेको प्रमुख सचेतक हितराज पाण्डेले जानकराी दिए ।
“विषय अहिले जसरी उठाइएको छ, त्यो बेठीक छ । र, हामी त्यसका बारे हिजो जसरी प्रस्तुत भयौँ, उपसभामुखलाई हटाउने कुनै पनि विषयवस्तु आयो भने त्यसरी नै प्रतिवाद गरेर जान्छौँ,” उनले भने ।
प्रमुख सचेतक पाण्डेले उपसभामुख रानाबाट गल्ती भने भएको स्वीकारे । तर, अहिले उठाइएको विषयवस्तु भने फरक रहेको उनको जिकिर छ । “जिम्मेवार ठाउँमा बसेको मान्छेले लेटरहेड प्रयोग गर्दा विचार पुर्याउनैपर्थ्यो तर, अहिले जसरी एकाएक कुरा उठाइयो । समग्रमा हेर्दा योचाहिँ सही छैन,” उनले भने ।
यस्तै माओवादीले संविधान संशोधन सबै दलको सहमतिबाट मात्रै हुनुपर्ने निर्णय गरेको छ । “हामीले हिजो संविधान सभाको बैठकमा जसरी विषय उठाएका थियौँ, त्यही कुरासहित लिएर अझ अरु थप गर्नुपर्ने विषयवस्तुमाथि छलफल गरेर संविधान संशोधनमा जाने, जनताको तहमा पनि जाने भन्नेछ,” उनले भने, “संविधान संशोधन सबैको सहमतिबाट हुनुपर्छ ।”
प्रमुख सचेतक पाण्डेले जनयुद्धलाई हिंसा भनेर अपमानित गर्ने काम भएको बताए । “यसका विरुद्ध हामीले अझ सशक्त रूपमा यसमा प्रस्तुत हुन्छौँ,” उनले भने, “यो संविधानसम्मत छैन । कानूनसम्मत छैन । कार्यव्यवस्था परामर्श समितिमा त्यस्तो कुरा आएको थिएन । तर, संसद्मा त्यसरी सुनाइयो ।”
Facebook Comment
Comment