महोत्तरी । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीलाई सुदृढ र एकताबद्ध बनाउनुको विकल्प नभएको बताएका छन् । पार्टीको मधेस प्रदेशको परामर्श बैठकलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
उनले रुपान्तरण सम्भव भएको र यसको विकल्प नभएको बताए । ‘माओवादी कमजोर हुँदा परिवर्तनका मुद्दा उल्टिन्छन्, संविधानमाथि हमला हुन्छ’, उनले भने, ‘परिवर्तनलाई जोगाउन पनि हामी सुदृढ एकतासहित अघि बढ्नुको विकल्प छैन ।’
उनले अब सम्पूर्ण रुपमा पार्टी पुनर्गठन र जनपरिचालनका कार्यक्रमसहित अघि बढ्ने बताए ।
प्रचण्डले पार्टीलाई सुदृढ गरेर भ्रष्टाचारविरुद्ध देशव्यापी आन्दोलनका कार्यक्रम अघि बढाउने सोच रहेको बताएका छन् ।
उनले भने, ‘तपाइहरुले देखि नै हाल्नुभयो, भ्रष्टाचारविरुद्ध केही गर्न खोज्दा सरकार नै परिवर्तन गर्नेसम्मको खेल भयो, हामी सरकारको नेतृत्व गर्दा केही नयाँ काम सुरु गरेका थियौं । सुशासनका पक्षमा र भ्रष्टाचारका विरुद्ध हामीले थालेको अभियानबाट भूमाफियाहरु आत्तिए । जसले सरकारी जग्गा व्यक्तिका नाममा लैजाने अपराध गरिरहेका थिए, उनीहरु छट्पटाए ।’
पार्टी केन्द्रीय समितिको बैठकको तयारी स्वरुप माओवादी केन्द्रले विभिन्न प्रदेशमा परामर्श बैठक आयोजना गर्दै आएको छ ।
माओवादी केन्द्रले बागमती, उपत्यका विशेष प्रदेश, सम्पर्क समन्वय प्रदेश, गण्डकी, सुदूरपश्चिम, कर्णाली, लुम्बिनी प्रदेश, कोशी तथा केन्द्रीय अनुशासन आयोग, निर्वाचन आयोग र लेखा आयोगको परामर्श बैठक सम्पन्न गरिसकेको छ ।
Facebook Comment
Comment