श्रेष्ठले ओलीलाई भेटेपछि घनश्यामले फोन गरेर सोधे- ओली कमरेडसँग के कुराकानी भयो ?

नेपालभ्युज

श्रेष्ठले ओलीलाई भेटेपछि घनश्यामले फोन गरेर सोधे- ओली कमरेडसँग के कुराकानी भयो ?

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का नेता एवम् सांसद किसान श्रेष्ठ (कृष्णकुमार श्रेष्ठ) ले प्रधानमन्त्रीसमेत रहेका नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीलाई भेटेका छन् ।

बुवाको मुख हेर्ने दिन पारेर ओलीलाई भेट्न श्रेष्ठ बालुवाटार नै पुगेका थिए । श्रेष्ठ त्यहाँ पुग्दा ओलीलाई भेट्न आउनेहरूको भीड थियो । तैपनि उनले ओलीलाई एक्लै भेटे र बधाई दिए । साथमा आशीर्वादसमेत ग्रहण गरे ।

“उहाँ बुवासमानको नेता हुनुहुन्छ,” श्रेष्ठले भने, “त्यसैले मैले भेटेको हुँ उहाँलाई । अहिले पो हामी फरक पार्टीमा छौँ त । हिजो त हामी एउटै पार्टीमा थियौँ, उहाँ हाम्रो अभिभावक हुनुहुन्छ ।”

ओलीलाई भेटेको थाहा पाएपछि उनलाई पार्टी महासचिव घनश्याम भुसालले फोन गरेका थिए । उनले सोधेका थिए, “‌‌ओली कमरेडसँग के कुराकानी भयो ? तपाईं-हामी भेट गर्नुपर्‍यो । कहाँ भेटौँ, कतिबेला भेटौँ ?”

श्रेष्ठ महासचिव भुसालले एमाले प्रवेश गर्छन् कि भन्ने आशङ्कासहित फोन गरेको बताउँछन् । “मैले तपाईंहरूले सोचेझैँ होइन भनेर  भनिदिएँ । उहाँहरूले आशङ्कासहित फोन गर्नुभएको थियो होला,” उनले भने ।

उनले आफूले एमाले प्रवेश गर्नेबारे नसोचेको बताए । उनी भन्छन्, “अब जा कि जा भनियो भने त जानै पनि पर्‍यो, के गर्ने । तर, एमालेमा फर्किने सोचेको छैन । तर, माधव नेपालले भनेजस्तो पार्टीचाहिँ बनाउनुभएन ।”

त्यसो त श्रेष्ठ पार्टी नेतृत्वसँग खुसी छैनन् । उनले पार्टीलाई जनतामाझ पुर्‍याउनेगरी नेतृत्वले सङ्गठन विस्तार नगरेको बताउँदै आएका छन् । उनले भने, “म त तराई बाराबाट जितेको मान्छे हुँ । त्यहाँ पार्टीलाई थप सुदृढ बनाउन सहज हुनेगरी अहिलेको केन्द्रीय कमिटी नै बनेको छैन ।  अनि कसरी बन्छ पार्टी ?”

त्यसो त श्रेष्ठ एकीकृत समाजवादी बन्नुभन्दा अगाडि एमालेमै थिए । माधव नेपालले एमाले फुटाएर एकीकृत समाजवादी बनाउँदा उनी त्यतै लागेका थिए ।

उनी बेलाबेला एमाले फर्किने चर्चासमेत चलिरहन्छ । यहीकारण ओलीलाई भेटेपछि महासचिव भुसालले फोन गरेर के कुराकानी भयो भनेर सोधेका हुन् । सम्भवत: महासचिव भुसालले लाग्यो होला, अब किसान श्रेष्ठ एमालेमा फर्किहाले ।

तर, आफूले एमालेमा फर्किनेबारे नसोचेको श्रेष्ठले बताएका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved