काठमाडौं । राप्रपा नेपालले विभिन्न एजेन्डामा पार्टीको आधिकारिक धारणा तयार गर्न सुझाव समिति गठन गरेको छ ।
समितिले निर्वाचन प्रणालीमा सुधार, प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्री वा संसदीय प्रणाली, भ्रष्टाचार नियन्त्रण आयोग एवं संवैधानिक परिषद् र न्यायपरिषदको गठन स्वरूपका बारेमा काम गर्नेछ ।
पार्टीको बुधबार बसेको केन्द्रीय कार्य सम्पादन समितिको बैठकले डा. विष्णु भण्डारीको संयोजकत्वमा बसन्तमान सिंह अधिकारी, नरप्रसाद थापा, राजाराम बर्तौला ‘चुनेली’ र जीवछ मिश्र सदस्य रहेको सुझाव समिति गठन गरेको हो ।
समितिले बुद्धिजिवी, पार्टीको विभिन्न तहका कार्यकर्ता र शुभेच्छुक तथा सर्वसाधारणको मत बुझेर एक महिनाभित्र प्रतिवेदन बुझाउने कार्यादेश पाएको छ ।
बैठकले मधेसका जनताको सामाजिक आर्थिक समृद्धि एवं शिक्षा र रोजगारीमा पहुँचको अभिवृद्धि गर्न ‘मधेस उत्थान विशेष अभियान’ सञ्चालन गर्ने निर्णय पनि गरेको छ ।
बैठकले भ्रष्टाचार सम्बन्धी कारबाहीको लागि कुनै अवधिको हदम्याद राख्न नहुने धारणा सार्वजनिक गरेको छ ।

Facebook Comment
Comment