सीके राउतले अब अलग्गै देशको माग गर्छन् जस्तो लाग्दैन : भट्टराई
नेपालभ्युज
काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले पढे/लेखेका मान्छे राजनीतिमा आउनुपर्ने बताएका छन् ।
जनमत पार्टीका अध्यक्ष डा. सीके राउतको आत्मकथा ‘वैरागदेखि बचावसम्म’ पुस्तक लोकार्पण कार्यक्रममा वक्ताका रूपमा उपस्थित भट्टराईले यस्तो बताएका हुन् ।
“राजनीतिमा पढे/लेखेका, सादगी जीवन बिताउने र नैतिकता भएको मान्छे नआउने हो भने देश बन्दैन । चुनाव जितिन्छ, सरकारमा गइन्छ, केही मान्छे मन्त्री बन्छन्, त्यो हुन्छ, भइरहन्छन् । किनभने राज्य त कहिल्यै भ्याकुम हुँदैन, ” नेपाल समाजवादी पार्टी (नेसपा) अध्यक्षसमेत रहेका भट्टराईले भने, “राणाकालमा पनि भएको थियो, राजाकालमा पनि भएको थियो, अहिले पनि भइरहेको छ र भोलि पनि हुनेछ ।”
तर, साँच्चै नै आधारभूत संरचनात्मक रूपान्तरणका लागि पढे/लेखेकै युवाहरू राजनीतिमा आउनुपर्ने भट्टराईले बताए । “साँचो अर्थमा उत्पीडित वर्गको सम्बोधनसहित देशलाई समृद्ध बनाउने हो भने ठीक ढङ्गले विश्लेषण गर्नसक्ने, सम्बन्धित विषयको ज्ञान भएको, त्यसको गहिराइमा गएर विश्लेषण गर्नसक्ने, मूल्याङ्कन गर्नसक्ने, जटिल भूराजनीतिलाई बुझेर अगाडि जानसक्ने मान्छे चाहिन्छ । सँगसँगै इमान्दार मान्छे चाहिन्छ,” उनले भने ।
डा. सीके राउतको आत्मकथा ‘वैरागदेखि बचावसम्म’ पुस्तकबारे आफ्नो धारणा राख्दै डा. बाबुराम भट्टाई ।
फरक प्रसङ्गमा भट्टराईले अलग्गै देश माग गरेर सीके राउतले गलत नगर्नेमा आफू विश्वास्त रहेको बताए । राउतको पृष्ठभूमि स्मरण गर्दै उनले भने, “जनमत पार्टीले ट्याक्टिकल्ली रूपमा मात्रै भनेको हो कि ? फेरि अलग्गै देश बनाउन खोज्ने हो कि भन्ने आशङ्का पनि छ तर, मलाईचाहिँ विश्वास छैन,” भट्टराईले भने, “किनभने उहाँजस्तो पढे/लेखेर आएको मान्छे र फेरि भित्री रूपमा मानवीयता पनि उहाँमा देखिन्छ । नि:स्वार्थ रूपमा हिँड्नुहुन्छ, त्यस्ताो मान्छेले गलत गर्नुहुन्छ भन्ने लाग्दैन ।”
त्यसो त राउत कुनै बेला छुट्टै मधेसको माग गर्ने नेता हुन् । यसकारण कतिपयले राउतमा त्यही ‘ह्याङओभर’ रहेको आशङ्का गर्छन् । पछिल्लो संसदीय निर्वाचन भारी मतका साथ जितेयता उनले यसबारे खुलेर कुरा गरेका छैनन् ।
Facebook Comment
Comment