काठमाडौं । भारतले १२ वटा जलविद्युत परियोजनाहरुबाट थप २५१ मेगावाट विद्युत् लैजाने भएको छ ।
भारतले बिहार र हरियाणा राज्यमा प्रयोग हुने गरी थप विद्युत् लैजान स्वीकृत गरेको हो । नेपालले पहिलो पटक बिहारमा मध्यकालीन विद्युत् बिक्री सम्झौता मार्फत विद्युत् निर्यात गर्ने भएको हो ।
यो स्वीकृतिसँगै कुल २८ योजनाबाट ९४१ मेगावाट कुल निर्यात हुने भएको छ । २५१ मेगावाट स्वीकृत हुनु अगावै नै गत आर्थिक वर्ष २०८०/०८१ मा १६ अर्ब ९३ करोड रुपैयाँ बराबरको विद्युत् बिक्री गरी नेपाल दक्षिण एसियामै धेरै विद्युत् निर्यात गर्ने देश बनिसकेको छ ।
सन् २०२१ अक्टोबरमा भारतले पहिलो पटक नेपालबाट भारततर्फ ३९ मेगावाट विद्युत् निर्यातका लागि अनुमति दिएको थियो । तीन वर्षभन्दा कम अवधिमा यो आँकडा २४ गुणा भन्दा बढीले बढेको छ । इन्डियन इनर्जी एक्सचेन्जको डे अहेड मार्केटमा बिक्री गरी नेपालले पहिलो पटक ऊर्जा निर्यात सुरु गर्यो ।
त्यसयता भारतले रियल टाइम मार्केटमा समेत पहुँच प्रदान गरेको छ । नेपाल विद्युत् प्राधिकरणले हरियाणा र बिहारका डिस्कमसँग मध्यकालीन विद्युत् बिक्री सम्झौता पनि गरेको छ ।
भारतले भारतका खरिदकर्ताहरूका लागि जलविद्युत खरिद दायित्व (एचपीओ) को एक हिस्साको रूपमा नेपालबाट हुने जलविद्युत आयात गणना गर्ने प्रावधान पनि खोलेको छ, जसले खरिदकर्ताहरूलाई नेपालबाट विद्युत् खरिद गर्न प्रोत्साहित गर्दछ ।
नेपाल र भारतबीचको दीर्घकालीन ऊर्जा सम्झौताले आगामी १० वर्षमा नेपालबाट भारतलाई १० हजार मेगावाटसम्म विद्युत् बिक्री गर्ने लक्ष्य लिएको छ ।
यो सम्झौताको पहिलो वर्ष हो र झन्डै एक हजार मेगावाट निर्यात भइसकेको छ । नेपाल दक्षिण एसिया क्षेत्रकै प्रमुख जलविद्युत निर्यातकर्ता बन्ने बाटोमा छ ।
बंगलादेशलाई ४० मेगावाट विद्युत् बिक्री गर्ने सम्झौता टुङ्गो लागी मिति २०८१ श्रावण १३ गते हस्ताक्षर गर्ने योजना थियो तथापि बंगलादेशको पछिल्लो राजनीतिक घटनाक्रमका कारण सो स्थगित भयो ।
Facebook Comment
Comment