अमेरिकी चुनावमा कस्ता राज्यलाई ‘स्वीङ स्टेट’ भनिन्छ ? ती कुन हुन् ?

‘स्वीङ स्टेट’हरूमा हुने सानो अनुपातको भोट परिवर्तनले मात्र पनि राष्ट्रपतिको निर्वाचन परिणामलाई निर्णायक प्रभाव पार्न सक्दछ । ‘स्वीङ स्टेट’ लाई ‘ब्याटल ग्राउन्ड स्टेट’ अर्थात् ‘रणमैदान राज्य’ पनि भनिन्छ ।

नेपालभ्युज

अमेरिकी चुनावमा कस्ता राज्यलाई ‘स्वीङ स्टेट’ भनिन्छ ? ती कुन हुन् ?

काठमाडौं । अमेरिकी राष्ट्रपतीय निर्वाचन नजिकिँदै गर्दा ‘स्वीङ स्टेट’ को चर्चा चुलिएको छ । विश्लेषक भन्छन् कि निर्वाचन परिणाम ‘स्वीङ स्टेट’ मा निर्भर हुन सक्दछ ।

कमला ह्यारिस-टिम वाल्ज र डोनाल्ड ट्रम्प-जेडी भान्स दुवै जोडा उम्मेदवारले अहिले ‘स्वीङ स्टेट’ मा निर्वाचन अभियान तीव्र पारिरहेका छन् ।

कुनै एक दललाई मात्र निरन्तर निर्णायक मत नदिने, उम्मेदवार, चुनावी मुद्दा र स्थितिअनुरूप मत बदल्ने मतदाता अनुपात ठूलो भएका राज्यलाई ‘स्वीङ स्टेट’ भनिन्छ ।

‘स्वीङ स्टेट’हरूमा हुने सानो अनुपातको भोट परिवर्तनले मात्र पनि राष्ट्रपतिको निर्वाचन परिणामलाई निर्णायक प्रभाव पार्न सक्दछ ।

‘स्वीङ स्टेट’ लाई ‘ब्याटल ग्राउन्ड स्टेट’ अर्थात् ‘रणमैदान राज्य’ पनि भनिन्छ । यो कुनै स्थिर वर्गीकरण भने हैन । मतदानको दशकीय प्रवृत्तिअनुरूप यस्ता राज्य बदलिन्छन् ।

कुनै दशकमा कुनै राज्यहरू ‘स्वीङ स्टेट’ का रूपमा देखा पर्दछन् भने अर्को दशकमा वा केही दशकपछि स्थिति बदलिएको हुन सक्दछ । सामान्यतः ३ चुनावदेखि निरन्तर कुनै एक दलले जितिरहेको छ भने ती राज्यलाई ‘स्वीङ स्टेट’ मानिँदैन ।

अमेरिकाका ५० मध्ये सन् १९९२ यता २० वटा राज्यमा अहिलेसम्म चुनावी परिणाम बदलिएको छैन भने ३० राज्यमा बेलाबेला विपरीत दलले चुनाव जित्ने गरेका छन् ।

सन् २०१६ र २०२० को चुनावी नतिजाका आधारमा यसपटकका लागि ‘स्वीङ स्टेट’ निर्धारण गरिएको छ । ती हुन्—एरिजोना, मिचिगन, जर्जिया, पेन्सेल्भानिया, नेभादा र विस्कान्सन ।

बितेका ८ निर्वाचनका बीच ‘स्वीङ स्टेट’ को दर्जा पाउने राज्य फरक-फरक थिए । सन् २०००-००४ को बीचमा न्यू मेक्सिको र आयोवालाई ‘स्वीङ स्टेट’ भनिन्थ्यो । एरिजोना र जर्जिया विगत दुई दशकदेखि ‘स्वीङ स्टेट’ रहँदै आएका छन् ।

विभिन्न कारणले फरक-फरक चुनावमा फरक-फरक राज्य निर्णायक हुन सक्दछन् । बितेका ८ चुनावमा नेभादा र ओहियो निर्णायक राज्य मानिएका थिए ।

यसपटकका निर्णायक राज्य मिचिगन, विस्कन्सन र पेल्सिन्भेनिया हुन सक्ने ठानिएको छ । तसर्थ, यी तीन राज्यलाई ‘थ्री ब्याटल ग्राउन्ड स्टेट’ को संज्ञा दिइएको छ ।

डोनाल्ड ट्रम्प र जो बाइडनका बीच पुनर्भीडन्त हुँदा यी राज्यमा ट्रम्पले बाजी मार्ने र बाइडनको हारको कारण बन्न सक्न आकलन गरिएको थियो । बाइडनको उम्मेदवारी परित्याग र डेमोक्र्याटिक पार्टीको तर्फबाट कमला ह्यारिस उम्मेदवार भएपछि स्थिति उल्टिन सक्ने अनुमान गरिएको छ ।

पछिल्ला मत सर्वेक्षणले ट्रम्पभन्दा ह्यारिस यी राज्यमा थोरै मतले अगाडि देखिएकी छन् । सन् २००० यता राज्यहरूलाई रङ्गका आधारमा अनौपचारिक वर्गीकरण गर्न थालिएको छ ।

रिपब्लिकन पार्टी बलिया भएका राज्यलाई ‘रेड स्टेट’, डेमोक्र्याटिक पार्टी बलियो भएका राज्यलाई ‘ब्लू स्टेट’ र ‘स्वीङ स्टेट’ लाई ‘पर्पल स्टेट’ भन्ने गरिन्छ ।

अलाबामा, अर्कान्सस, नेब्रास्का, मोन्टाना, इन्डियाना, मिसीसीपी, मिसौरी, टेनेसी, टेक्सास, ओटोबा, नर्थ डाकोटा, साउथ क्यारोलिना आदि ‘रेड स्टेट’ हुन् ।

क्यालिफोर्निया, कोलोराडो, कनेक्टिकट, डेलावर, हवाई, इलिनुइस, मेरील्याण्ड, माइने, न्यू जर्सी, न्यू मेक्सिको, ओरेगन, भोरमेन्ट, भर्जिनिया, न्यू ओर्क आदि ‘ब्लु स्टेट’ हुन् ।

मतदाताको राजनीतिक रुझान र मतदान प्रवृत्तिका आधारमा यस्तो वर्गीकरण हुने गरेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved