काठमाडौं । नेकपा एमाले कोशी प्रदेश कमिटीको चौथो पूर्ण बैठकले नेता र कार्यकर्ताहरुलाई अनुशासनमा राख्न १३ बुँदे आचारसंहिता निर्माण गरेको छ ।
शनिबार विराटनगरमा भएको बैठकको निर्णय सार्वजनिक गर्दै एमाले कोशी प्रदेश कमिटीका सचिव राजकुमार भण्डारीले पार्टीका नेता तथा कार्यकर्ताहरूका लागि १३ बुँदे आचारसंहिता लागू गरेको बताए ।
एमाले कोशी प्रदेशले २०८१ साललाई पार्टी सुदृढीकरण र शुद्धीकरण वर्षसमेत घोषणा गरेको छ । यसैगरी कोशी प्रदेशको मोरङ, इलाम र तेह्रथुममा कात्तिक मसान्त भित्र जिल्ला अधिवेशन सम्पन्न गर्ने निर्णय गरेको छ ।
पत्रकार सम्मेलनमा बोल्दै नेकपा एमाले स्थायी कमिटी सदस्य एवम् कोशी प्रदेश इन्चार्ज शेरधन र्राईले मिसन २०८४ केन्द्रित भएर पार्टीलाई थप सुदृढ बनाउने गरी कार्ययोजना बनाइएको जानकारी दिए । उनले आगामी निर्वाचनमा कोशी प्रदेशमा दुई तिहाई जित्ने गरी कार्यकर्ता परिचालन गर्ने तयारीका साथ नेकपा एमाले अघि बढेको बताए ।
पत्रकार सम्मेलनमा एमाले कोशी प्रदेशका अध्यक्ष घनश्याम खतिवडाले पार्टीलाई सुदृढ र शुद्धीकरण गर्न आयोजना गरिने कार्यक्रमहरु बारे जानकारी गराएका थिए ।
Facebook Comment
Comment