काठमाडौं । निर्वाचन आयोग स्थानीय तहमा रिक्त रहेका पदाधिरीको उपनिर्वाचनको तयारीमा जुटेको छ ।
आयोग आउँदो मंसिर तेस्रो साता उपनिर्वाचन गर्नेगरी आन्तरिक तयारीमा जुटेको हो ।
निर्वाचनको मितिबारे सरकारलाई सुझाव दिने, मतदाता नामावली दर्ता तथा अद्यावधिक गर्ने, निर्वाचनमा लाग्ने खर्चको विश्लेषण गरी नेपाल सरकारसँग बजेट सुनिश्चिताको प्रयास गर्नेजस्ता तयारीमा निर्वाचन आयोग जुटेको छ ।
निर्वाचन आयोगले गत साउन २८ गते प्रधानमन्त्रीसँगको छलफलमा अगामी मंसिर तेस्रो साता निर्वाचन गर्न सरकारलाई सुझाव दिएको थियो ।
स्थानीय तह निर्वाचन ऐन २०७३ मा आयोगको सुझावका आधारमा सरकारले उपनिर्वाचनको मिति घोषणा गर्ने प्रावधान रहेको छ ।
आयोगले रिक्त रहेका स्थानीय तहलाई लक्षित गरी मतदाता नामावलीमा नाम दर्ता गर्न यसअघि नै आह्वान गरिसकेको छ । उप निर्वाचनको मिति घोषणा भएपछि निर्वाचन हुने क्षेत्रमा मतदाता नामावलीमा नाम दर्ता स्वतः बन्द हुने कानुनी व्यवस्था छ ।
निर्वाचन आयोगका अनुसार हाल स्थानीय तहका ३५ पदाधिकारी रिक्त रहेका छन् । गाउँ पालिकाका अध्यक्ष २ जना, उपाध्यक्ष २ जना, प्रमुख र उपप्रमुख १–१ जना र वडाअध्यक्ष २९ जना गरी ३५ पद रिक्त रहेका छन् ।
कोशी प्रदेशअन्तर्गतको ग्रामथान गाउँपालिकाका अध्यक्ष र कर्णालीको महाबु गाउँपालिकाका अध्यक्षको पद रिक्त छ ।
त्यसैगरी कीर्तिपुर नगरपालिका प्रमुख र कर्णालीका नलगाड नगरपालिकाका उपप्रमुख पद पनि रिक्त रहेको छ ।
Facebook Comment
Comment