काठमाडौं । पेरिस ओलम्पिक २०२४ मा धेरै यादगार क्षण बने । विभिन्न कीर्तिमान बने । अद्भुद प्रदर्शनको पनि लामो सूची नै बन्यो ।
यद्यपि, पहिलो पटक ओलम्पिकमा समावेश गरिएको ‘ब्रेकिङ’ खेलले छुट्टै तरङ्ग ल्यायो । ब्रेकिङले ओलम्पिकमा हलचल नै मच्चायो । त्यसको प्रभाव आजसम्म पनि जारी नै छ ।
सन् २०२८ ओलम्पिक गेम्समा ब्रेकिङलाई समावेश नगर्दा कति बी-बोइ तथा बी-गर्लको सपना भने अन्योलमा परेको देखिन्छ ।
पहिलो पटक डान्स खेलकुदका रूपमा समावेश गरिएको ब्रेकिङको चर्चाको मुख्य पात्र बनिन् रेचल गन । बी-गर्ल ‘रेगन’ (Raygun) को नामले चिनिने रेचल गन (Rachael Gunn) प्रदर्शनलाई लिएर चर्चा र विवादमा बनिरहेकी छन् ।
प्रदर्शन लज्जास्पद भएको र ओलम्पिक जस्तो प्लाटफर्ममा रेगन कसरी पुगिन् भनेर विभिन्न प्रश्न उठेका छन् । उनको प्रदर्शन हालसम्म सामाजिक सञ्चाजमा लाखौँ मानिसले हेरिसकेका छन् । यो प्रदर्शनमाथि विभिन्न टिकाटिपणी हुने क्रम जारी नै छ ।
३६ वर्षीय रेगनले आफ्नो बिदाको समयलाइ ब्रेकिङमार्फत सदुपयोग गर्दै आएकी थिइन् । उनले विश्वका विभिन्न कार्यक्रममा पनि प्रतिस्पर्धा गर्दै आएकी थिइन् ।
सोही क्रममा उनले पेरिस ओलम्पिकको लागि बाटो बनाइनन् । ओलम्पिकमा कूल ३२ ब्रेकिङ डान्सर, १६ बी-गर्ल र १६ बी-ब्वाइजले प्रतिस्पर्धा गरे । जसमध्ये रेगन पनि एक थिइन् ।
रेगनको ओलम्पिकमा प्रदर्शन
गत शनिबार प्लेस डे ला कन्कोर्डमा भएको स्पर्धामा भएको स्पर्धामा अष्ट्रेलियाको प्रतिनिधित्व गर्दै हरियो र सुनौलो ट्रयाक सुटमा रेगन उपस्थित भइन् ।
३ राउन्ड रोबिन ब्याटलको दौरान ‘कंगारू हप’ (Kangaroo Hop), ‘ब्याकवार्ड्स रोल’ (Backwards Roll) को साथै ‘फ्लोर वर्क’को क्रममा विभिन्न ‘कन्टोर्सन’ (Contortions) पनि प्रस्तुत गरिन् ।
रेगनको प्रतिद्वन्द्वी थिए— अमेरिकाकी लजिस्टेक्स, फ्रान्सकी सीसी र लिथुआनियाकी निका । हरेक राउन्डमा रेगन १८-० ले पराजित भइन् । यो प्रदर्शनपश्चात् सामाजिक सञ्चाजमा उनको आलोचना गर्नेको ताँती लागेको छ ।
सञ्चाजमा विरोध भए पनि ओलम्पिकको समापन कार्यक्रममा भने उनले समर्थन पाइन् । कार्यक्रममा उनले अनौपचारिक प्रदर्शन पनि गरेकी थिइन् ।
प्रदर्शनपश्चात् रेगनको भनाइ
पेरिसमा प्रतिस्पर्धा गरेपश्चात उनले भनिन्, “सृजनशीलता मेरो लागि महत्त्वपूर्ण छ । म त्यहाँ गएर आफ्नो कलात्मकता देखाउँछु । कहिले त्यसले जजसँग वार्तालाप गर्न सक्छ भने कहिले गर्न सक्दैन । म जे गर्छु त्यसले कलालाई झल्काउँछ ।”
कति मानिसले उनको प्रस्तुतिको समर्थन गर्दै उनको प्रदर्शन फरक र रचनात्मक भएको टिपणी गरे । कतिले जजबाट अपेक्षित प्रतिक्रिया नपाएको पनि बताए ।
ओलम्पिकमा ब्रेकिङका चिफ जज मार्टिन गिलियन ‘एमजिबिलिटी’ ले भने, “यो सबै मौलिकपन हो । आफ्नो राष्ट्र र क्षेत्रको प्रतिनिधित्व गर्न हरेक पटक केही नयाँ ल्याउने प्रयास हो ।”
विगत ६ दिन देखि भने उनले आफ्नो सामजिक सञ्चाजमा कुनै पनि पोष्ट गरेकी छैनन् ।
रेगनको प्रदर्शनबारे निर्णायक मण्डलको स्पष्टीकरण
आफ्नो वातावरणबाट प्रेरणा लिएको र कंगारूबाट प्रेरित भएको ब्रेकिङका प्रमुख निर्णायक मार्टिन गिलियन ‘एमजिबिलिटी’ (MGbility) ले बताए ।
उनले भने, “रेगनले मौलिकता देखाइन् । जुन हास्यास्पद र मनोरञ्जनात्मक देखियो । तर, हाम्रो लागि उनले ब्रेकिङ र हिप हप झल्काइन् । उनले मौलिक हुने प्रयास गरिरहेकी थिइन् । केही नयाँ पस्कने उनको प्रयास थियो । हाम्रो दृष्टिकोणमा त्यसमा कुनै आश्चर्य मान्नुपर्ने कुरा थिएन ।”
वर्ल्ड डान्स स्पोर्ट्स फेडेरेशन (World Dance Sports Federation ‘WDSF’)का महासचिव सर्गेई निफान्टोभले सामाजिक सञ्चाजमा आएका प्रतिक्रियाप्रति चिन्ता प्रकट गरे । उनले यस्तो प्रतिक्रिया ठिक नभएको र केही गलत भएको बताए ।
कतिले त ब्रेकिङ नबुझेकाले पनि रेगनको विषयमा अनावश्यक टिपणी गरेको बताएका छन् ।
रेगनलाई आफ्नो प्रदर्शनप्रति जवाफदेही हुन याचिका
रेगनलाई आफ्नो खराब प्रदर्शनप्रति जवाफदेही हुने दबाबका लागि भन्दै याचिका (petition) सुरु गरिएको छ । चेन्ज डट ओआरजी (change.org)ले जारी गरेको सो याचिकामा ४० हजारभन्दा बढिले हस्ताक्षर गरिसकेका छन् ।
सो याचिकामा रेगनले छनोट प्रक्रियामा धाँधली गरेको र ब्रेकिङका लागि आफ्नो परिचालक निकाय तयार गरेको दाबी गरिएको छ ।
छनोटमा रेगनभन्दा प्रतिभाशाली बी गर्ल जी क्लेफ र होली मोलीजस्ता प्रतिभाशाली डान्सर भएपनि छायाँमा परेको पनि तर्कहरू उठेका छन् ।
यो याचिकामा सम्पूर्ण अष्ट्रेलियाका नागरिकप्रति क्षमा माग्न माग गरिएको छ । छनोट प्रक्रियाको पनि पूर्ण रूपमा छानबिन गर्न माग गरिएको छ ।
ओलम्पिक छनोट समितिको स्पष्टीकरण
ओलम्पिक छनोट समितिका प्रमुख कार्यकारी निर्देशक म्याट क्यारेलले समितिले याचिकालाई हटाउन माग गरेको छ । झुटा कुरा समावेश गरि एक एथलिटप्रति घृणा उत्पन्न गर्न खोजिएको समितिले जनाएको छ ।
अष्ट्रेलियाको शेफ डे मिसनको छनोट प्रक्रियामा कुनै संग्लनता नभएको क्यारोलले बताए । यस्तो भुटो दाबीले खेलाडी बदनाम हुने समितिले जनाएको छ ।
समितिका अनुसार सत्यतथ्यलाई बङ्गाएर प्रस्तुत गरी सर्वसाधारण्मा घृणाको भाव सृजना गर्न खोजिएको छ । आफ्नो राष्ट्रको ओलम्किमा प्रतिनिधित्व गरेका कुनै पनि खेलाडीप्रति यस्तो भावना प्रस्तुत नगर्न समितिले आग्रह गरेको छ ।
समाजले तथ्य थाहा पाउनु आवश्यक भएको तथा गलत सूचनाका आधारमा कुनै धारणा नबनाउन पनि समितिले आग्रह गरेको छ ।
रेगनमाथि भइरहेको ट्रोल
ओलम्पिकमा गरिएको प्रदर्शनपछि रेगनमाथि ट्रोल भइरहेको छ । विभिन्न टी-भी कार्यक्रममा पनि प्रदर्शनलाई मजाक बनाइएको छ ।
रेगनका श्रीमान् पनि ब्रेकिङ बी-बोइ हुन् । उनले नै रेगनलाई प्रशिक्षण दिएका थिए । कतिले श्रीमान्का कारण पनि अपादर्शी रूपमा रेगन ओलम्पिकमा पुगेको समेत भनेका छन् ।
कतिले उनले छनोट प्रक्रिया पार गरेकोमा प्रश्न उठाउँदै रेगनभन्दा योग्य थुप्रै बी-गर्ल अष्ट्रेलियामा भएको पनि लेखेका छन् ।
रेगनको प्रदर्शन विवादित बन्नुको कारण
विगत १० वर्षदेखि अन्तर्राष्ट्रिय ब्रेकिङलाई नजिकबाट नियालिरहेका अडाम बी कोलम्यानले रेगनको प्रदर्शन पनि मूल्याङ्कन गरे । उनले ब्रेकिङ नबुझेकाले पनि रेगनको प्रदर्शन आकर्षक नरहेको सहजै मूल्याङ्कन गर्न सक्ने बताए ।
उत्कृष्ट बी-गर्ल होस् वा उत्कृष्ट बी-बोइ, उनीहरूको तीव्रता मुख्य शक्ति मानिन्छ । मोमेन्टमको सृजना गर्नुका साथै धेरै चुस्ती र फूर्ति पनि आवश्यक पर्छ, दुवै हावा र मैदानमा तीव्र रूपमा प्रस्तुत हुन जरूरी हुन्छ । कोलम्यानका अनुसार उनी छिटो नहुनु नै पहिलो कमजोरी हो ।
रेगन आफूभन्दा आधा उमेरकी प्रतिद्वन्द्वीको उच्च क्षमताभन्दा पछि परेको वास्तविकतालाई नकार्न नमिल्ने कोलम्यानले बताए ।
३० वर्षभन्दा माथिका पुरूष डान्सरले अझैँ पनि निरन्तर रूपमा प्रदर्शन गर्दै छन् । किनकि विगत १०-१५ वर्षदेखिको मेहनतले शारीरिक रूपमा उनीहरूलाई चुस्त बनाएका छन् ।
रेगनले आफ्नो सृजनशीलताको प्रदर्शन गरेको भने पनि सीपको अभाव देखिएको कोलम्यान बताउँछन् । कोलम्यानजस्तै थुप्रै अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले रेगनको प्रदर्शनको आलोचना गरेका छन् ।
डान्स समुदायको रेगनलाई साथ
यद्यपि, डान्स समुदायले भने रेगनप्रति आएको नकारात्मक टिपणीको निन्दा गरेको छ । विभिन्न बी-गर्ल तथा बी-बोइले रेगनको साहसको समर्थन गरेका छन् । यस्तै, द ट्रू स्कूलले रेगनको निन्दाको विरोध गरेको छ ।
सो समुदायले रेगनलगायत अन्य बी-गर्ल तथा बी-बोइलाई साथ र सहयोग गर्न राखिएको भिडिओलाई नकारात्मक रूपमा प्रचार गरेकोमा ब्रेकिङले बचाएको जीवन नबुझेको आफ्नो इन्स्टाग्राम पोस्टमा जनाएको छ ।
साथै, वर्ल्ड डान्स स्पोर्ट्स फेडेरेशन डब्लुडीएसएफले पनि हरेक एथलिटलाई सम्मान गर्न आवश्यक भएको बताएको छ । आफ्नो सपना पूरा गर्न लागिपरेका एथलिटलाई साथ र समर्थनको आवश्यकता पर्ने डब्लुडीएसएफले बाताएको छ । साइबरबुलिङप्रति डब्लुडीएसएफले आपत्ति जनाएको छ ।
परिवार र साथीभाइलाई धेरै नसताउन रेगनको आग्रह
६ दिन आफ्नो सामाजिक सञ्चाजमा कुनै पोष्ट नगरेकी रेगनले सामाजिक सञ्चाज इन्स्टाग्राममार्फत सबै टिकाटिप्पणीप्रति प्रतिक्रिया दिएकी छन् ।
उनले साथको लागि सबै समर्थकलाई धन्यवाद दिँदै आफ्नो प्रदर्शनले त्यति धेरै निन्दाको ढोका खुल्ने नसोचेको बताइन् । नकारात्मक टिप्पणीले आफुलाई केही हदसम्म आघात पुर्याएको उनले बताएकी छन् ।
यद्यपि, उनले निकै मेहनत गरेको, ओलम्पिकको लागि शतप्रतिशत दिएको र गम्भीरतापूर्वक प्रतिस्पर्धा गर्नुको साथै धेरै रमाइलो पनि गरेको बताएकी छन् ।
उनले आगामी दिन आफू युरोपमा पुर्व नियोजित काममा व्यस्त हुने र अन्य प्रश्नको उत्तर अष्ट्रेलिया पुगेर दिने पनि उल्लेख गरेकी छन् ।
रेगनको विगत
रेगन सिड्नीस्थित म्याव्केरी विश्वविद्यालयकी शिक्षिका हुन् । उनले ब्रेकिङ, स्ट्रिट डान्स र हिप-हप संस्कृतिमा रिसर्च गरेकी छन् । उनको पीएचडी थेसिस भने प्रतिच्छेदन लिङ्ग र सिड्नीको ब्रेकिङ संस्कृतिमा केन्द्रित छ ।
रेगनले २० वर्षको मध्यतिर प्रतिस्पर्धात्मक ब्रेकिङ सुरु गरेकी थिइन् । उनी बलरूम, जाज, ट्याप र हिप-हप सिक्दै हुर्किएकी थिइन् । यसअघि उनी आफ्नै उमेरका बी-गर्लसँग प्रतिस्पर्धा गरिरहेकी थिइन् ।
पुरूषप्रधान खेल भएकाले ब्रेकिङ लाई निरन्तरता दिन उनलाई निकै हिम्मत जुटाउनु परेको थियो ।
सन् २०२१ र सन् २०२२ मा रेगनले विश्व च्याम्पियनसिपमा अष्ट्रेलियाको प्रतिनिधित्व गरेकी थिइन् । गत वर्ष ओसियन च्याम्पियनसिपमार्फत उनले ओलम्पिकमा स्थान पक्का गरेकी थिइन् ।
आगामी ओलम्पिकमा समावेश गरिएन ब्रेकिङ
यो खेल सन् १९७० मा न्यूओर्क सिटीको ब्रोंक्समा सुरु भएको थियो । अमेरिकामा लोकप्रियता कमाएसँगै यो विश्वका विभिन्न राष्ट्रमा फैलियो । यसलाई हिप-हफको एक महत्त्वपूर्ण इलिमेन्ट मानिन्छ ।
धेरै मानिसले ब्रेकिङलाई खेलकुदको रूपमा मानेका थिएनन् तर, अन्तर्राष्ट्रिय ओलम्पिक समितिले युवा दर्शकलाई आकर्षित गर्न स्केटबोर्डिङ, सर्फिङ जस्ता खेललाई ओलम्पिकमा समावेश गरेको हो ।
यद्यपि, लस एन्जल्समा हुने सन् २०२८ ओलम्पिकमा ब्रेकिङलाई समावेश गरिएको छैन ।
Facebook Comment
Comment