काठमाडौं । भारतको परराष्ट्र मन्त्रालयले शुक्रबार पत्रकार सम्मेलन गर्दै बंगलादेशको अवस्थाबारे जानकारी दिएको छ ।
शेख हसिनालाई बंगलादेश फिर्ता पठाउने हो भन्ने प्रश्नमा मन्त्रालयका प्रवक्ता रणधीर जैसवालले शुक्रबार भने, ‘बंगलादेशमा अन्तरिम सरकार गठन भएको छ, हामी उनीहरूसँग काम गर्न तत्पर छौं । दुवै देशका जनताको आकांक्षा छ । शान्ति, सुरक्षा र विकास यात्रामा बल मिलोस् ।’
उनले थप भने, ‘जहाँसम्म सुपुर्दगीको सवाल छ, यो काल्पनिक प्रश्न हो । यस्ता प्रश्नको जवाफ दिने यो उपयुक्त समय होइन ।’
बंगलादेशमा अल्पसंख्यकहरूको अवस्थाको बारेमा बोल्दै उनले भने, ‘हामी स्थितिको निगरानी गरिरहेका छौं । हाम्रा उच्चायुक्तले आफ्ना विदेश मामिला सल्लाहकारसँग कुरा गरेका छन् ।’
‘हाम्रो उच्चायुक्तले सबै मुद्दा उठाएका छन् र हिन्दू अल्पसंख्यकहरूको सुरक्षाको बारेमा पनि कुरा गरेका छन् । हामी आशा गर्छौं कि त्यहाँको अवस्था यथाशीघ्र सामान्य होस् र हिन्दू समुदायका मानिसहरू सुरक्षित छन् ।’
आरक्षण विरुद्धको आन्दोलनका कारण हसिनाले ५ अगस्टमा प्रधानमन्त्री पदबाट राजीनामा दिएर भारत भागेकी थिइन् । सो आन्दोलनमा चार सयभन्दा बढीको मृत्यु भएको थियो ।
सोही दिन सेनाले बंगलादेशमा अन्तरिम सरकार गठनको घोषणा गरेको थियो । नोबेल पुरस्कार विजेता मोहम्मद युनुसलाई अन्तरिम सरकारको प्रमुख सल्लाहकार बनाइएको छ ।
Facebook Comment
Comment