काठमाडौं । करिब १ महिना लामो विद्यार्थी आन्दोलन र जनविद्रोहपछि देश छोडेर भाग्न बाध्य भएकी बंगलादेशकी प्रधानमन्त्री शेख हसिनाले भारतमा शरण लिएको केही दिनपछि भनिन्— बंगलादेशको अस्थिरताका पछाडि अमेरिकाको हात छ ।
उनले बंगलादेशको राजनीतिक सङ्कटलाई अन्तर्राष्ट्रिय शक्ति सङ्घर्षसँग जोड्न खोजिन् र भनिन् कि यदि उनले सेन्ट मार्टिन टापु प्राप्त गर्ने अमेरिकी चाहना पूरा गरिदिएकी हुन्थिन् भने बंगलादेशको सत्तामा रहिरहन सक्थिन् ।
हसिनाका अनुसार अमेरिका करिब ३ वर्गकिलोमिटरको एक सानो बंगलादेशी टापूमा सैन्य शिविर बनाउन चाहन्थ्यो । तर, उनले सहमति दिइनन् । यही कारणले अमेरिका उनको सरकारसँग रिसायो र सत्ताच्यूत गर्न षड्यन्त्र गर्यो ।
हसिनाको भनाइ प्रमाणित गर्ने प्रष्ट आधार छैनन् । उनको आरोप अमेरिकाले खण्डन गरेको छ । अमेरिकाले भनेको छ कि बंगलादेशको घटनाक्रममा आफ्नो कुनै भूमिका छैन । यो त्यहाँको आन्तरिक घटनाक्रम हो ।
बंगलादेशमा शेख हसिना सरकारलाई भारत र चीन दुवै प्रतिस्पर्धी छिमेकी देशको राम्रो सहयोग र सद्भाव थियो । तर, दुवै शक्तिले बंगलादेशको स्थितिको सही आकलन गर्न सकेनन् । जब हसिनाले देश छोडेर भाग्नुपर्यो, भारत र चीन दुवै आश्चर्यचकित जस्तो देखिए । दुवै देशमा एक प्रकारको स्तब्धता छायो ।
अहिले बंगलादेश मामिलामा भारत र चीन मिलेर काम गरेको भए उचित हुन्थ्यो भन्ने भावना बढेको छ । दुवैतिरका सञ्चारमाध्यम र विश्लेषकले बंगलादेशको राजनीतिक परिवर्तनमा अमेरिकाको भूमिका हुन सक्ने आशङ्का गरेका छन् ।
ठीक यही बेला नेपालमा सरकार छोडेका पूर्वप्रधानामन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफूलाई सत्ताबाट हटाउन ‘बाहिर शक्ति’ ले भूमिका खेलेको बैठकमा बताएको भन्ने खबर बाहिर आयो ।
असार २८ गतेको संसद्को भाषणमा नै उनले कांग्रेस-एमालेलाई लक्षित गर्दै भनेका थिए, “तपाईंहरू आफैँ मिल्नुभएको हैन, तपाईंहरूलाई कसैले मिलाएको हो ।”
बंगलादेश र नेपालको घटनाक्रम बिल्कुलै फरक हो । बंगलादेशमा दशकौं लामो शेख हसिनाको ‘निर्वाचित तनाशाही’ शासनविरुद्ध जनविद्रोह भएको हो । नेपालमा सामान्य संसदीय प्रक्रियाअनुरूपको सरकार परिवर्तन भएको हो ।
बंगलादेशको सत्ता परिवर्तनमा जनता शेख हसिनाको सरकारविरुद्ध सडकमा निस्किनु मुख्य कारण देखिन्छ । नेपालमा भने पछिल्लो गठबन्धन तथा सरकार परिर्वतनमा जनताको कुनै भूमिका, रुचि र सरोकार देखिन्न ।
यो शुद्ध संसदीय दलहरूबीचको सत्ता सङ्घर्षको खेल हो । संसद्मा बहुमत नभएको सानो तेस्रो दलले चलाएको सरकार गिर्नु संसदीय लोकतन्त्रमा कुनै ठूलो घटना हैन ।
प्रचण्डले शेख हसिनाको स्थितिसँग आफूलाई तुलना गर्नु स्वयम् उनकै लागि राजनीतिक रूपमा अहितकर हुन सक्दछ । करिब २१ वर्ष सत्तामा रहेर, विरोधीमाथि चरम दमन गरेर बदनाम भएकी हसिना र प्रचण्डको स्थिति एउटै हैन । प्रचण्ड देश छोडेर हिँड्नुपरेको छैन, उनलाई सडक जनविद्रोहले सत्ताबाट हटाएको हैन ।
त्यसोभए नेताहरू किन यसो भन्छन् ? यसको मनोवैज्ञानिक कारण छ । आफूभन्दा ठूलो शक्तिलाई दोष लगाउँदा आफ्ना कमजोरी लुकाउन र जनतामा भ्रम छर्न सजिलो हुन्छ । आफू सत्ताबाट हट्नुको मुख्य कारण स्वयम् आफू नभएको सिद्ध गर्न यस्ता बयानबाजी गरिन्छ ।
यथार्थमा अधिकांश शासक आफ्नो नियतिका लागि आफैँ जिम्मेवार हुन्छन् । हरेक घटनाको पछाडि कुनै न कुनै रहस्य वा बाहिरी शक्तिको हात हुन्छ भन्ने सोच षड्यन्त्र सिद्धान्तको उपज हो । ती मानिस जो घटनाक्रमको सहज, मौलिक र स्वाभाविक विकासक्रममा विश्वास गर्दैनन्, तिनले षड्यन्त्र सिद्धान्तमा विश्वास गर्दछन् ।
जस्तो कि विश्लेषक बुद्धछिरिङ मोक्तान भन्छन्, “शेख हसिनाको तख्तापलट गर्ने कुरा एक डेढ वर्ष अगाडि नै योजना बनेको हुन सक्दछ । यस्ता घटना एकै रातमा कार्यान्वयन भएर सफल भएको हुँदैन । हामीले देख्दा पो १ महिनाको आन्दोलनमा, १५ दिनको आन्दोलनमा भएको जस्तो लाग्दछ, तर शक्ति केन्द्रहरूले यसको लामो तयारी गरेको हुन्छ ।”
कुनै देशको राजनीतिक घटनाक्रमका पछाडि कुनै न कुनै शक्ति केन्द्रको लामो योजनाको कार्यान्वयन भइरहेको हुन्छ भन्ने कुरा सर्वथा सत्य नहुन सक्दछ । राजनीतिमा कतिपय घटना आकस्मिक, स्वाभाविक, मौलिक र स्वत: स्फूर्त पनि हुनसक्छ ।
शक्ति केन्द्रको रुचि, चाहना वा रुझान भने हुन सक्दछ । तर, सबै घटना षड्यन्त्रकै तहमा ‘डिजाइन’ हुन्छन् भन्ने तर्क प्रणाली उचित हैन । अझ घटनाक्रमको विकासमा बाह्यभन्दा बढी आन्तरिक पक्ष प्रमुख र प्रभावी हुन्छन् ।
आन्तरिक घटनाक्रम र त्यसबाट उत्पन्न परिणामलाई बाहिरी शक्तिको कारण भएको देख्नु एक प्रकारको हीनताभाषी र भ्रामक दृष्टिकोण पनि हो । यसको अर्थ आन्तरिक कारणले कहिल्यै केही हुँदैन भन्ने लाग्दछ, जुन सत्य हैन ।
षड्यन्त्र सिद्धान्तमा विश्वास गर्नेका आँखामा शक्ति केन्द्रहरू बीचको घातप्रतिघात नै इतिहास हो । जे हुन्छ, भएको छ वा हुनेछ, ती सबै बाह्य शक्ति केन्द्रका योजना कार्यान्वयन र हारजित मात्र हुन् । साना र गरिब देशहरूको आफ्नो प्रयास र इतिहास नै हुँदैन ।
यथार्थमा कुनै पनि देशको राजनीतिक विकासक्रम यस्तो हुँदैन । देशहरू साना र अविकसित किन नहोऊन्, त्यसको आफ्नै परिवेश, वातावरण, मनस्थिति र अवस्था हुन्छ । बाह्य शक्तिले त्यसमा इन्धन भर्न, घिउ थप्न सक्दछन् । तर, सधैँ निर्णायक हुन सक्दैनन् ।
विश्लेषक डम्बर खतिवडा भन्छन्, “बंगलादेश र नेपालका पछिल्ला घटनाक्रम, सत्ता वा सरकार परिवर्तनमा अमेरिकालाई जोड्नु उचित हैन । कसैलाई अनावश्यक महत्त्व वा जस दिनु राम्रो हुँदैन । यदि जोड्ने नै हो भने अलिक बलियो अध्ययन, सूचना र प्रष्टता चाहिन्छ । हचुवाका भरमा त्यसो गरिनु हुँदैन । यी मूलतः आन्तरिक घटनाक्रम हुन्, बाह्य हैनन् । आन्तरिक विषयको जस-अपजस बाहिरी शक्तिलाई दिनु आफूले आफैँलाई कमजोर आँके जस्तो हो ।”
Facebook Comment
Comment