ट्राफिकले थापेको ‘डेथ ट्र्याप’ : लुकेर चेकिङ गर्दा दुर्घटना, यसरी कुटिँदै लखेटिए प्रहरी (भिडिओसहित)

नेपालभ्युज

ट्राफिकले थापेको ‘डेथ ट्र्याप’ : लुकेर चेकिङ गर्दा दुर्घटना, यसरी कुटिँदै लखेटिए प्रहरी (भिडिओसहित)

काठमाडौं । भक्तपुरको गठ्ठाघर चोकमा बिहीबार दिउँसो भएको एक भयानक दुर्घटनाले ट्राफिक प्रहरीको कार्यशैलीमाथि गम्भीर प्रश्न उठाएको छ ।

लुकेर गरिएको चेकिङका कारण एक स्कूटर चालकको ज्यान गएको यो घटनाले ट्राफिक प्रहरीको सुरक्षा जाँचमाथि प्रश्न उठाएको हो ।

दिउँसो करिब २ बजेतिर गठ्ठाघर चोकमा अकाशे पुलबाट केही पर सडक छेउको बुट्यानमा लुकेर ट्राफिक प्रहरीले स्पीडचेकर क्यामेरासहित स्पीड चेकिङ गरिरहेका थिए ।

कौशलटारबाट गठ्ठाघरतर्फ एक ट्रक आउँदै थियो । चालकले परबाट ट्राफिक देखेनन् । अचानक ट्राफिक प्रहरीलाई देखेपछि ब्रेक लगाए । स्पीडमा आएको १२ चक्के ट्रकले ब्रेक लगाउँदा अगाडि रहेको एक स्कूटरलाई ठक्कर दियो । ठक्कर मात्र दिएन । दुर्भाग्यवश, २० मिटर पर घिसारिएर गयो । स्कूटर चालकको शरीर क्षतविच्छेद भयो ।

प्रत्यक्षदर्शीहरूका अनुसार ट्राफिक प्रहरीले बिहान १२ बजेदेखि नै लुकेर चेकिङ गरिरहेका थिए । उनीहरूले भने, “झट्ट ट्राफिक देखेपछि ट्रकले ब्रेक लगाउँदा रोकिएन, २०-३० मिटरसम्म स्कूटरलाई घिसारेर लग्यो ।”

गठ्ठाघर दुर्घटना : स्कुटर चालकको शव उठाइयो (तस्वीरहरू)

स्थानीय प्रत्यक्षदर्शीहरूका अनुसार उनीहरूले बिहानैदेखि लुकेर जाँच गरिरहेका थिए । त्यो दुर्घटनाले स्थानीयहरूमा आक्रोश जगायो । एकएक भेला भए । उनीहरूले ट्राफिक प्रहरीमाथि आक्रमण गरे । जसका कारण केही ट्राफिक प्रहरीहरू होटेलभित्र लुक्न बाध्य भए ।

भीडले होटलभित्र पसेर कुटपिट गरे । एकजना ट्राफिकको कपडा च्यातियो । होटलको मान्छेले ‘पुलिसलाई कुट्न पाइँदैन’ भनेर बचाए । कुटाइ खाएका तीनजना ट्राफिक प्रहरी भाग्दा भाग्दै एउटा सार्वजनिक बसमा चढे । बस बनेपातर्फ जाँदै थियो । पर पुगेपछि स्थानीयले ट्राफिक प्रहरीहरू चढेको बस रोकेर उनीहरूलाई झिके । ट्राफिकलाई भगाउन खोजेको भन्दै बसका चालकलाई समेत कुटे । पछि थप प्रहरी आएर स्थानीयले नियन्त्रणमा लिएका ट्राफिकलाई बचाए ।

स्थानीयको आक्रोश यतिमै रोकिएन्, ढुंगामुडा सुरु गरे । गठ्ठाघरको ट्राफिक बिट भत्काए । प्रहरीले घटनास्थलबाट ट्रक निकाल्न खोजेपछि प्रदर्शनकारीले बिट नै भत्काएर मूल सडकमा ल्याए । ढुंगामुडा प्रहरीले थेग्न नसकेपछि अश्रुग्यास हाने । ट्रक निकालेपछि आधाघन्टा बढी तनावको अवस्था भयो । अन्ततः प्रदर्शन मत्थर भयो । यो क्रममा झन्डै तीन घण्टा सडक अवरुद्ध भयो ।

घटनाले ट्राफिक प्रहरीको कार्यशैली र उद्देश्यमाथि प्रश्न उठाएको छ । “ट्राफिक जरिबानालाई राज्यको आयस्रोत मान्दाको परिणाम नै आजको यो दुर्घटना हो,” अधिकांशको आक्रोश छ । उनीहरूको तर्क छ कि ‘ट्राफिक प्रहरीले गरिरहेको चेकजाँच दुर्घटना न्यूनीकरणभन्दा पनि राजस्व सङ्कलनमा केन्द्रित छ ।

चेकजाँच ट्राफिक नियमको पालना गराउने र दुर्घटना रोक्ने उद्देश्यले हुनुपर्ने हो । तर, झाडीमा लुकेर गरिने चेकिङले उल्टै दुर्घटना निम्त्याउँदा यसको प्रभावकारिता र कार्यान्वयन शैलीमाथि पुनर्विचार गर्नुपर्ने देखिन्छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved