हसिनाविरुद्ध अन्तर्राष्ट्रिय ट्रिब्यूनलमा नरसंहारको मुद्दा, राष्ट्रसंघको निगरानीमा अनुसन्धान हुने

नेपालभ्युज

हसिनाविरुद्ध अन्तर्राष्ट्रिय ट्रिब्यूनलमा नरसंहारको मुद्दा, राष्ट्रसंघको निगरानीमा अनुसन्धान हुने

काठमाडौं । बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाविरुद्ध अन्तर्राष्ट्रिय क्रिमिनल ट्रिब्यूनलमा नरसंहार र मानवताविरुद्ध अपराधको मुद्दा दर्ता गरिएको छ । बंगलादेशको अन्तरिम सरकारले संयुक्त राष्ट्रसंघको निगरानीमा यस घटनाको अनुसन्धान गर्नेछ ।

अन्तरिम सरकारका  कानूनी सल्लाहकार प्राध्यापक आसिफ नजरुलका अनुसार शेख हसिनाले नेतृत्व सम्हालेका बेला आरक्षण विरोध प्रदर्शनको क्रममा विद्यार्थीमाथि भएको दमन एवं मृत्युहरूमा उनको भूमिकाको अनुसन्धान हुनेछ ।

ट्रिब्यूनलका उप निर्देशक अताउर रहमानले भने, ‘उजुरी दर्ता भएको छ र अब अनुसन्धान सुरु हुन्छ । अनुसन्धान पूरा भएपछि हामी अर्को प्रक्रियाका लागि ट्रिब्यूनलको प्रमुख अभियोजकको कार्यालयमा रिपोर्ट पेश गर्नेछौं ।’

द डेली स्टारका अनुसार एक अधिकारीले भने, ‘प्रहरीको गोली प्रहारबाट मृत्यु भएका छात्रका पिताले मुद्दा दर्ता गरेका छन् । कक्षाका छात्र आरिफ अहमदलाई ५ अगष्टमा प्रदर्शनको क्रममा पुलिसको गोली लाग्यो । दुई दिनपछि उनको मृत्यु भयो ।’

हसिना सरकारका गृहमन्त्री असदुज्जमान खान र अवामी लीगका महासचिव ओबेदुल कादरसहित दर्जनौँ मन्त्री र अधिकारीहरू विरुद्ध पनि अन्तर्राष्ट्रिय ट्रिब्यूनलमा आरोप लगाइएको छ । यी सबैलाई मानवताविरुद्ध अपराधको आरोप लगाइएको छ ।

हसिनामाथि २ दिनमा ३ मुद्दा 

हसिनामाथि २ दिनमा ३ मुद्दा दायर गरिएको छ । यस अघि मंगलबार हसिना माथि हत्याको मुद्दा दर्ता गरिएको थियो । आरक्षण विरोधी आन्दोलनको क्रममा १९ जुलाईमा पुलिसको गोलीबारीमा एक पसलधनी अबु सैयदको मृत्यु भएको थियो । यसमा हसिना सहित ६ जनालाई आरोपित गरिएको छ ।

बुधवार हसिना माथि अपहरणको मुद्दा दर्ता गरिएको छ । सर्वोच्च अदालतका वकील सोहैल राणाले भने –हसिनाका निर्देशनमा सन् २०१५ मा र्‍यापिड एक्शन बटालियन (आरएबी) का जवानहरूले उनको अपहरण गरेका थिए । यस मुद्दामा हसिना सहित ५ जनालाई आरोप लगाइएको छ ।

बंगलादेशको प्रधानमन्त्री पदबाट राजीनामा दिएर भारत गएकी शेख हसिनाले पहिलो पटक मंगलवार प्रतिक्रिया दिइन् । उनका छोरा साजीब वाजिदले सामाजिक सञ्जालमा आमाको तर्फबाट पोस्ट गरेका छन् ।

हसिनाले देशमा दंगा गर्नेहरूलाई सजाय दिनको माग गरेकी छिन् । आफ्ना पिता र बंगलादेशका संस्थापक शेख मुजीबुर रहमानको प्रतिमा तोडफोड गर्नेलाई पनि न्यायको माग गरिन् ।

हसिनाले बंगलादेशी नागरिकहरूलाई १५ अगष्टमा आफ्ना पिता शेख मुजिबुर रहमानको पुण्यतिथि मनाउन अनुरोध गरिन् । १५ अगष्ट १९७५ मा मुजीबुर रहमानको गोली हानी हत्या गरिएको थियो । अर्कोतर्फ, बंगलादेशको अन्तरिम सरकारले १५ अगष्टको छुट्टी रद्द गरेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved