मुख्यमन्त्री शाहले पाए विश्वासको मत

नेपालभ्युज

मुख्यमन्त्री शाहले पाए विश्वासको मत

काठमाडौं । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाहले विश्वासको मत प्राप्त गरेका छन् ।

प्रदेश सभाको बुधबार बसेको बैठकमा मुख्यमन्त्री शाहले दुई तिहाइ बहुमत प्रदेश सभा सदस्यबाट विश्वासको मत प्राप्त गरेका हुन् ।

शाहले सभामा पेश गरेको विश्वासको मत सम्बन्धी प्रस्तावको पक्षमा ३६ जना प्रदेश सभा सदस्यले मतदान गरेका हुन् । ५३ सदस्यीय प्रदेश सभामा शाहलाई नेपाली कांग्रेसका १८, नेकपा एमालेका ११, नागरिक उन्मुक्ति पार्टीका ७ गरेर ३६ जना प्रदेश सभा सदस्यले विश्वासको मत दिए।

बैठकमा सहभागी माओवादी केन्द्रका  र नेकपा एकीकृत समाजवादी पार्टीका ४/४ जना गरी ८ जना प्रदेश सभा सदस्यले विपक्षमा मतदान गरे। स्वतन्त्र प्रदेश सभा सदस्य डा ताराप्रसाद जोश भने तटस्थ बसेका छन् । बैठकमा राप्रपाकी खेमादेवी बिष्ट र माओवादी केन्द्रका ६ जना प्रदेश सभा सदस्य बैठकमा उपस्थित थिएनन् ।

सभामुख भीमबहादुर भण्डारीले मुख्यमन्त्री शाहले राखेको विश्वासको मत सम्बन्धी प्रस्तावको पक्षमा बहुमत प्रदेश सभा सदस्यले मतदान गरेको भन्दै प्रदेश सभाबाट प्रस्ताव स्वीकृत भएको घोषणा गरे।

संघमा राजनीतिक समीकरण फेरिएर कांग्रेस र एमालेको गठबन्धन बनेपछि २० साउनमा शाह मुख्यमन्त्रीमा नियुक्त भएका थिए । २१ साउनमा पदभार ग्रहण गरेका शाहले सोही दिन मन्त्रिपरिषद्लाई पूर्णता दिएका थिए । शाहले यसअघि माओवादी, एकीकृत समाजवादीसहितको समर्थनमा १४ महिना प्रदेश सरकारको नेतृत्व गरेका थिए ।

मुख्यमन्त्रीले विश्वासको मत पाएसँगै प्रदेश सरकारले अब चाडै चालु आर्थिक वर्ष २०८१/८२ को बजेट ल्याउने तयारी गरेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved