विराटनगर । बंगलादेशमा बढ्दो राजनीतिक संकट र हिंसाका कारण भारत हुँदै नेपाल प्रवेश गर्न खोज्ने बंगलादेशी नागरिकको संख्या बढेको छ । विशेषगरी विराटनगरको रानी नाका र झापाको काँकडभिट्टा नाकामा यस्ता प्रयासहरू बढेका छन् ।
कोशी प्रदेशका सीमा नाकाहरूमा सुरक्षा व्यवस्था कडा पारिएको छ । मोरङका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईका अनुसार, ‘मंगलबार दिउँसो दुईजना बंगलादेशी नागरिकलाई फिर्ता पठाइएको’ छ ।
उनीहरू भारतीय नागरिकको समूहमा मिसिएर अनधिकृत रूपमा नेपाल प्रवेश गर्न खोजेका थिए ।
फिर्ता पठाइएका व्यक्तिहरूमा बंगलादेशको घाना गोदागाडीका ४९ वर्षीय करिम मोहम्मद रिजाउल र ६३ वर्षीया जायदा बेगम रहेका छन् । प्रहरीले चेकजाँच गर्ने क्रममा दुवै जनाको साथबाट बंगलादेशको राहदानी फेला परेको थियो ।
यसअघि साउन २२ गते पनि जोगवनीबाट नेपाल प्रवेश गर्न खोजेका बंगलादेश टाङगाई पूरा बरीका ४६ वर्षीय उत्तम सरकारलाई प्रहरीले फिर्ता पठाएको थियो ।
झापाका प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बास्तोलाले भने, ‘काँकडभिट्टा नाकामा पनि सतर्कता अपनाइएको छ । हालसम्म झापामा बंगलादेशी नागरिक फेला परेका छैनन् ।’
बंगलादेशको अस्थिर परिस्थितिले नेपालको सीमा सुरक्षामा नयाँ चुनौती थपेको छ । सरकारले सीमा क्षेत्रमा कडा निगरानी राख्दै, मानवीय संकटलाई पनि ध्यानमा राख्नुपर्ने आवश्यकता देखिएको छ ।
सुरक्षा निकायहरूले सीमा क्षेत्रमा थप सतर्कता अपनाएका छन् र आगामी दिनहरूमा पनि यस्ता प्रयासहरू हुनसक्ने भन्दै तयारी अवस्थामा रहेको जनाएका छन् ।
Facebook Comment
Comment