सुर्खेत । पहिरोले अवरुद्ध कर्णाली राजमार्ग अन्तर्गतको कालिकोट–जुम्ला सडकखण्ड एकतर्फी रुपमा सञ्चालनमा आएको छ ।
कालीकोटको खाडाँचक्र नगरपालिका–१० चौखोला नजिकै ठूला ढुङ्गासहित पहिरो खस्दा सोमबार बिहानदेखि नै सडक अवरुद्ध भएको थियो ।
ढुंगासहित पहिरो खसेपछि सडक पूर्ण रुपमा अवरुद्ध भएको सडकखण्ड मंगलबार दिउँसोदेखि एकतर्फी रुपमा सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालय कालीकोटका सूचना अधिकारी पोषण थापाले जानकारी दिए ।
‘चौखोलामा बन्द भएको सडक एकतर्फी रुपमा सञ्चालनमा आएको छ,’ उनले भने, ‘चौखोलामा ठूला ढुंङ्गा खसेकाले एकतर्फी सडक सञ्चालन भएपनि विस्फोट गर्नुपर्ने अवस्था छ ।’
अविरल वर्षाका कारण कालिकोटको चौखोलामा आएको ठूलठूला ढुङ्गासहितको पहिरोले अवरुद्ध सडक एकतर्फी रुपमा सुचारु भएको नेपाली सेनासँग समन्वय गरेर ढुंगा विस्फोट गरेपछि मात्र दुईतर्फ सडक खुल्ने प्रमुख जिल्ला अधिकारी गणेश नेपालीले बताए ।
Facebook Comment
Comment