काठमाडौं । एथेन्सको उत्तरपूर्वी उपनगरहरूमा सोमबार ठूलो जङ्गलमा लागेको आगोलाई निभाउन अग्निनियन्त्रकहरूले सङघर्ष गरिरहेका छन् । आगलागीले हजारौँ बासिन्दालाई आफ्नो घर छोड्न बाध्य बनाएको छ । ग्रिक सरकारले अन्तर्राष्ट्रिय सहयोगको लागि अपिल गरेको छ ।
ग्रिक राजधानीमा यस्तो दृश्य कहिल्यै देखिएको थिएन । टेलिभिजन फुटेजले निया पेन्टेली र व्रिलिसियामा धेरै कार आगोले जलेको र घरका छानाहरू जलेको देखाएको छ ।
“एउटा विद्यालय र घरहरूमा आगो लागेको छ र म टाउन हलतिर आगो आइरहेको देख्न सक्छु”, पेन्टेलीका मेयर नतासा कोस्मोपौलोले भन्नुभयो, “स्थिति नाटकीय छ ।”
ग्रिसले सोमबार औपचारिकरूपमा युरोपेली सङ्घ (इयु) सँग सहायताका लागि आह्वान गरेको एक प्रवक्ताले बताए ।
इयुका प्रवक्ता बालाज उज्वारीले विज्ञप्तिमा भन्नुभयो, “ग्रिक अधिकारीहरूको अनुरोधमा इयुका नागरिक सुरक्षा संयन्त्रलाई सक्रिय बनाइएको थियो ।” उहाँले इटाली, फ्रान्स, चेक गणतन्त्र र रोमानियाले मद्दतका लागि युनिटहरू पठाएको जानकारी दिनुभयो ।
फ्रान्सेली गृहमन्त्री गेराल्ड डार्मानिनले पेरिसले आफ्ना कठिन दबाबमा परेका ग्रिक सहकर्मीहरूलाई सहयोग गर्न एक सय ८० अग्निनियन्त्रक, ५५ ट्रक र एउटा हेलिकप्टर पठाएको बताउनुभयो ।
एथेन्सबाट करिब ३५ किलोमिटर उत्तरपूर्वमा रहेको वार्नभास सहरमा आइतबार दिउँसो डढेलो सुरु भएको थियो । हावाको तीव्रतासँगे आगो ३० किलोमिटरसम्म फैलिएको छ । रासस
Facebook Comment
Comment