गैँडाकोट । किसान गोपिचन्द्र रिमालले गँड्यौलापालनबाट मासिक दुई लाख रुपैयाँ आम्दानी गर्दै आएका छन् । तीन वर्षअघि गैँडाकोट–५ वैकुण्ठपथमा १२ वटा ब्याड निर्माण गरी गँड्यौलापालन सुरु गरेका ६३ वर्षीय रिमालले अहिले महिनाकै दुई लाख कमाइ गर्न थालेका हुन् ।
एक कठ्ठा क्षेत्रफलमा १२ वटा ब्याड निर्माण गरी व्यावसायिक गँड्यौलापालन गर्दै आएको उनले बताए । पछिल्लो दुई महिनामा मात्रै तीन लाख ६० हजार आम्दानी भएको उनले जानकारी दिए ।
एउटा ब्याडमा गँड्यौला राखेको दुई महिनामा मल तयार हुने भन्दै प्रतिब्याड ३० हजार आम्दानी भइरहेको रिमालले बताए । प्रतिब्याडमा दुई ट्याक्टर मल, श्रमिकको ज्याला, प्याकिङका लागि प्लास्टिकसहित करिब १५ हजार लागनी हुने उनको भनाइ छ ।
दुई महिनाभित्र प्रतिब्याडबाट १२ क्विन्टलसम्म मल उत्पादन हुने उनले जानकारी दिए ।
रिमालका अनुसार प्रतिकिलो २५ का दरले गँड्यौलाको मल बिक्री हुन्छ । ‘मैले दुई किलो र पाँच किलोको ‘प्याकेट’ बनाएर प्रतिकिलो २५ का दरले बिक्री गर्दै आएको छु,’ उनले भने, ‘त्यसबाहेक खुला मल २५ किलो र ५० किलोको बोरामा राखेर बिक्री गरिरहेको छु ।’
गैँडाकोटमा उत्पादित गँड्यौलाको मल जिल्लाका अधिकांश एग्रोभेट, नर्सरीमा खपत हुने गरेको छ । केही गोरखा, चितवनलगायत जिल्लामा समेतमा बिक्री गर्दै आएको किसान रिमालले जानकारी दिए । उत्पादन भएको एक वर्षसम्म गँड्यौलाको मलमा विभिन्न १६ प्रकारका तत्व रहने भन्दै कृषकले एक वर्षसम्म उक्त मल प्रयोग गर्न सक्ने उनले बताए ।
‘किसानले गँड्यौलाको मलको महत्व नबुझेकाले आफैँले गाडीमा राखेर पसलमा पुर्याउने गरेको छु,’ रिमालले भने, ‘गँड्यौलापलनबाट जीविकोपार्जनमा सहज भएको छ । मेहनत गरेअनुसार आम्दानी पनि भइरहेकाले खेतबारीमा काम गर्न रमाइलो लाग्छ ।’ गँड्यौलापालन भएको ठाउँमा टनेल निर्माण गरिएको भन्दै मनसुन सकिएपछि टनेल बाहिरसमेत गँड्यौला पाल्ने योजना बनाएको उनले बताए ।
‘अहिले हरेक १० दिनमा १२ क्विन्टल मल तयार हुने गरेको छ,’ उनले भने, ‘उत्पादित मल प्याकिङ गरेपछि आफैंले गाडीमा राखेर बिक्रीका लागि बजारमा लैजाने गरेको छु । ब्याडमा प्लास्टिक राखेपछि त्यसमाथि बाहिर चिसो बनाएको मल मिलाएर राख्नुपर्छ । मल राखेपछि माथिबाट गँड्यौला राखेर जुटको बोराले छोप्नुपर्छ । बेलाबेलामा पानी छम्किँदै गएपछि मल तयार हुन सुरु हुन्छ ।’
ब्याडमा मल राखेको ३० दिनपछि मल निकाल्न शुरू गरिने उनले बताए । ६० दिनमा ब्याडको सबै मल निकालेर बिक्री गर्न तयार हुने उनको भनाइ छ ।
ब्याडबाट निकालिएको तयारी मललाई कृषि ज्ञान केन्द्र नवलपुरले ७५ प्रतिशत अनुदानमा दिएको मेसिनले छानेर प्याकिङ गरेपछि बजारमा पठाउँदै आएको रिमालले बताए । पोखराबाट ल्याएको तीन किलो गँड्यौलाबाट व्यावसाय शुरू गरेको स्मरण गर्दै उनले कुनै औपचारिक तालिम नलिएको जानकारी दिए।
‘तीन वर्ष अघि प्रतिकिलो दुई हजार पाँच सयका दरले गँड्यौला किनेर ल्याएको थिएँ । तालिम वा कुनै व्यावसायिक ज्ञान थिएन । युट्युब हेर्दै गँड्यौलापालनलाई अगाडि बढाएँ,’ उनले भने ।
अहिले गँड्यौलापालन गर्न इच्छुक कृषकलाई प्रतिकिलो एक हजार पाँच सयमा उपलब्ध गराउँदै आएको उनले बताए । साथै कृषकलाई गँड्यौलापालनसम्बन्धी तालिम निःशुल्क प्रदान गर्दै आएको जानकारी दिए ।
फार्मबाट उत्पादित गँड्यौलाको मललाई प्रयोगशालामा परीक्षण गर्दा माटोलाई आवश्यक पर्ने नाइट्रोजन, फसफोरस, पोटास, कपरसहित विभिन्न १६ तत्व भएको प्रमाणित भएपछि बजारमा पठाउन सुरु गरेको रिमालले जानकारी दिए ।
यहाँका कृषक तथा सङ्घसंस्थालाई गँड्यौलाको मलबारे प्रशिक्षण दिएपछि गैँडाकोट इङ्लिस स्कुल, हुप्सेकोट गाउँपालिकाको झ्यालबास, मौलाकालिका मन्दिरलगायत स्थानमा व्यावसायिक गँड्यौलापालन शुरू भएको उनले उल्लेख गरे ।
गाईको गोबरबाट मात्रै नभई भान्साबाट निस्कने कुहिने फोहरबाटसमेत गँड्यौलाको मल तयार पार्न सकिने भन्दै रिमालले यसबाट फोहर उत्सर्जनमा समेत कमी आउने बताए ।
स्थानीयस्तरमा स्वरोजगारका अवसर सिर्जना गर्न सरोकार भएकाले गँड्यौलापालन, पशुपालन, तरकारीखेतीलगायत क्षेत्रमा लगानी बढाउनुपर्नेमा उनले जोड दिए । रासस
Facebook Comment
Comment