धनगढी । सुदूरपश्चिम प्रदेश प्रमुख नजिर मियाँले जारी गरेको सुदूरपश्चिम प्रदेश सामयिक कर सङ्कलनसम्बन्धी अध्यादेश २०८१ प्रदेश सभामा टेबुल गरिएको छ ।
आजबाट सुरु भएको पाँचौँ अधिवेशनको पहिलो बैठकमा आर्थिक मामिला मन्त्री बहादुरसिंह थापाले अध्यादेश टेबुल गरेका हुन् ।
चालु आर्थिक वर्षमा राजस्व सङ्कलनका लागि अध्यादेशबाहेक अर्को विकल्प नरहेको कारण प्रदेश सरकारले यो अध्यादेश ल्याएको उनको भनाइ थियो । प्रदेश सभाको अर्को बैठक साउन २९ गते दिउँसो ३ बजे बोलाइएको छ ।
आर्थिक मामिला मन्त्री थापाले देशको राजनीतिक कारण र सरकार परिवर्तन हुँदा प्रदेश सरकारको बजेट पास नहुँदा राजश्व सङ्कलन ठप्प भएको उल्लेख गर्दै सेवा सुचारु गर्न अध्यादेश ल्याएको स्पष्ट पारेका छन् ।
प्रदेश सरकारले मौजुदा करका दरहरूलाई यथावत् राख्दै अध्यादेश जारी गरेको हो ।
अध्यादेश जारी गरेसँगै कर सङ्कलनको गाँठो फुकेको छ । प्रदेशमा दैनिक करिब ४० लाखभन्दा बढी कर सङ्कलन हुँदै आएको छ ।
तत्कालीन मुख्यमन्त्री दीर्घबहादुर सोडारी नेतृत्वको सरकार अल्पमतमा परेर असार १ गते प्रदेशसभामा प्रस्तुत बजेट पास हुन नसकेपछि साउन १ गतेदेखि सुदूरपश्चिम प्रदेशमा बजेट शून्यताको अवस्था आएको थियो ।
Facebook Comment
Comment