आठ वर्षमा आधा घट्यो विद्युत् चुहावट, प्रति वर्ष १२ अर्ब रुपैयाँ थप आम्दानी

नेपालभ्युज

आठ वर्षमा आधा घट्यो विद्युत् चुहावट, प्रति वर्ष १२ अर्ब रुपैयाँ थप आम्दानी

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले विगत आठ वर्षको अवधिमा प्रसारण तथा वितरण प्रणालीमार्फत भइरहेको विद्युत् चुहावटलाई आधा घटाएको छ ।

आर्थिक वर्ष (आव) २०७२/७३मा प्रणालीबाट २५ दशमलव ७८ प्रतिशत भइरहेको विद्युत् चुहावटलाई यस अवधिमा आधा घटाएर गत आव २०८०/८१मा १२ दशमलव ७३ प्रतिशतमा सीमित गराएको हो ।

विद्युत् चुहावटमध्ये प्रसारण लाइनतर्फ तीन दशमलव ३३ प्रतिशत र वितरणतर्फ नौ दशमलव ४० प्रतिशत रहेको छ । आठ वर्षअघि २५ दशमलव ७८ प्रतिशत चुहावटमध्ये १९ दशमलव ८० प्रतिशत वितरण र बाँकी प्रसारणतर्फ थियो ।

विद्युत् चुहावटलाई आव २०७४मा २२ दशमलव ९० प्रतिशत, २०७४/७५मा २० दशमलव ४५प्रतिशत, २०७५/७६मा १५ दशमलव ३२ प्रतिशत, २०७६/७७मा १५ दशमलव २७ प्रतिशतमा झारिएको थियो ।

आव २०७७/७८मा भने चुहावट बढेर १७ दशमलव १८ प्रतिशत पुगेको थियो । त्यसपछि चुहावटलाई आव २०७८/७९मा १५ दशमलव ३८ र आव २०७९/८०मा १३ दशमलव ४६ प्रतिशतमा झारिएको थियो ।

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले चुहावट नियन्त्रणका लागि चालिएका कदमलाई थप व्यवस्थित र प्रभावकारी बनाएर आठ वर्षको अवधिमा चुहावट नियन्त्रणमा ठुलो सफलता हासिल भएको बताएका छन् ।

कार्यकारी निर्देशक घिसिङले लोडसेडिङ अन्त्य भई नियमित रूपमा विद्युत् आपूर्ति र प्राविधिक तथा गैर प्राविधिक चुहावट नियन्त्रणका लागि चालिएका कदमले वितरणतर्फको विद्युत् चुहावट नियन्त्रणमा सकारात्मक प्रभाव परेको उल्लेख गरे ।

‘प्रणालीमा विद्युत् चुहावट हुँदा प्रत्यक्ष रूपमा अरबौं रकम आम्दानी गुमिरहेको थियो, प्राविधिक तथा गैर प्राविधिक चुहावट नियन्त्रण गर्न सञ्चालन गरिएका अभियानबाट वितरणतर्फको विद्युत् चुहावट उल्लेख्य रूपमा घटी यो अनुपात छिमेकी देशहरू भन्दा कम भएको छ’, कार्यकारी निर्देशक घिसिङले भने ।

आव २०७२/७३मा ८ अर्ब ८९ करोड रुपैयाँ खुद नोक्सानीमा रहेको प्राधिकरणले आव ०७४ मा १ अर्ब ५० करोड रुपैयाँ खुद नाफा कमाएको थियो । त्यसपछि निरन्तर नाफामा रहेको प्राधिकरणको नाफा गत आवमा १३ अर्ब ३१ करोड रुपैयाँ(९अन्तिम लेखा परीक्षण हुन बाँकी) पुगेको छ ।

आठ वर्षअघि ३४ अर्ब ६१ करोड रुपैयाँ सञ्चित घाटामा रहेको प्राधिकरण गत आवमा ४७ अर्ब ४१ करोड रुपैयाँ सञ्चित नाफामा पुगेको छ । ठुला क्षमताका प्रसारण लाइन तथा सब स्टेसन सञ्चालन, सब स्टेसन क्षमता वृद्धि तथा सुदृढीकरण, कन्डक्टर थप्ने,ओभरलोड ट्रान्सफर्मर फेर्ने, थ्रि फेज तथा स्मार्ट मिटरको प्रयोगलाई प्रोत्साहन गर्ने लगायतका कदमले प्राविधिक चुहावट नियन्त्रण भएको  हो ।

घिसिङले वितरण तथा ग्राहक सेवाअन्तर्गतका व्यवस्थापक र दिनरात नभनी खटिएका कर्मचारी, गृह प्रशासनलगायत सबैको साथ र सहयोगमा चुहावट घटाउन सफल भएको बताए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved