काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले संसदका ठूला दलहरु मिलेर बनेको सरकारबाट राजनीतिक र नीतिगत स्थायित्व कायम भइरहे निजी क्षेत्र विस्तार हुने अपेक्षा गरेका छन् ।
कैलाली उद्योग वाणिज्य संघको वार्षिक साधारणसभालाई प्रमुख अतिथिको हैसियतले शनिवार सम्बोधन गर्दै अध्यक्ष ढकालले नीतिगत अस्थीरता आर्थिक विस्तारको सबैभन्दा ठूलो समस्या रहेको सन्दर्भमा अब सुधारको सम्भावना रहेको बताएका हुन् ।
मुलुकको बाह्य क्षेत्र सुदृढ रहेको र सेयर बजारले पनि गति लिन थालेको सन्दर्भ उल्लेख गर्दै अध्यक्ष ढकालले बजारमा माग सिर्जना गर्न र उत्पादनमूलक क्षेत्रको वृद्धिका लागि सरकारले थप सुधार गर्नुपर्ने बताए ।
प्रदेशमा आर्थिक गतिविधि विस्तार गर्न प्रदेश र स्थानीय सरकारले पनि सहजीकरण गर्नुपर्ने अध्यक्ष ढकालको भनाइ छ ।
कुल गार्हस्थ्य उत्पादनमा प्रदेशहरुमध्ये छैठौं स्थानमा रहेको र सबैभन्दा बढी गरिबी रहेको सुदूरपश्चिममा सम्भावना भने उच्च रहेको अध्यक्ष ढकालले बताए । जलस्रोत पर्यटन मात्रै नभइ यहाँको जनशक्ति निक्कै मिहिनेती रहेको र युवाहरु विकासको सम्वाहक हुने उनको भनाइ थियो ।
Facebook Comment
Comment