नुवाकोट । नुवाकोटको सूर्यचौर (सुइरेचौर)आन्तरिक तथा बाह्य पर्यटकका लागि नयाँ गन्तव्यका रूपमा विकास हुँदै गएको छ ।
शिवपुरी गाउँपालिकामा रहेको यो ठाउँ काठमाडौंलगायत बाह्य तथा आन्तरिक पर्यटकको रोजाइमा पर्न थालेपछि पर्यटकीय गन्तव्यका रुपमा विकास हुदैँ गएको हो ।
सो ठाउँ समुद्र सतहदेखि २ हजार मिटर उचाइमा रहेको छ । सूर्यचौरबाट मुलुकको राजधानी काठमाडौंदेखि नुवाकोटका विभिन्न रमणीय फाँट, गणेश, मनास्लु र अन्नपूर्ण हिमाललाई देख्न सकिन्छ ।
हेलिकप्टर प्याड समेत रहेको सो ठाउँबाट गोसाइँकुन्डसहित केही ठाउँमा उडान हुन्छ ।
त्यही ठाउँमा बुधबार एयर डाइनेष्टीकोे हेलिकप्टर खसेको थियो । काठमाडौंबाट उडेको तीन मिनेटमा त्यहाँ पुगेको हेलिकप्टरले कुहिरोले बाटो नदेख्दा बस्न खोजेको थियो ।
बस्न पनि नसकेपछि देब्रो मोडेर काठमाडौं फर्कनलाग्दा डाँडामा खसेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । घटनामा पाँच जनाको मृत्यु भएको छ ।
काठमाडौंको सामाखुसी चोकदेखि १३ किलोमिटर सडक यात्रा र नुवाकोटको ककनीबाट चार घण्टाको पैदलयात्रामा सूर्याचौर पुग्न सकिन्छ ।
पर्यटकीय गतिविधि बढ्न थालेपछि पछिल्लो समय पर्यटन व्यवसायीले यस क्षेत्रमा लगानीसमेत बढाउन थालेका छन् ।
यसअघि युवायुवती, साथीभाइदेखि परिवारसम्म पिकनिक र आरामका लागि खाली चौरको उपयोग हुने गरेको थियो । पछिल्लो समयमा भने नयाँ होटल तथा रेष्टुराँ सञ्चालनमा आएका छन् । पर्यटन व्यवसायी जग्गा खरिद गरी होटेल तथा रेष्टुराँ निर्माणमा जुटिरहेका छन् ।
सूर्याचौर पिकनिक, जिपलाइन, हाइकिङ र बाइकिङको उत्कृष्ट गन्तव्यका रूपमा पनि यहाँको विकास हुँदै गएको छ ।

प्याराग्लाइडिङ सञ्चालनका लागि अध्ययन भइसकेको छ भने जीपलाईन दर्ताको कामसमेत सम्पन्न भइसकेको छ । यस स्थानलाई भगवान् शिवको क्रिडास्थलका रूपमा लिने गरिएको र ऋषि महर्षि र तपस्वीहरूले तपस्या गर्ने गरेको किंवदन्ती छ ।
त्यसैकारण यस क्षेत्रलाई शिवपुरी भन्ने गरिएको छ । शिवपुरी राष्ट्रिय निकुञ्जसँग जोडिएको यहाँको एक गाउँपालिको नामसमेत शिवपुरी राखिएको छ ।
सोही गाउँपालिकाका अध्यक्ष गोविन्दप्रसाद थपलिया यस क्षेत्रको विकासका लागि कृषि र पर्यटनलाई उच्च प्राथमिकतामा राखिएको बताउँछन् ।
Facebook Comment
Comment