काठमाडौं । नेपालको सेयर बजारले हालैका दिनमा अस्थिर व्यवहार देखाएको छ । यो उतारचढाव नयाँ सरकार गठन, विशेष गरी नयाँ अर्थमन्त्रीको आगमन र कार्यशैलीसँग जोडिएको देखिन्छ ।
पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकार ढलेपछि, बनेको नयाँ सरकारमा एमालेका विष्णु पौडेल अर्थमन्त्री बने । उनको आगमनसँगै सेयर बजारमा उल्लेखनीय वृद्धि देखियो । नेप्से सूचकांक २८०० अंकको विन्दुसम्म पुग्यो, जुन लगानीकर्ताका लागि उत्साहजनक संकेत थियो ।
केही महिना अघि ४, ५ अर्बको कारोबार हुने बजारमा दैनिक २१, २२ हुँदै २३ अर्बसम्मको कारोबार हुन थाल्यो । जुन समयमा विभिन्न सेयर विज्ञले आ–आफ्नै धारणा बनाए पनि अर्थमा विष्णुको कम ब्याकलाई धेरैले जयजयकार गरे ।
पौडेलको अर्थ मन्त्रालयमा आगमनले लगानीकर्तामा नयाँ आशा जगायो । उनका नीतिप्रति बजारको सकारात्मक प्रतिक्रिया देखियो ।
पौडेल अर्थमा आएसँगै बजारको माहोल ततायो । गत मंगलबारकै कुरा गर्ने हो भने पनि एकै दिन २३ अर्ब ७१ करोडको कारोबार भएको छ ।
तर, यो उत्साह सधैँ उस्तै भने छैन । गत मंगलबार, बजारमा एकाएक १४५ अंकको पहिरो गयो, जसले धेरै लगानीकर्तालाई चकित पार्यो ।
महिना दिनसम्म उकालो यात्रा गरिरहेको बजार एकाएक तल झर्दा आम लगानीकर्तामा आशंका उत्पन्न भयो । कारोबार समय सक्किनेबित्तिकै सामाजिक सञ्जालमा सेयरको चर्चा बढ्यो ।
उकालो यात्रामा अचानक पहिरो किन ?
लगातारको बजार वृद्धिलाई देखेर केही सेयर विज्ञले एकोहोरो उकालो लाग्नु सही मार्ग नभएको बताउँदै आइरहेका थिए भने कोही बुलमा के गर्ने, के नगर्ने लगायतका विषयमा प्रशिक्षण दिन व्यस्त देखिन्थे ।
पछिल्लो समय सेयर गुरुको नामले चर्चित सेयर विज्ञ सुवासचन्द्र भट्टराईले बजार बढ्नु र घट्नु एउटा स्वाभाविक प्रक्रिया भएकाले आत्तिन र मात्तिन नहुने धारणा सामाजिक सञ्जालमा पोखे ।
मंगलबारको बजार देखेपछि सामाजिक सञ्जाल फेसबुकमा उनले लेखेका छन्, ‘आज मेरा हात्ती जोडी खोज्न गएका हुन्, अवश्य पनि जोडी लिएर आउनेछन् ।’
उनी बजारको सुन्दर पक्ष नै घटबढ भएको बताउँछन् । पुराना लगानीकर्ता नवराज दाहाल पनि सो कुरामा समर्थन जनाउँछन् उनी पनि बजारको घटबढलाई स्वाभाविक रूपमा लिन्छन् ।
सेयर बजारलाई केही विज्ञले ‘लोभ्याउने, एक पटक सजग गराउने अनि तर्साउने र फेरी लोभ्याउने’ गराउँछ भनेर पनि व्याख्या गर्दै आइरहेका छन् । सोहीअनुरूप, बजार एक महिनादेखि करेक्सनको यात्रामा थियो । बुलबुलको यात्रामा लगानीकर्ताले भकाभक पैसा फालिरहँदा एकाएक बजारमा पहिरो गइदियो ।
अर्थात्, बजारले एक पटक लगानीकर्तालाई सजग गराएको छ । बजारको ट्रेन्डअनुसार चल्न सकिएन भने डुब्न सकिने विज्ञले बारम्बार बताउँदै आइरहेका छन् ।
अस्थिरताको कारण र प्रभाव
प्रतिनिधि सभामा पूर्व अर्थमन्त्री डा. प्रकाश शरण महतले सेयर मार्केटमा गति देखिए पनि ‘बुलिस ट्रेन्ड’ हुनुलाई सहज र स्वाभाविक रूपमा लिन नसकिने तर्क राखेका थिए । महतले केही व्यक्तिको ‘इन्साइडर ट्रेडिङ’का कारण आम लगानीकर्ता फस्ने सम्भावना बढ्दै गएकोसमेत टिप्पणी गरेका थिए ।
त्यस्तै, उनले अर्थ समितिमा पनि सोही कुरा उजागर गरेका थिए । उनी मात्र नभएर प्रतिनिधि सभामा स्वतन्त्र सांसद अमरेशकुमार सिंहले पनि संसदमा आकस्मिक समयमा बोल्दै सेयर बजारमा माफियाको चलखेल भएको भन्दै आक्रोश पोखेका थिए ।
सिहंले केही लगानीकर्ताको नाम र कम्पनीको सेयर मूल्यमा भइरहेको उछाललाई नै देखाउँदै चलखेल भइरहेको दाबी गरेका थिए । उनीहरूको यस्ता अभिव्यक्तिपश्चात् लगानीकर्ता डराए । मंगलबार सेयर बजार एकै दिन १४५ अंकले घट्यो । उनीहरूको यी र यस्ता अभिव्यक्तिले सामाजिक सञ्जाल ततायो ।
सांसद महत र सिंहलाई यति बेला विभिन्न टीकाटिप्पणी र आलोचनाको झटारो लागिरहेको छ । पुँजी बजारका लगानीकर्ता सङ्घहरूले संयुक्त रूपमा विज्ञप्ति निकालेका छन् ।
यद्यपि, मंगलबार बाहेकका पछिल्ला दिनमा सेयर बजार पछि फर्कन परेको छैन । मंगलबार पहिरो गएको खाल्डो बुधबारको सेयर कारोबारले पुरिदियो ।
बजार बढ्नुको कारण ?
सरकारले आगामी आर्थिक वर्ष २०८१ \८२ का लागि सार्वजनिक गरेको नीति कार्यक्रममा सेयर बजारको संरचनागत सुधार गर्ने, कसिलो नीतिहरूमा पुनः विचार गर्दै गैर आवासीय नेपालीलाई पनि सेयर बजारमा प्रवेश गराउने र पुँजी बजारको भरपर्दो विकास गर्ने नीति लिएको छ ।
त्यस्तै, वर्तमान सरकार गठनसँगै आएको मौद्रिक नीतिले संस्थागत लगानीकर्ताहरूका लागि २० करोडको क्याप हटाएको छ । जसले सेयर धितो कर्जाका लागि प्रोत्साहन गरेको छ ।
यी त भए नीतिगत कुराहरू यसका अलवा पनि बैंक तथा वित्तीय संस्थाको ब्याजदर घट्नु, सेयर बजारलाई आम सर्वसाधारणले सकारात्मक दृष्टिले हेर्नुले पनि बजार बढिरहेको विज्ञहरू बताउँछन् ।
सेयर बजार विश्लेषक रिसव गौतम भन्छन्, ‘ब्याजदर घटिरहेको छ । त्यसकारण सेयर बजार उकालो लागिरहने देखिन्छ । सेयर बजार एउटा लगानीको उत्तम माध्यम हो भन्ने आम सर्वसाधारणले बुझिसकेका छन् । कतिपय नेताले विगतमा सेयर बजार जुवाको खाल हो, अनुत्पादक क्षेत्र हो भने पनि अहिले उनीहरूले समेत आफ्ना बुझाइ सच्याएका छन् । त्योभन्दा बढी सर्वसाधारणले नै शेयर बजारमा उत्साहप्रद सहभागिता देखाएर पुँजी बजारप्रति सकारात्मक दृष्टिकोण रहेको दर्साइरहेका छन् ।’
भविष्यको दृष्टिकोण
बजारले लय पक्रिसकेकाले अब नेप्सेमा खासै पछाडि फर्कन नपर्ने साधारण लगानीकर्ता संघका अध्यक्ष ऋतुजंग जिसी बताउँछन् । ‘बजारले पुरानो लय पकडिसकेको छ, अब लगानीकर्ता डराउन पर्दैन । तर, सेयर बजारका विषयमा कानुन बनाउने व्यक्तिहरूले नै अस्ति जस्तो मन लाग्दी बोल्न हुँदैन ।’
अध्यक्ष जिसी राजनीतिज्ञका यस्ता अभिव्यक्तिबाट लगानीकर्ता डराउने बताउँछन् । सेयर बजार बढ्ने क्रम जारी रहेको उनको भनाई छ । उनी लगानीकर्तालाई सेयर बजार सुरक्षित रहेको भन्दै कसैको बहकावमा नअल्झिन अनुरोध गर्छन् ।
बजारको सुध्रिएको गति नरोकिने भएकाले लगानीकर्ताको लगानी जोखिममा नपर्ने उनको धारणा छ । ‘तर, यसको लागि लगानीकर्ताले पनि अध्ययन गरेर बुझेर लगानी गर्न पर्छ ।’ उनी भन्छन् ।
‘कुनै समय बजार २५ सयबाट ३२ सयको विन्दुमा समेत पुगेको थियो । तर, अहिले त्यो अवस्था छैन । तै, पनि अहिलेको बजार अवस्थाले सकारात्मक संकेत देखाएको छ ।’
उनी अहिलेको सेयर बजारले दीर्घकालीन रूपमा वृद्धिको बाटो देखाएको बताउँछन् । पुँजी बजारलाई नीति नियम र कानुनमा राखेर स्वतन्त्र छाडिदिए बजार धेरै माथिसम्म पुग्ने उनको धारणा छ ।
नीति निर्मातालाई प्रशिक्षण आवश्यक
अहिले धेरै सेयर विश्लेषक तथा लगानीकर्ताहरूको प्राय एउटै भनाई सुन्न सकिन्छ कि, पुँजी बजारका नीति निर्मातालाई यसबारे सामान्य ज्ञान पनि छैन । र, त्यो कुरा बिहीबार अर्थ समितिमा मिनी संसद्को रूपमा बसेको बैठकले पनि प्रस्ट्याइदिएको छ ।
सांसदहरूले पुँजी बजार सम्बन्धीको विषयमा उठाएका प्रश्न निकै सामान्य थिए । कतिलाई त धितो पत्र बोर्डकै बारेमा पनि थाहा नभएको भनी उनीहरू सामाजिक सञ्जालमा ट्रोल बने ।
पूर्वअर्थमन्त्री कांग्रेसका प्रवक्ता डा. प्रकाश शरण महत बारम्बार बजार बढेकोमा आपत्ति जनाउँछन् । उनी सोही विषयलाई समितिको बैठकदेखि संसद्को रोष्टमसम्मै ओकल्न भ्याउँछन् ।
यस्ता, धेरै पात्रहरू अहिले पनि नीति बनाउने ठाउँमा छन् । जसको अभिव्यक्तिले बजारमा धेरै प्रभाव पार्ने लगानीकर्ता दाहाल बताउँछन् ।
उनी भन्छन्, “नेपालमा नीति निर्मातालाई नै पुँजी बजार सम्बन्धी प्रशिक्षणको आवश्यकता छ। नयाँ लगानीकर्ता ती नेताको भनाइको आधारमा लगानी गर्छन्, र हामी जस्ता अनुभवी लगानीकर्ताले त्यसको फाइदा उठाउँछौं। किनकि हामीलाई थाहा छ कुन अवस्थामा बजार बढ्छ र कुन अवस्थामा घट्छ भनेर।”
त्यसैले पुँजी बजारको बारेमा लगानीकर्ताभन्दा पनि पहिला नीति निर्मातालाई प्रशिक्षण दिन आवश्यक रहेको विज्ञको बुझाइ छ ।
Facebook Comment
Comment