सुनसरी । खानेपानी व्यवस्थापन बोर्डको बैठकसमेत नबसिकन मेयर एक्लैले खानेपानीमा ९ हजार ९ सय प्रतिशतसम्म महसुल वृद्धि गरेपछि धरानमा स्थानीयको प्रदर्शन चर्किएको छ । साउन ११ यता आन्दोलनरत स्थानीयहरू मेयर हर्क साम्पाङविरुद्ध आन्दोलनमा केन्द्रित भएका छन् ।
खानेपानी व्यवस्थापन बोर्डको बैठकसमेत नबसिकन मेयरले नै एकलौटी निर्णयमा साउन १ गतेदेखि लागू हुने गरी ११ प्रतिशतदेखि ९ हजार ९ सय प्रतिशतसम्म खानेपानीको महसुल वृद्धि गरेका थिए ।
महसुल वृद्धिविरुद्ध राजनीतिक दलहरूले सुरुमा ७२ घण्टे अल्टिमेटम दिए पनि मेयर साम्पाङले बेवास्ता गरे ।
अहिले स्थानीयको प्रदर्शन लम्बिँदै जाँदा स्थानीयवासीको प्रदर्शन अराजकतर्फ उन्मुख छ । बिहीबार धरान उपमहानगरको गेट अगाडि धर्ना दिन भेला भएका स्थानीयवासी, धरानका १० राजनीतिक दलसहित विद्यार्थीहरूले गेट तोडफोडको समेत प्रयास गरेका थिए । शुक्रबार पनि आन्दोलन जारी छ ।
आक्रोशित स्थानीय उपभोक्ताहरू जुत्ताको माला बनाएर ‘मेयर साम्पाङलाई लगाउने’ नगरपालिका कार्यालय बाहिर प्रदर्शनमा छन् ।
बिहीबार नगरपालिकाको गेट तोडफोडको प्रयास गर्दा केही विद्यार्थी र प्रहरीहरू घाइतेसमेत भएका थिए । गेट तोडफोड गर्ने विद्यार्थीहरूमाथि प्रहरीले लाठी चार्ज गरेको थियो । लाठी चार्जपछि भने घटनाले थप उग्ररूप लिएको थियो ।
प्रदर्शन नरोकिएपछि मेयर साम्पाङले छोटो सम्बोधन गर्दै साउन २७ गते आइतबार ११ बजे आन्दोलित पक्षहरूलाई वार्ताका लागि बोलाएका छन् । तैपनि आन्दोलन रोकिएको छैन ।
बिहीबार नै धरानका केही युवाहरूले खानेपानीको बिल काउन्टरमा तालाबन्दी गरेका छन् । धरान ११, १५ र १६ नम्बर वडाको खानेपानीको बिल काउन्टरमा तालाबन्दी गरिएको छ ।
आन्दोलनको बिउ- हर्क साम्पाङ
धरान खानेपानी व्यवस्थापन बोर्डका अध्यक्ष भनेर दाबी गर्ने मेयर साम्पाङले एकलौटी रूपमा चालू आर्थिक वर्षबाट लागू हुने गरी खानेपानी महसुल वृद्धि गरेका थिए ।
खानेपानी व्यवस्थापन बोर्डको बैठकसमेत नबसिकन मेयरले नै एकलौटी निर्णयमा साउन १ गतेदेखि लागू हुने गरी ११ प्रतिशतदेखि ९ हजार ९ सय प्रतिशतसम्म खानेपानीको महसुल वृद्धि गरेका थिए । महसुल वृद्धिविरुद्ध राजनीतिक दलहरूले सुरुमा ७२ घण्टे अल्टिमेटम दिए पनि मेयर साम्पाङले बेवास्ता गरे ।
धरानमा २०७४ सालमा कायम भएको खानेपानीअन्तर्गतका विभिन्न शुल्क र हाल कायम भएको नयाँ शुल्कमा ४० रुपैयाँदेखि ७५ हजार रुपैयाँसम्म वृद्धि गरेको पाइएपछि विरोध जनाउन बाध्य भएको दलका प्रतिनिधिहरूले बताउँदै आएका छन् ।
महसुल वृद्धिअनुसार नयाँ धारा जडानमा पाँच हजार रुपैयाँदेखि ७५ हजार रुपैयाँसम्म वृद्धि गरिएको छ । हाफ इन्चको पाइपमा नयाँ धारा जडान गर्दा १५ हजार रुपैयाँ रहेकोमा हाल आएर २० हजार रुपैयाँ वृद्धि गरिएको पाइएको छ ।
खानेपानी व्यवस्थापन बोर्ड ऐन २०६३ अनुसार व्यवस्थापन बोर्डमा ७ जना सदस्य हुने भए पनि नगर प्रमुख साम्पाङले एकलौटी निर्णय गरेको आरोपसमेत लाग्दै आएको छ ।
Facebook Comment
Comment