हसिनाको अन्तिम गन्तव्य कहाँ ?

नेपालभ्युज

हसिनाको अन्तिम गन्तव्य कहाँ ?

काठमाडौं । बङ्गलादेशबाट शेख हसिनाको पलायनपछि अब उनको अन्तिम गन्तव्य कहाँ हुनेछ ? भन्ने अझै अस्पष्ट छ । भारतीय विदेश मन्त्री एस. जयशंकरले स्पष्ट रुपमै भारत हसिनाको अन्तिम गन्तव्य होइन भनेर भनिसकेका छन् ।

यसअघि हसिनाले निकै छोटो सूचनामा भारत भ्रमण गर्न अनुमति मागेकी थिइन् ।

तर, हसिनाका छोरा सजीव वाजिदले आफ्नी आमाले कुनै पनि देशसँग राजनीतिक शरण नमागेको दाबी गरेका छन् । यससँगै हसिनाको आगामी गन्तव्य कहाँ होला ? बेलायत, अमेरिका वा कुनै पश्चिमी देशले उनलाई राजनीतिक शरण देलान् ? भन्ने प्रश्नहरू उठिरहेका छन् ।

सम्बन्धित देशहरूले यो विषयलाई कसरी हेर्छन् भन्नेमा धेरै कुरा भर पर्ने पर्यवेक्षकहरू बताउँछन् ।

पश्चिममा शरण पाउन मुश्किल

हसिनाले पश्चिमी देशहरूमा राजनीतिक शरण पाउन गाह्रो भएको अन्तर्राष्ट्रिय सङ्कट समूहका अनुसन्धानकर्ता टम किनले भनेका छन् । उनले त्यहाँ शरण नै नपाउने सम्भावना भएको पनि उनी बताउँछन् ।

पछिल्लो केही दिनदेखि समाचारमा हसिनाले प्रहरी र सेनालाई अन्तिम क्षणसम्म थप बल प्रयोग गर्न निर्देशन दिँदै आएको सुन्नमा आएको थियो ।

बल प्रयोग गर्दा पनि सरकार विरोधी प्रदर्शन दबेन । हसिनालाई कुनै पनि पश्चिमी देशमा राजनीतिक शरण पाउन निकै गाह्रो हुने वासिङ्टनस्थित अनुसन्धान संस्थान विल्सन सेन्टरका दक्षिण एसियाली संस्थानका निर्देशक माइकल कुगलम्यानले बताए ।

हसिनाको शासनकालमा विशेषगरी अन्तिम केही दिनमा भएका घटनाहरूप्रति पश्चिमी देशहरू स्तब्ध रहेको उनी बताउँछन् ।

‘शान्तिपूर्ण विरोध प्रदर्शनमा जसरी बल प्रयोग भयो र हसिना सरकारले जुन तवरले दमन र उत्पीडनको बाटो अपनायो त्यसमाथि पश्चिमी देशहरूले कडा आपत्ति जनाएका थिए । हसिनाका लागि यो निकै चिन्ताको विषय हो । विद्यार्थीहरूको आन्दोलनमा जुन तरिकाले बल प्रयोग भयो त्यसको विरूद्ध कयौँ अन्तर्राष्ट्रिय मानव अधिकार संगठन र संयुक्त राष्ट्र संघको मानवअधिकार परिषदले पनि आवाज उठाएका थिए । तर शेख हसिनालाई बल प्रयोग गर्नबाट रोक्न उनीहरू असफल भए ।’ कुगेलम्यान भन्छन् ।

आफू सत्तामा बसिरहन हसिनाले हेरै भन्दा धेरै मानिसलाई मार्न चाहेको इन्टरनेशनल क्राइसिस ग्रूपका टम किन भन्छन् । अन्तर्राष्ट्रिय फौजदारी अदालतले बङ्गलादेशको हालतको घटनाहरूबारे छानबिन गर्यो र यसमाथि कुनै मुद्दा चलाइयो भने नयाँ अवस्था सिर्जना हुने टमको भनाई छ ।

यस्तो अवस्थामा हसिना बेलायत नै बसिन् भने पनि उनी सुरक्षित रहन नसक्ने उनी बताउँछन् । विगतमा तानाशाहहरूले युरोप र अमेरिकामा राजनीतिक शरण लिएका यस्ता कयौँ उदाहरण छन् । साउदी अरबले पनि मुस्लिम बाहुल्य देशका अपदस्थ तानाशाहलाई आश्रय दिएको थियो ।

हसिनाको हकमा पश्चिमाको रवैया अपवाद होला ?

यस्ता घटना शीतयुद्धपछि भएको पर्यवेक्षकहरू बताउँछन् । कयौँ अवस्थामा विभिन्न देशले तानाशाहहरूलाई आश्रय दिएका छन् । आफ्नो पतनपछि युरोप वा अमेरिकामा राजनीतिक शरण प्राप्त गर्नेहरू पनि छन् ।

‘बङ्गलादेशमा भएका घटना सबैले देखेका छन् । सामाजिक सञ्जालमा त्यहाँका कयौँ भिडियो र तस्बिरहरू देखिएका थिए । २०–३० वर्षअघि यी घटनाहरू यति छिटो फैलिदैंनथे । बङ्गलादेशमा सरकारविरोधी प्रदर्शनमा जुन स्तरमा रक्तपात भयो र शेख हसिनाप्रति जस्तो धारणा बन्यो ती सबै निकै नकारात्मक थिए । शीतयुद्धको अन्त्यपछि युरोप र अमेरिकाले आफ्ना मित्रलाई आश्रय दिएका छन् । तर, हसिनाप्रति उनीहरूको कुनै जिम्मेदारी छ जस्तो मलाई लाग्दैन ।’ टम भन्छन् ।

विगतमा कयौं पटक उनी पश्चिमी देशहरूको मनपर्ने व्यक्तिको सूचीमा थिइन् । तर, उनले कहिल्यै मित्रको हैसियत पाउन÷बनाउन सकिनन् भनेर टम भन्छन् । यसबाहेक बङ्गलादेशका धेरै मानिस युरोप र अमेरिकामा बस्छन् । तीमध्ये अधिकांशले विद्यार्थीको आन्दोलनलाई समर्थन त गरे नै हसिनाविरूद्ध मुद्दा चलाउने माग पनि उठाएका थिए ।

युरोप र अमेरिकामा बसोबास गर्ने बङ्गलादेशीहरूमा केहीले ती देशको नीति निर्माण तहमा यो मुद्दा उठाउन सकेछन् र यस कारण पश्चिमा देशका सरकारहरूले शेख हसिनालाई शरण दिने विषयमा पक्कै पनि सोच्ने टम भन्छन् ।

कहाँ जान्छन् तानाशाह ?

तानाशाहको हातबाट सत्ता खोसिनु उनीहरूका लागि निकै खतरनाक हुन्छ । सत्ताच्यूत भएपछि उनीहरू जेल जाने वा ज्यानै जाने खतरा पनि हुन्छ । धेरैजसो तानाशाहले सत्ता गुमाएपछि देशै छोड्नुको कारण यही हो ।

आम जनताको असन्तुष्टि र क्रोधबाट जोगिन उनीहरूसामु विदेश पलायन हुनुको विकल्प हुन्न । क्रान्ति, जनआन्दोलन, सैनिक विद्रोह र गृहयुद्ध आदिका कारण सत्ता गुम्ने खतरा उत्पन्न भएको स्थितिमा तानाशाहहरू देश बाहिर सुरक्षित आश्रय खोज्न थालिहाल्छन् ।

स्पेनको युनिभर्सिटी अफ बार्सिलोनाका राजनीतिशास्त्रका प्राध्यापक अब्देल एस्क्राबा फोच र संयुक्त राज्य अमेरिकाको नर्थवेस्टर्न युनिभर्सिटीका राजनीतिशास्त्रका प्राध्यापक ड्यानियल क्रामारिकले तानाशाहहरूको गन्तव्यबारे अनुसन्धान गरेका थिए ।

दोस्रो विश्वयुद्धपछि तानाशाहका लागि देश छाड्नु प्राथमिकताको सूचीमा दोस्रो स्थानमा रहेको देखिएको छ । दोस्रो विश्वयुद्धपछि सत्ता छोड्न बाध्य भएका २० प्रतिशत तानाशाह निर्वासनमा गएका थिए । तानाशाहहरूको निर्वासनले प्रायः द्वन्द्व अन्त्य गर्न महत्त्वपूर्ण भूमिका खेलेको देखिन्छ ।

तीन उदाहरण

सन् १९७९ मा युगाण्डाका विद्रोही र तान्जानियाली सेना युगाण्डाको राजधानी कम्पालातर्फ अघि बढिरहेका बेला युगाण्डाका तानाशाह इदी अमिन भागेर लिबिया गए । पछि उनले साउदी अरबमा शरण लिए ।

सन् १९८६ मा फिलिपिन्सका तानाशाह मार्कोस फर्डिनान्डले आम विद्रोहपछि अमेरिकाको सहयोगमा भागेर हवाईमा शरण लिएका थिए । जनविद्रोहमा सत्ता गुमाएपछि हाइटीको तानाशाह जीन क्लाउड डुवालियरले फ्रान्समा शरण लिए ।

यी तीन ओटा घटनामा निर्वाचनमार्फत शान्तिपूर्ण रूपमा सत्ता परिवर्तन भएको थियो । तानाशाहरूले निर्वाचनमा भाग लिने मौका नपाएको भए अवस्था अर्कै पनि हुन सक्थ्यो । सन् २०११ मा मध्यपूर्व र उत्तर अफ्रिकी देशहरूमा सार्वजनिक विद्रोह सुरु भयो । यसलाई अरब विद्रोह भनिन्छ । ती देशमा सत्तामा रहेको सरकार बिना चुनाव दशकौंसम्म सत्तामा रहेका थिए ।

तानाशाहले भोग्नुपरेको थियो दुर्दिन

अरब विद्रोहको पहिलो शिकार ट्युनिसियाका शासक बेन अली बने । २३ वर्ष सत्तामा रहेपछि जनताको विद्रोहका कारण उनी सत्ता छोडेर साउदी अरब गए । पछि उनको त्यहीँ मृत्यु भयो ।

इजिप्टका राष्ट्रपति होस्नी मुबारकले पनि अरब विद्रोहको परिणति भोग्नु पर्यो । उनी झण्डै तीन दशक सत्तामा थिए । तर, १८ दिनको विद्रोहपछि सत्ता त्याग्न उनी बाध्य भए । त्यसबेला मुबारकले सेनालाई सत्ता हस्तान्तरण गरेका थिए । तर, उनले सत्ता छोडेर देशबाट भाग्ने मौका पाएनन् । सन् २०१२ मा पक्राउ गरेर उनलाई आजीवन कारावासको सजाय सुनाइयो ।

छ महिना पछि यो सजाय रद्द गरियो र उनको मुद्दामा पुनर्विचारको आदेश दिइयो । उनलाई कायरोको सैन्य अस्पतालमा कैद गरेर राखिएको थियो । सन् २०१७ मा इजिप्टको सर्वोच्च अदालतले उनलाई आरोपबाट सफाई दियो र जेलबाट रिहा गर्न आदेश दियो । त्यसपछि उनको ९१ वर्षको उमेरमा निधन भयो ।

लिबियाका तानाशाह गद्दाफीले अन्त्य निकै नराम्रोसँग भयो । अरब विद्रोहको पृष्ठभूमिमा लिबियामा पनि विरोध प्रदर्शन सुरु भयो । तर गद्दाफीले अत्यधिक बल प्रयोग गरेर यो प्रदर्शनलाई दबाउन खोजे र देशमा गृहयुद्ध सुरु भयो ।

सत्ताबाट हटाइएपछि ४२ वर्षीय गद्दाफी भाग्न खोज्दै गर्दा विद्रोहीले उनलाई कुटेर मारेका थिए । त्यसबेला बेलायत र फ्रान्सले पनि गद्दाफीलाई सत्ताबाट हटाउन बल प्रयोग गरेका थिए ।

यसबाहेक इरानका मोहम्मद रेजा पहलवीलाई सन् १९७९ मा इस्लामिक क्रान्ति मार्फत सत्ताबाट हटाइयो । पश्चिमा देशसँग उनको सम्बन्ध राम्रो थियो । तर, सत्ता छोडेपछि पहलवीले इजिप्टमा निर्वासित जीवन बिताए । उनी विरूद्ध जनताको आक्रोश बढ्दै गएपछि पश्चिमा देशहरूले उनीबाट टाढिने विषयमा छलफल गरे ।

पाकिस्तानका पूर्व प्रधानमन्त्री नवाज शरीफको मामलामा पनि एउटा अकल्पनीय घटना घट्यो । सेनासँगको द्वन्द्वका कारण सरिफले सत्ता गुमाउनु पर्यो । उनलाई मृत्युदण्ड दिने तयारी गरिएको थियो ।

तर, तत्कालीन अमेरिकी राष्ट्रपति बिल क्लिन्टन र साउदी राजाको दबाबमा शरीफलाई साउदी अरब पठाउन सैन्य शासक परवेज मुशर्रफ बाध्य भए । –बीबीसी हिन्दीबाट


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved