काठमाडौं । दक्षिण अभिनेत्री सामन्था रुथ प्रभुका पूर्व पति नागा चैतन्यले अभिनेत्री शोभिता धुलिपालासँग इन्गेजमेन्ट गरेका छन् ।
भारतीय सञ्चारमाध्यमका अनुसार दुवैले नागा चैतन्यका पिता नागार्जुनको हैदराबादको पोश क्षेत्रमा जुबली हिल्समा निजी समारोहबीच इन्गेजमेन्ट गरेका हुन् ।
नागार्जुन आफैँले सामाजिक सञ्जालमा इन्गेजमेन्टको तस्वीर सेयर गरेर उनीहरुलाई आशीर्वाद दिएका छन् ।
उनले एक्समा लेखेका छन्, ‘छोरा नागा चैतन्यको शोभिता धुलिपालासँग इन्गेजमेन्ट भएको घोषणा गर्न पाउँदा म निकै खुसी छु । दुवैले बिहान ९ः४२ बजे इन्गेजमेन्ट गरेका हुन् । शोभितालाई परिवारमा स्वागत गर्दछौँ। दुवै जनालाई हार्दिक शुभकामना ।’
सामन्थासँग सम्बन्धविच्छेद गरेपछि नागा चैतन्यको नाम शोभितासँग जोडिएको थियो । दुवै अन्तर्राष्ट्रिय भ्रमणमा धेरै पटक सँगै समय बिताएको देखिएका थिए ।
यसबाहेक शोभिता आफ्नो फिल्म ‘मेजर’ को प्रमोशनका लागि बसेको होटलमा चैतन्यलाई धेरै पटक देखिएको थियो । यसपछि पनि नागा र शोभिता धेरै अवसरमा सँगै देखिएका छन् । त्यसयता दुवैले एकअर्कालाई डेट गर्दैछन् भन्ने अड्कलबाजी चलिरहेको थियो ।
सामन्था रुथ प्रभु र नागा चैतन्यले गोवामा ६ अक्टोबर, २०१७ मा पहिले हिन्दू र त्यसपछि ७ अक्टोबरमा इसाई परम्परा अनुसार विवाह गरेका थिए । विवाहपछि सामन्थाले आफ्नो नाम बदलेर अक्किनेनी राखेकी थिइन् ।
Facebook Comment
Comment