भारतको सहयोगमा निर्मित धुलिखेल अस्पतालको वार्ड भवन उद्घाटन

नेपालभ्युज

भारतको सहयोगमा निर्मित धुलिखेल अस्पतालको वार्ड भवन उद्घाटन

काठमाडौं । ‘नेपाल–भारत विकास सहकार्य’ अन्तर्गत भारत सरकारको आर्थिक सहयोगमा निर्माण गरिएको काभ्रेपलाञ्चोकको धुलिखेल नगरपालिकास्थित धुलिखेल अस्पतालको वार्ड भवनको उद्घाटन गरिएको छ ।

भारतीय राजदूतावास, काठमाडौंका प्रथम सचिव अविनाश कुमार सिंहले बुधबार उक्त भवनको उद्घाटन गरे । कार्यक्रममा धुलिखेल नगरपालिकाका मेयर, राजनीतिक प्रतिनिधि, सरकारी अधिकारी, अस्पताल व्यवस्थापनका प्रतिनिधि तथा समाजसेवीहरुको उपस्थिति थियो । भवन निर्माणको कुल लागत चार करोड २६ लाख रहेको दूतावासले जनाएको छ ।

भारत सरकारको अनुदान सहयोग अस्पताललाई आवश्यक पर्ने अन्य सुविधासँगै वार्ड भवनको निर्माणमा उपयोग गरिएको दूतावासले बताएको छ । दूतावासले भारत सरकार र नेपाल सरकारबीच भएको सम्झौता अन्तर्गत यस परियोजनालाई उच्च प्रभाव सामुदायिक विकास परियोजनाको रुपमा अघि बढाइएको जनाएको छ । थियो । यस परियोजनाको कार्यान्वयन धुलिखेल नगरपालिका, काभ्रेपलाञ्चोकमार्फत गरिएको थियो । यो परियोजनालाई भारत र नेपालबीचको बलियो विकास साझेदारीको एउटा महत्वपूर्ण उदाहरण मानिएको दूतावासद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।

उद्घाटन कार्यक्रममा धुलिखेल नगरपालिकाका मेयर, राजनीतिक प्रतिनिधि, धुलिखेल अस्पतालका कार्यकारी निर्देशक तथा प्रशासनिक निर्देशकले नेपालका जनताको उत्थानका लागि प्राथमिकताका क्षेत्रमा भारत सरकारले पुऱ्याउँदै आएको निरन्तर विकास सहयोगको प्रशंसा गरे ।

नवनिर्मित वार्ड भवनले नेपाली जनतालाई स्वास्थ्य सेवामा गुणस्तरीय पूर्वाधार र राम्रो वातावरण उपलब्ध गराउन मद्दत गर्ने दूतावासले विश्वास लिएको बताएको छ ।

दूतावासले सन् २००३ यता भारत सरकारले नेपालका विभिन्न क्षेत्रमा ५५१ वटा भन्दा बढी उच्च प्रभाव सामुदायिक विकास परियोजना अघि बढाएको छ र ४९० वटा परियोजना सम्पन्न गरेको जनाएको छ । यी मध्ये काभ्रेपलाञ्चोक जिल्लाका ७ वटा परियोजनासहित बागमती प्रदेशको विभिन्न क्षेत्रमा १०६ वटा परियोजनाहरु रहेका छन् ।

यसका साथै भारत सरकारले नेपालका विभिन्न अस्पताल, स्वास्थ्य चौकी र शैक्षिक संस्थालाई १००९ वटा एम्बुलेन्स र ३०० वटा स्कुल बस उपहारस्वरुप प्रदान गरिसकेको छ । त्यसमध्ये काभ्रेपलाञ्चोक जिल्लालाई प्रदान गरिएको ८ वटा स्कुल बस र १६ वटा एम्बुलेन्ससहित बागमती प्रदेशलाई २३६ वटा एम्बुलेन्स र ९८ वटा स्कुल बस उपहारस्वरुप प्रदान गरिएको छ जसमा भारत सरकारले सन् २०२१ जनवरीमा यस अस्पतालका लागि एउटा एम्बुलेन्स (एड्भान्स लाइफ सपोर्ट) उपहारस्वरुप प्रदान गरेको थियो । यस एम्बुलेन्सले स्वास्थोपचारमा पहिलो सेवा दिदै आकस्मिक स्वास्थ्य सेवाको लागि महत्वपूर्ण योगदान पुऱ्याइरहेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

नजिकको छिमेकी भएको नाताले भारत र नेपालबीच व्यापक र बहुक्षेत्रीय सहकार्य रहेको जनाइएको छ । उच्च प्रभाव सामुदायिक विकास परियोजनाको कार्यान्वयनले नेपाली जनताको समुन्नतिका लागि र प्राथमिकताका क्षेत्रमा पूर्वाधारको विस्तारका लागि नेपाल सरकारले चालेका प्रयासमा भारत सरकार सदैव हातेमालो गर्न तयार रहेको कुरालाई प्रतिबिम्बित गर्ने बताइएको छ ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved