बिमस्टेक सम्मेलनका क्रममा ओली-मोदी साइडलाइन वार्ता हुने, भ्रमणको गृहकार्य सुरु

नेपालभ्युज

बिमस्टेक सम्मेलनका क्रममा ओली-मोदी साइडलाइन वार्ता हुने, भ्रमणको गृहकार्य सुरु

काठमाडौं । थाइल्याण्डको बैंककमा हुने बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिमस्टेक) को छैटौँ शिखर सम्मेलनमा प्रधानमन्त्री केपी शर्मा ओली सहभागी हुँदैछन् ।

भदौ १८ र १९ मा हुने सम्मेलनमा प्रधानमन्त्रीको भ्रमण तथा नेपालका तर्फबाट प्रस्तुत हुने एजेण्डाबारेमा परराष्ट्र मन्त्रालयले तयारी अघि बढाएको छ । भ्रमणका क्रममा ओलीले बैंककमा भारतका प्रधानमन्त्री नरेन्द्र मोदीसँग साइडलाइन वार्ता गर्ने परराष्ट्र स्रोतले जनाएको छ  ।

साथै बंगलादेशकी प्रधानमन्त्री शेख हसिना र अन्य मुलुकका सरकार र राष्ट्र प्रमुखसँग पनि साइडलाइन वार्ताको गृहकार्य भइरहेको परराष्ट्र मन्त्रालयका अधिकारीहरुले बताएका छन् ।

परराष्ट्रका एक उच्च अधिकारीले भने, ‘‘सम्मेलनमा सरकार प्रमुख वा राष्ट्र प्रमुखले भदौ १९ मा सम्बोधन गर्ने तालिका छ । कार्यक्रम लगत्तै केही समय साइडलाइन भेटवार्ता गराउने विषयमा गृहकार्य भइरहेको छ ।’’

चौथो पटक प्रधानमन्त्री बनेका ओलीको विदेश यात्रा थाइल्याण्डबाट सुरु हुन लागेको हो । ओलीले यस पटक छिमेकी मुलुकभन्दा पनि बहुपक्षीय फोरमबाट आफ्नो विदेश यात्रा थाल्न लागेका छन् ।

ओलीले पहिलो र दोस्रो पटक प्रधानमन्त्री हुँदा भारतबाटै विदेश यात्रा थालेका थिए  । २०७८ मा तेस्रो पटक प्रधानमन्त्री भएका बेला भने उनले कुनै मुलुकको भ्रमण गरेनन् । उनी त्यतिबेला तीन महिना मात्र प्रधानमन्त्री भएका थिए ।

सन् १९९७ मा स्थापना भएको बिमस्टेकमा नेपाल सन् २००४ मा सदस्य बनेको थियो । बिमस्टेकमा नेपालसहित बंगलादेश, भुटान, भारत, म्यानमार, श्रीलंका र थाइल्यान्ड सदस्य छन् ।

सार्कमा रहेका मुलुकहरू पाकिस्तान, अफगानिस्तान र मालदिभ्स यसमा सामेल छैनन् । बिमस्टेकले स्थापनाको २६ वर्षमा सन् २०२२ मा बडापत्र (चार्टर) ल्याएको थियो ।

सम्मेलनको एजेन्डा

यसअघि २०७५ भदौमा ९ सन् २०१८० काठमाडौंमा भएको बिमस्टेकको चौथो शिखर सम्मेलनमा १८ बुँदे घोषणापत्र जारी भएको थियो । तीन विषयमा हस्ताक्षर भएको थियो ।

आपराधिक मामिलामा पारस्परिक कानुनी सहयोगसम्बन्धी महासन्धि, बिमस्टेक प्रविधि हस्तान्तरण सुविधा स्थापनासम्बन्धी समझदारीपत्र तथा बिमस्टेक सदस्य मुलुकका कूटनीतिक प्राज्ञिक-तालिमसँग सम्बन्धित निकायहरूबीच आपसी सहकार्यसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको थियो ।

पाँचौँ शिखर सम्मेलन २०७८ मा ९सन् २०२२० श्रीलंकामा भएको थियो । तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवा सहभागी भएका थिए । सम्मेलनमा यातायात कनेक्टिभिटीका लागि बिमस्टेकको गुरुयोजना, बिमस्टेकका विभिन्न क्षेत्र र उपक्षेत्रहरूको पहिचान र बिमस्टेक केन्द्रहरूको स्थापनासम्बन्धी हस्ताक्षर भएको छ ।

अहिलेको छैटौँ शिखर सम्मेलनमा अन्तर्राष्ट्रिय आतंकवाद, सीमापार अपराध, सङ्गठित अपराध, प्राकृतिक प्रकोप, जलवायु परिवर्तन तथा सरुवा रोग नियन्त्रणका लागि सहकार्यलगायका विषय एजेन्डा रहेको परराष्ट्र मन्त्रालय स्रोतले जनाएको छ ।

बिमस्टेकका सदस्य मुलुकबीच ऊर्जा, ग्रिड कनेक्टिभिटी, जलवायु परिवर्तन, स्वास्थ्य तथा खाद्य सुरक्षा, प्रविधिलगायतमा सहकार्य गर्ने सहमति यसअघि पनि हुँदै आएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved