नेपालमा पहिलो पटक एभिएसन म्यानेजमेन्टको ब्याचलर तहको पढाई सुरू गरिँदै

नेपालभ्युज

नेपालमा पहिलो पटक एभिएसन म्यानेजमेन्टको ब्याचलर तहको पढाई सुरू गरिँदै

काठमाडौं । नेपालमै पहिलो पटक ‘उड्डयन व्यवस्थापन’ (एभिएसन म्यानेजमेन्ट) विषयमा स्नातक तहको पढाइ हुने भएको छ ।

काभ्रेको धुलिखेलस्थित काठमाडौँ विश्वविद्यालय (केयु) स्कुल अफ म्यानेजमेन्टअन्तर्गत सिम्रिक भेञ्चर र सिद्धार्थ वनस्थली विद्यालयको साझेदारीमा पहिलोपटक एभिएसन विषयमा शिक्षण हुने भएको हो ।

स्नातक तहको यस विषयमा यो वर्ष ३३ जना विद्यार्थी भर्ना गराइने तयारी छ ।

भेञ्चरका अध्यक्ष रामेश्वर थापाका अनुसार चार वर्षे उक्त तहमा उड्डयन सञ्चालन, एयरलाइन्स र एयरपोर्टलाई प्रभावकारी रूपमा व्यवस्थापन गर्ने ज्ञान र सीप प्रदान गरिने छ ।

“चार वर्षे स्नातक कार्यक्रम सञ्चालनपछि यस विषयमा अध्ययन गर्न विदेश जानुपर्ने बाध्यता हट्नेछ”, उनले भने । चार वर्षे स्नातक कार्यक्रममा उड्डयन कानुन तथा नियम, उड्डयन सुरक्षा, एयरपोर्ट योजना तथा व्यवस्थापन, उड्डयन मार्केटिङ, एयरलाइन अपरेसन, उड्डयन र अर्थशास्त्र, पर्यटकीय महत्त्व र मानव संसाधन व्यवस्थापनसहितका पाठ्यक्रम समावेश हुने छन् ।

जटिल परिस्थितिलाई कसरी व्यवस्थापन गर्ने तथा दबाबमा काम गर्ने तरिका र विभिन्न सरोकारवाला पक्षसँग प्रभावकारी रूपमा संवाद गर्ने विषयमा शिक्षण गराइनेछ ।

केयुका उपकुलपति डा भोला थापाले समयको मागअनुसार आफ्नो विस्तारित कार्यक्रमअन्तर्गत दक्ष जनशक्ति उत्पादन गर्न एभिएसन म्यानेजमेन्ट विषयमा स्नातक तहको शिक्षण सुरु गर्न लागिएको बताए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved