काठमाडौं। काभा बिच भलिबल च्याम्पियनसिपको उपाधि जितेको नेपाली महिला टोली र उपविजेता बनेको पुरुष टोली नेपाल फर्किएका छन्।
आइतबार विजयी टोलीलाई नेपाल भलिबल संघका पदाधिकारीहरुले त्रिभुवन विमानस्थलमा स्वागत गरेका हुन्। शनिबार भुटानको थिम्पुमा भएको प्रतियोगिताको फाइनलमा कमला पुन र मनिषा चौधरीले उज्बेकिस्तानलाई २–० को सोझो सेटमा पराजित गरेको थियो।
नेपालले उज्वेकिस्तानलाई पहिलो सेटमा २१–१७ र दोस्रो सेटमा २१–१७ ले पराजित गरेको थियो। काभा बिच भलिबलमा नेपाली महिला जोडीको यो पहिलो उपाधि पनि हो।
यस्तै, पुरुषतर्फको फाइनलमा दिलबहादर सुनार र मानबहादुर श्रेष्ठको जोडी माल्दिभ्ससँग २–० ले पराजित भयो। मानबहादुर र दिलबहादुरको जोडी माल्दिभ्ससँग पहिलो सेटमा १९–२१ र दोस्रो सेटमा १७–२१ ले पराजित भएको थियो।
प्रतियोगितामा पुरुषमा १० टोली र महिलामा ७ टोलीको सहभागिता रहेको थियो। अन्य देशका दुई टोलीहरुले प्रतिस्पर्धा गरेका थिए।
Facebook Comment
Comment