काठमाडौं । कर्जाको माग नभएपछि नेपालका बैंकमा पैसा थुप्रिएको छ । अधिक तरलता बढेर बैंकिङ क्षेत्रमा अहिले ७ खर्ब भन्दा बढी लगानी योग्य रकम थुप्रिएको हो ।
निक्षेप बढे अनुसार कर्जाको माग नहुँदा बैंकमा तरलता बढ्दै गएको हो ।
अघिल्लो वर्ष तरलताको संकट झेलेका बैंकमा अहिले भने तरलता बढ्दा पनि कर्जा माग नहुदा बैंकिङ क्षेत्रमा तनाब चुलिएको छ । पछिल्लो समय व्याजदर घट्दै जाँदा पनि कर्जा माग बढ्न नसक्दा चिन्ता थपिएको हो ।
अधिक तरलताको समस्या लामो समयसम्म चल्दा सिंगो अर्थतन्त्रमा बहुआयामिक असर पर्ने विज्ञहरु चेतावनी दिएका छन् ।
बैंकिङ प्रणालीमा निक्षेप बढे अनुसार कर्जा माग नहुँदा तरलता थुप्रिरहेको छ । लामो समयदेखि आर्थिक गतिविधिमा संकुचन र पर्याप्त रकम माग हुन नसकेका कारण कर्जा प्रवाहको वृद्धिदर सोचेजस्तो नहुँदा आर्थिक स्थायित्वमा समस्या हुन सक्ने अर्थविद्को भनाई छ ।
लगानी कर्ताले पनि लगानीको वातावरण नभएको भन्दै कर्जा लिन डराइरहेका छन् ।
अधिक तरलताले उद्योग कलकारखाना, कृषि क्षेत्र, घरजग्गा कारोबार लगायत माग क्षेत्र शिथिल भएको छ ।
व्याजदर घट्दै गएको अवस्था उत्पादनशील क्षेत्रमा लगानी विस्तार गर्ने अवसर हुँदा पनि सरकारले लगानीकर्तालाई आश्वस्त पार्न सकेको छैन ।
यद्यपी अधिक तरलता लामो समयसम्म नरहने भन्दै राष्ट्रबैंकले विस्तारै कर्जा विस्तार हुने दाबी गरेको छ ।
राष्ट्र बैंकले भर्खरै जारी गरेको मौद्रिक नीतिमा पनि कर्जा विस्तारको लक्ष्य बढाएको छ । सरकारले लगानीयोग्य वातावरण बनाएर तरलताको उपयोग हुने अवस्था सिर्जना गर्न सके अर्थतन्त्र चलायमान बनाउन सकिनेमा अर्थविद्ले सुझाव दिएका छन् ।
Facebook Comment
Comment