एमाले फर्किएर मुकुन्द न्यौपानेले भने- ०८४ को चुनावमा एकीकृत समाजवादी शून्य हुन्छ

'माधव नेपाल गल्ती भयो भन्दै एमालेमै फर्किनुपर्छ'

दशौं राष्ट्रिय महाधिवेशनबाट जनताको बहुदलीय जनवाद (जबज) त्यागेर समाजवाद रोजेको एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनाल र महासचिव घनश्याम भुसाल मुख्यगरी समाजवादका पक्षपाती हुन् ।

नेपालभ्युज

एमाले फर्किएर मुकुन्द न्यौपानेले भने- ०८४ को चुनावमा एकीकृत समाजवादी शून्य हुन्छ

काठमाडौं । नेकपा (एमाले) को स्थायी समिति सदस्य मनोनीत भएका मुकुन्द न्यौपाने पुराना कम्युनिष्ट नेता हुन् । २०२६ सालतिर सुस्ता, महेशपुर, कालापानीलगायतका नेपाली भूमिमा भारतीय बम अतिक्रमविरुद्ध राष्ट्रियताको आवाज उठाउँदै सक्रिय राजनीतिमा लागेका न्यौपाने पछिल्लो केही वर्षयता भने सक्रिय राजनीतिभन्दा अलिक परै छन् ।

लामो समय एमालेमै रहेर सक्रिय राजनीति गरेका न्यौपाने २०७८ भदौमा माधव नेपालले पार्टी विभाजन गरेर नेकपा (एकीकृत समाजवादी) गठन गर्दा त्यतै लागेका थिए । तर, उनी त्यहाँ लामो समयसम्म रहन सकेनन् ।

एकीकृत समाजवादीले उनलाई वरिष्ठ नेता भनेर तेस्रो नम्बरको वरीयतामा राखेको थियो । तर, पार्टी निर्माणको झन्डै डेढ वर्षपछि २०७९ चैत २५ गते उनले पार्टी परित्याग गरे । त्यसअघि पार्टीले उनलाई स्पष्टीकरण सोधेको थियो ।

पार्टीको हितविपरीत अभिव्यक्ति दिएको, पार्टी नेतृत्व तथा नेताहरूबारे अनावश्यक टिप्पणी गरेको, फेसबूकमा मनपरी लेखेकोलगायतका आरोप लगाउँदै पार्टीले स्पष्टीकरण सोधेपछि उनले साधारण सदस्यसमेत नरहनेगरी पार्टी परित्याग गरे ।

यसपछि लेख-पढमै रमाइरहेका न्यौपानेलाई बिहीबार बसेको सचिवालय बैठकले स्थायी समिति सदस्यमा मनोनीत गरेको छ । आफूलाई बढी लेख-पढमै रुचि भएपनि अब पार्टीको काममा पनि सक्रिय हुने उनको भनाइ छ ।

“मलाई सक्रिय राजनीतिभन्दा पनि अब बढी लेख-पढमै रुचि छ । तर, पार्टीले जिम्मेवारी दिइसकेपछि त्यता पनि लाग्नैपर्‍यो होला,” न्यौपानेले नेपालभ्युजसँग भने ।

पार्टीबिनाको वरीयताको कुनै अर्थ नभएको सुनाउँछन् उनी । “एकीकृत समाजवादीमा मेरो अवस्था त्यस्तै थियो । मलाई तेस्रो वरीयतामा राखियो तर, के गर्नु पार्टी छैन । पार्टी गठन हुनेबित्तिकैदेखि साथीहरू पुन: एमालेमै फर्किन थाल्छन्, अनि के गर्ने ?” उनले भने ।

एकीकृत समाजवादी परित्याग गर्दैगर्दा उनले एक लाइनमा टिप्पणी गरेका थिए- ‘पार्टीले परिचय दियो, पहिचान दिएन ।’ अहिले पनि पार्टीको अवस्था त्यस्तै रहेको टिप्पणी उनको छ । “पार्टी छ भन्ने थाहा छ तर, कस्तो र कत्रो छ भन्ने कुरा खासै ज्ञात छैन । पार्टीको अवस्था त्यस्तो छ,” उनले भने ।

त्यसैले अब माधव नेपालले एकीकृत समाजवादी एमालेमा मिसाउनुपर्ने न्यौपानेको भनाइ छ । यदि त्यसो नगरे अर्को निर्वाचनमा एकीकृत समाजवादी शून्य सिटमा झर्ने प्रक्षेपण उनको छ । “आउँदो निर्वाचनमा एकीकृत समाजवादी शून्यमा झर्छ त्यसो नगरे,” उनले भने ।

२०५४ सालमा पार्टीबाट फुटेर गएका वामदेव गौतले लाखौं खर्च गर्दा पनि एक सिटसमेत नजितेको दृष्टान्त झिक्दै उनी भन्छन्, “वामदेव त पछि पार्टीमै फर्किए, अब माधव नेपाल पनि फर्किनुपर्छ । हिजो गल्ती भयो, फुट्नुहुँदैनथ्यो । फुटिहालेँ, अब फेरि एक हौँ भन्दै माधव नेपाल पुन: एमालेमै फर्किनुपर्छ । र, सम्भवत: त्यसैगरी फर्किन्छन् पनि होला ।”

नेपालका कम्युनिष्ट पार्टीहरू प्रकारान्तरले एक हुनैपर्ने उनी बताउँछन् । ‘एक देश, एक कम्युनिष्ट पार्टी’ अभियान चलाएर देशका सबै कम्युनिष्ट पार्टीहरू एक हुनुपर्ने उनको भनाइ छ । “यहाँ १२ वटा कम्युनिष्ट पार्टीको आवश्यकता नै छैन,” उनले भने ।

यसपछि मात्रै कम्युनिष्ट पार्टीहरूले समाजवादको कुरा गर्दा सुहाउने न्यौपानेको भनाइ छ ।

त्यसो त एकीकृत समाजवादीले मूलत: समाजवादकै मुद्दा उठाइरहेको छ । दशौं राष्ट्रिय महाधिवेशनबाट जनताको बहुदलीय जनवाद (जबज) त्यागेर समाजवाद रोजेको एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनाल र महासचिव घनश्याम भुसाल मुख्यगरी समाजवादका पक्षपाती हुन् ।

यसतर्फ इङ्गित गर्दै न्यौपानेले भने, “पहिले एक हुने अनि मात्रै समाजवादको भाषण गरौँला । यदि त्यसो नगर्ने हो भने समाजवादको भाषण चुटेर मात्रै केही हुँदैन ।”


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved