अमेरिकी सपना ८० लाखमा किनेका दीपकको टेक्ससमा हत्या, परिवारले कसरी चुकाउलान् ऋणको भारी ?

परिवारलाई गरिबीबाट मुक्त गर्ने सपना बोकेर अवैध मार्गबाट अमेरिका गए । १८ महिनाको कष्टपूर्ण यात्रापछि अमेरिका पुगे । तर, एक वर्षमै जीवन र सपना दुवै समाप्त भयो । २६ वर्षीया श्रीमती विधवा बनिन्, ५ वर्षीया छोरी टुहुरो । ८० लाखको ऋणमा डुबेको परिवार र दीपकको संघर्ष र अन्त्यको पहेली ।

नेपालभ्युज

अमेरिकी सपना ८० लाखमा किनेका दीपकको टेक्ससमा हत्या, परिवारले कसरी चुकाउलान् ऋणको भारी ?

पश्चिम रुकुमको दुर्गम बाँफिकोट गाउँपालिका, जहाँ अधिकांश घरका युवाहरू अमेरिका गएका छन्, अवैध बाटोबाट । कतिपय युवाहरू अरू देश पुगेपछि प्रत्येक घरका कोही न कोही अमेरिका पुगेका छन् । नगएकाहरू पनि ढिलो–चाँडो जाने तयारीमा छन् ।

बाँफिकोट-१० का २७ वर्षीय दीपक वली पनि बेरोजगार थिए । ब्याचलरसम्मको पढाइ सकेका उनको घरमा कसैको पनि गतिलो आम्दानीको स्रोत थिएन । घरमा ७ जनाको परिवार थियो ।

गरिबीको चपेटामा परेको परिवारको एउटै आशा थियो – दीपक । २७ वर्षीय दीपकले आफ्नो परिवारलाई गरिबीबाट मुक्त गराउने सपना देखेका थिए । त्यसैले उनले अमेरिका जाने निर्णय गरे ।

तर, अमेरिका जाने बाटो सजिलो थिएन । दीपकले ८० लाख रुपैयाँ ऋण लिए, मानव तस्करहरूलाई दिनको लागि । झन्डै करोड रुपैयाँ खर्च गरेका उनको यात्रा सुरक्षित थिएन । कष्टकर र खतरनाक थियो ।

२०७९ मंसिरमा उनी घरबाट बिदा भए । अमेरिका पठाउने गिरोहको सम्पर्कमा पुगेका दीपकले घर छाडे ।

०००

दीपकको यात्रा नेपालबाट दुबई हुँदै ब्राजिल, पेरु, इक्वेडर, कोलम्बिया, पानामा, कोस्टारिका, निकारागुवा, होन्डुरस, ग्वाटेमाला र मेक्सिको हुँदै अमेरिकासम्म पुग्यो । १८ महिनासम्म उनी विभिन्न देशहरू हुँदै हिँडे । कहिले जङ्गलमा लुकेर त कहिले ट्रकको तलपट्टि लुकेर ।

भोक र प्यासले सताए तर, उनले हिम्मत हारेनन् । यात्रा जारी राखे । यसरी झन्डै एक दर्जन देशको यात्रा गरेर अमेरिका पुग्न उनलाई करिब १८ महिना लाग्यो ।

अन्ततः २०२३ को जुलाइमा दीपक अमेरिका पुगे । टेक्ससको एउटा ग्यास स्टेसनमा काम पाए । दिनरात मेहनत गरे । खाना र सुत्ने समय कटौती गरेर पैसा जोगाउन थाले ।

दीपक वली

हरेक महिना नेपालमा पैसा पठाउँथे । उनका बुवा लीलारामले ऋणको किस्ता तिर्न थाले । दीपककी श्रीमती विमला र ५ वर्षीया छोरीले पनि आशाको सास फेर्न थाले ।

तर, दीपकको परिवारको सबै सपना चकनाचुर भयो । जब आइतबार बिहान, बन्दुकधारी लुटेराहरूले ग्यास स्टेसनमा आक्रमण गरे । दीपक टेक्ससको वेको सिटी नजिक हाइवे ३५ को एक्जिट ३४६ मा रहेको ग्यास स्टेसनमा काम गरिरहेका थिए ।

०००

आइतबार बिहान करिब ५ बजेतिरको घटना थियो । दीपकले प्रतिरोध गर्न खोजे तर, उनलाई गोली लाग्यो । उनको सपना, उनको परिवारको भविष्य, सबै त्यही ठाउँमा टुङ्गियो । २ जना लुटेराको समूहले आक्रमण गरेको थियो ।

रुकुममा खबर पुग्यो । लीलारामको घरमा कोलाहल मच्चियो । दीपककी श्रीमती विमलाले आफ्नो २६ वर्षे युवा उमेरमै ‘विधवा’ भएको पीडा भोग्नुपर्‍यो । पाँच वर्षीया छोरीले बुवाको अनुहार पनि राम्ररी चिन्न नपाउँदै टुहुरी बनिन् ।

चिनियाँको निशानामा नेपाली चेलीस् विवाह गरेर लैजान्छन् र लगाउँछन् देहव्यापारमा, दलाल हुन्छन् नेपाली नै

अब परिवारको अवस्था झनै बिग्रने छ । किनकि दीपक अमेरिका जाँदा लिएको ८० लाखमध्ये ४० लाख रुपैयाँ ऋण अझै तिर्न बाँकी छ ।

दीपकको काम गर्ने ठाउँ, जहाँ उनको हत्या भएको थियो

५६ वर्षीय लीलारामले बाख्रा पालनबाट कमाएको थोरै पैसाले घर चलाउन र ऋण तिर्न पुग्दैन । दीपकका भाइ दिनेश पनि विदेशमै छन्, तर उनको कमाइले परिवारको बोझ र ऋण थाम्न सक्दैन ।

०००

बन्धुकधारीले हत्या गरेपछि राप्ती समाज अमेरिकाका अध्यक्ष सुरेश हमाल भन्छन्, ‘‘गरिबीको कस्तो चक्रव्यूह । एउटा गरिब मान्छेले सपना देख्यो, त्यसको मूल्य उसको ज्यानले चुकायो ।’’

बाफिकोट वडा नम्बर १० का अध्यक्ष हरिबहादुर चन्दले पनि दीपकको हत्याबाट गाउँ नै शोकाकुल बन्न पुगेको बताए । ऋण तिर्न उपाय नभएपछि दीपकका बुबा खिमबहादुर चिन्तित रहेको उनले सुनाए ।

‘‘दीपकले घर छोडेर हिँडेको अब आउने मंसिरमा ठिक तीन वर्ष पुग्छ । अवैध मार्गबाट जाँदा उसले धेरै कष्ट पायो । बल्ल कमाउन थालेको थियो, त्यस्तो खबर आइहाल्यो’’ हरिबहादुर भन्छन्, ‘‘अमेरिका जाँदा लागेको ८० लाख ऋणमध्ये आधा मात्रै तिर्न सकेका रहेछन् । अझै ४० लाख बुझाउन बाँकी छ भनेर खिमबहादुर पिर मानिरहेका छन् ।’’

पैसाको खोला बगाएर दुःख, कष्ट सहँदै अमेरिका गएर पनि अस्ताएपछि सिङ्गो गाउँ शोकमा छ ।

दीपकका साथीहरू भन्छन्, ‘‘स्वदेशमै रोजगारी भइदिएको भए, लालाबाला छाडेर कष्ट छिचोल्दै अवैध बाटाबाट किन अमेरिका जाँदो हो ।’’

घर नबनाएर छोरालाई पाइलट बनाएका थिए ओमबहादुरले, क्याप्टेन भएर बिहे गर्ने तयारीमा थिए सुशान्त (भिडिओ)

श्रीमती बेचेपछि १० वर्ष जेल बसेर छुटेका सम्बरबहादुर उही धन्दामा, पोखरा भन्दै भारत लग्दै थिए किशोरी


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved